संसारको अमूल्य वरदान

अल्लाहले मानवमाथि अनगिन्ती उपकारहरु गर्नु भएको छ। हामी सबै उहाँकै कृपामा रमाई रहेका छौं। उहाँ पवित्र हुनुहुन्छ। यी हेर्ने आँखाहरु र सुन्ने कानहरु पनि उहाँकै अमूल्य वरदानहरु हुन्, जसबाट धेरै जसो मानिसहरु बन्चित छन्। उहाँले नै हामीलाई बुद्धि, विवेक, सुस्वास्थ्य, धन-सम्पत्ति, घरपरिवारको सुख र शान्ति वरदान स्वरूप दिनु भएको छ। यहाँसम्म कि यो विशाल धरती, आकाश, सूर्य, चन्द्रमालगायत सम्पूर्ण संसारलाई नै हाम्रो सेवामा लगाई दिनु भएको छ। अल्लाहले भन्नु भएको छ… “यदि तिमीहरुले अल्लाहका वरदानहरुलाई गणना गर्न चाहे पनि कदापि गर्न सक्दैनौ।” (श्रोत- सूरह अन्-नहल : १६/१८)

संसारको अमूल्य वरदान

यी सम्पूर्ण वरदानहरु हाम्रो छोटो जीवन समाप्त हुने बित्तिकै समाप्त हुने छन्, तर एउटा यस्तो वरदान छ, जसले सांसारिक जीवनमा सुख र शान्ति प्रदान गर्दछ र त्यसको राम्रो प्रतिफल मृत्यु पश्चातको जीवनमा स्वर्गको रुपमा प्राप्त हुनेछ। त्यो अमूल्य वरदान इस्लाम हो।

त्यसैले अल्लाहले अनेकौं वरदानहरुमध्ये मात्र इस्लामलाई आफ्नो वरदानको संज्ञा दिनु भएको छ। अल्लाहले भन्नु भएको छ… “आज मैले तिमीहरूकै निम्ति तिमीहरूको धर्म, आफ्नो वरदानलाई पूर्ण गरेँ र तिमीहरूका लागि इस्लाम धर्मलाई रोजि सकें।” (श्रोत- सूरह अल्-माइदा : ५/३)

एउटा मानिसको लागि यो भन्दा ठूलो वरदान अरु के हुन सक्छ कि अल्लाहले उसलाई अन्धकारको दलदलबाट निकालेर उज्यालोमा ल्याउनु भयो ! आफैंले रोज्नु भएको धर्मलाई स्वीकार गर्ने मौका प्रदान गर्नु भयो, ताकि ऊ आफ्नो जन्मको असल उद्देश्य; मात्र एक अल्लाहको उपासना गर्नमा सफल हुन सकोस् र सांसारिक सुख र शान्ति तथा मृत्यु पश्चातको जीवनमा सर्वोत्कृष्ट प्रतिदान पाउन सकोस्।

यो भन्दा ठूलो उपहार अरु के हुन सक्छ कि अल्लाहले हामीलाई सर्वश्रेष्ठ समूहको रुपमा रोज्नु भएको छ, ताकि हामी 'ला इलाहा इल्लल्लाह' (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) को आह्वानलाई संसारभरि फैलाउन सकौं। जसको आह्वानको लागि अल्लाहले सम्पूर्ण सन्देष्टाहरु (उहाँहरुमाथि अल्लाहको शान्ति होस्) लाई पठाउनु भएको थियो।

जब केही अज्ञानीहरूले इस्लाम स्वीकार गरेर रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि उपकार देखाउन थाले, तब उहाँले सम्झाउनु भयो… हेर साथीहरु ! इस्लाम स्वीकार गरेर तिमीहरूले कुनै उपकार गरेका छैनौ, बरु अल्लाहले तिमीहरूमाथि ठूलो उपकार गर्नु भएको छ। अल्लाहले भन्नु भएको छ… “यिनीहरू मुस्लिम भएर तिमीमाथि उपकार देखाउँछन्, भनिदेऊ, मुस्लिम भएकोमा ममाथि उपकार नदेखाऊ, अल्लाहले तिमीहरूलाई इस्लामको मार्गदर्शन गरेर ठूलो उपकार गर्नु भएको छ।” (श्रोत- सूरह अल्-हुजरात : ४९/१७)

हुनत अल्लाहका अनेकौं वरदानहरु छन्, तर अल्लाहले तीमध्ये इस्लाम, एकेश्वरवाद र उहाँको ईबादतलाई सबैभन्दा ठूलो वरदान भनेर जिकिर गर्नु भएको छ।

यस वरदानमा स्थिरता र अडिग रहनको लागि हामीले उहाँको कृतज्ञता व्यक्त गर्नु पर्दछ। अल्लाहले भन्नु भएको छ… “यदि तिमीहरूले कृतज्ञता व्यक्त गर्यौ भने म तिमीहरूलाई अझ बढी कृपापात्र बनाउने छु।” (श्रोत- सूरह इब्राहीम : १४/७)

यस वरदानको कृतज्ञता कसरी व्यक्त गर्न सकिन्छ?

इस्लामको वरदान पाएकोमा निम्न तरिकाले कृतज्ञता व्यक्त गर्न सकिन्छ…

इस्लाममाथि कायम रहनु र यसमा आउने कष्टहरुमाथि धैर्य गर्नु।

बुद्धि र प्रभावकारी उपदेशद्वारा इस्लामको आह्वान गर्नु।