इस्लाम जीवनमार्ग हो

इस्लामले लोक र परलोक दुवै जीवनलाई सन्तुलन कायम गर्दछ। यो दुनियाँ एउटा खेती हो जसमा मुस्लिमले जीवनका सबै भागहरुमा पुण्यको बाली लगाउँछ र यसको प्रतिफल लोक र परलोक दुवै जीवनमा प्राप्त हुनेछ। यसको लागि दृढ संकल्प तथा साहसले भरिएको एउटा उत्साहपूर्वक जीवन चाहिन्छ। जुन निम्न कुराहरुबाट प्राप्त हुन सक्छ-

भूमि निर्माण कार्य गर्नु-

अल्लाहले भन्नु भएको छ- “उहाँले नै तिमीहरूलाई माटोबाट सृष्टि गर्नु भयो र यसैमा तिमीहरूलाई बसोबास गर्ने मौका प्रदान गर्नु भयो।” (श्रोत- सूरह हूद : ११/६१) अल्लाहले हामीलाई माटोबाट सृष्टि गर्नु भयो र मानव समाजलाई फाइदा पुग्ने भूमि निर्माण एवम् विकास कार्य, बोट बिरुवा रोपण र उच्च सभ्यता निर्माण गर्ने आदेश दिनु भएको छ। यी कार्यहरु इस्लामको सिद्धान्त विपरित छैनन्। त्यसैले कठिन परिस्थितिमा पनि इस्लामले अरुलाई फाइदा पुग्ने कार्यहरू गर्ने प्रेरणा दिएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ- “एउटा मुस्लिमले यदि वृक्ष रोपण गर्ने निधो गरिसकेको छ र कयामत (महाप्रलय) आइदियो भने त्यसलाई कार्यान्वयन गर्न हतारिनु पर्दछ, ताकि यो उसको लागि दान साबित होस्।” (श्रोत- अहमद : २७१२)

मिलेर बस्नु-

फरक संस्कृति र आस्था भए पनि इस्लामले सभ्यता निर्माण कार्य, सुधार प्रबर्द्धन् तथा सम्पूर्ण गतिविधिहरूमा भाग लिन, एक अर्कासँग मिलेर बस्न, उच्च विचार, स्वच्छ आचरण र भद्र व्यवहारको प्रदर्शन गर्न प्रेरित गर्दछ। समाजबाट अलग भएर एक्लै टाढा बस्नु र साथी भाइको वास्ता नगर्नु धर्मोपदेशक र पथप्रदर्शकको तरिका होइन भन्ने कुरामा इस्लामले हामीलाई सचेत गर्दछ। त्यसैले जो समुदायमा मिलेर बस्छ, उनीहरुको गल्ती, दुःख र पीडा सहेर बस्छ, ऊ एक्लै बस्ने व्यक्ति भन्दा उत्तम हो भनेर रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले घोषणा गर्नु भएको छ। (श्रोत- इब्ने माजा : ४०३२)

ज्ञानको धर्म-

कुरआनको प्रथम शब्द 'इक्रा' (पढ्नु) आकस्मिक र बिना उद्देश्य अवतरण भएको छैन। यसले मानव समाजलाई फाइदा पुर्याउने हरेक प्रकारको ज्ञान-विज्ञानको महत्व दर्शाएको छ। जुन व्यक्ति इस्लामि ज्ञान सिक्न बाहिर निस्कन्छ, ऊ स्वर्गको बाटोमा हिडिरहेको हुन्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ- “जो कोही इस्लामको ज्ञान हासिल गर्न निस्कन्छ, अल्लाहले उसको लागि स्वर्गको बाटोलाई सजिलो बनाई दिनुहुन्छ।” (श्रोत- इब्ने हिब्बान : ८४)

अरु धर्म जस्तै इस्लाममा धर्म र विज्ञान बीच कुनै युद्ध छैन। बरु इस्लाम नै ज्ञान-विज्ञानको प्रथम खुड्किलो हो र यसले मानव समाजलाई फाइदा पुर्याउने सबै खाले शिक्षा-दिक्षाको लागि प्रेरित गर्दछ।

इस्लामले आलिम (धर्मगुरु) को स्थानलाई सगरमाथाको चुचुरो भन्दामाथि पुर्याएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ- “सम्पूर्ण सृष्टिहरु धर्म गुरुहरुका लागि दुआ (प्रार्थना) गर्दछन्।” (श्रोत- तिर्मिजी : २६८५)