इस्लामका नियमहरु सिक्नुहोस्

एउटा मुस्लिमले जीवनसँग सम्बन्धित इस्लामको विधि-विधान, उपासनाको तरिका, व्यवहारिक तथा सामाजिक कुराहरू इत्यादि सिक्नु अति आवश्यक छ। ताकि ऊ पूर्ण आत्मविश्वासका साथ र ज्ञानको प्रकाशमा उपासना गर्न सकोस्। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ- “अल्लाह जसको भलो चाहनुहुन्छ, उसलाई धर्मको ज्ञान प्रदान गर्नुहुन्छ।” (श्रोत- बुखारी : ७१, मुस्लिम : १०३७)

तसर्थ उसले इस्लामका अनिवार्य नियमहरु सिक्नु आवश्यक छ, जस्तै… सलाह पढ्ने र पवित्रता प्राप्त गर्ने तरिका, खान हुने र नहुने, वैध-अवैध कुराहरु इत्यादि। त्यसैगरी इस्लामले गर्न प्रेरणा दिएका जायज कुराहरुका नियम सिक्नु।

इस्लामका विधि−विधानहरु

मानिसका सम्पूर्ण भनाई, गराई र क्रियाकलापहरु इस्लामका पाँच अवस्थाहरु भन्दा बहिर हुन सक्दैनन्…

वाजिब- वाजिब- अल्लाहले जुन काम गर्ने आदेश दिनु भएको छ, त्यसलाई 'वाजिब' (अनिवार्य) भनिन्छ। जसलाई पालन गर्दा पुण्य प्राप्त हुन्छ र नगर्दा पाप लाग्छ, जस्तै… पाँच समयका सलाहहरु, रमजान महिनाको ब्रत इत्यादि।
हराम- हराम- अल्लाहले जुन काम नगर्ने आदेश दिनु भएको छ, त्यसलाई 'हराम' (अवैध) भनिन्छ। जसलाई नगर्दा पुण्य प्राप्त हुन्छ र गर्दा पाप लाग्छ, जस्तै… बलात्कार गर्नु, रक्सी खानु इत्यादि।
सुन्नत, मुस्तहब- सुन्नत, मुस्तहब… जसलाई गर्न इस्लामले प्रेरणा दिएको छ। गर्दा पुण्य मिल्छ, नगर्दा पाप लाग्दैन, जस्तै… हँसिलो अनुहारले कुराकानी गर्नु, अघि बढेर सलाम गर्नु, बाटोघाटोमा रहेको फोहोर तथा काँडा हटाई दिनु इत्यादि।
मकरूह- मकरूह- जसलाई नगर्न इस्लामले प्रेरणा दिएको छ। नगर्दा पुण्य हुन्छ, गर्दा पाप लाग्दैन, जस्तै… सलाहमा औंलाहरुसँग खेल्दै टोलिनु इत्यादि।
मोबाह- मोबाह- गर्दा वा नगर्दा केही फरक नपर्ने कुरालाई 'मोबाह' भनिन्छ, जस्तै- खानपिन गर्नु, कुराकानी गर्नु इत्यादि।