सलाहमा एकाग्रता

एकाग्रताको महत्व- एकाग्रता नै उपासनाको प्राण हो। एकाग्रता भनेको अल्लाहको अगाडि तुच्छ र नीच भएर मन र मस्तिष्कलाई उपस्थित राखेर सलाह पढ्नु, कुरआनको पाठ र दुआहरुमा मनन् गर्नु हो।

यो महत्वपूर्ण उपासना र उच्च अनुसरण हो। त्यसैले अल्लाहले आस्थावानहरुको गुण दर्शाउँदै भन्नु भएको छ… “वास्तवमा, ती आस्थावानहरु सफल हुन्छन् जो एकाग्रताका साथ सलाह पढ्छन्।” (श्रोत- सूरह अल्-मुमिनून : २३/१-२)

जसले एकाग्रताका साथ सलाह पढ्छ, उसले नै भक्ति र ईमानको वास्तविक स्वाद पाउँछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “मेरो आँखाको खुशी सलाहमा नै रहेको छ।” (श्रोत- निसाई : ३९४०) आँखाको खुशी भनेको सुख र शान्ति हो।

सलाहमा एकाग्रता प्राप्त गर्ने तत्वहरु

सलाहमा एकाग्रता प्राप्त गर्ने तत्वहरु धेरै छन्, तीमध्ये केही यस प्रकार छन्-

  1. १) सलाहको लागि पूर्ण रुपमा तयारी गर्नु-

पुरुषहरुले समय हुने बित्तिकै मस्जिदतिर लाग्नु, फर्ज भन्दा पूर्वका सुन्नतहरू नियमित रुपमा पढ्नु, राम्रो र सुहाउँदो कपडामा सजेर नम्रतापूर्वक मस्जिद जानु।

  1. २) ध्यान भङ्ग गर्ने सम्पूर्ण बाधा र अड्चनहरुलाई दूर गर्नु-

ध्यान भङ्ग गर्ने चित्र, गाजा-बाजाको आवाज र खेल-तमाशा भएको ठाउँमा सलाह पढ्नु हुँदैन। त्यसैगरी बेस्सरी भोक लागेको वा दिसा-पिसाबले च्यापेको बेला सलाहको लागि नजानु, पहिले आफ्नो आवश्यकतालाई पूरा गर्नु, अनि एकाग्र भएर ध्यानपूर्वक सलाह पढ्नु र अल्लाहसित कुराकानी गर्नु।

  1. ३) विस्तारै-विस्तारै सलाह पढ्नु-

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) रुकू र सज्दा सुकुनका साथ गर्नु हुन्थ्यो। यहाँसम्म कि प्रत्येक हड्डी आफ्नो ठाउँमा फर्किन्थ्यो। उहाँले राम्रोसँग सलाह नपढ्नेलाई सलाह दोहोर्याउने र कागको ठोंग झैं छिटो-छिटो नपढ्ने आदेश दिनु भएको छ।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “सबैभन्दा नराम्रो चोरी सलाहमा चोर्नु हो” उनीहरुले सोधे…  ए हजुर ! सलाहमा कसरी चोरी गर्न सकिन्छ त ? उहाँले जवाफ दिनु भयो… “राम्रोसँग रूकू र सज्दा नगरी हतार-हतारमा सलाह पढ्नु नै सलाहको चोरी हो” (श्रोत- अहमद : २२६४२)

जुन व्यक्ति विस्तारै-विस्तारै सलाह पढ्दैन उसको सलाहमा एकाग्रता कहिल्यै पनि उत्पन्न हुन सक्दैन र कागको ठोंग जस्तै पढेको सलाह खेर जानेछ।

  1. ४) कसको अगाडि उभिएको छ, उसको महानतालाई सम्झिनु-

सलाह पढिरहेको बेला सृष्टिकर्ताको महानता, आफ्नो कमजोरी र तुच्छतालाई सम्झिनु पर्छ। सर्वशक्तिमान अल्लाहको अगाडि नम्रतापूर्वक उभेर गुहार गरिरहेको बोध हुनुपर्छ। अल्लाहले परलोकमा आस्थावानहरुका लागि कति सुन्दर प्रतिफल र काफिरहरुका लागि कति दुखदायी यातना तयार पार्नु भएको छ र महाप्रलयको दिन अल्लाहको अगाडि उसको अवस्था कस्तो हुनेछ भन्ने कुरालाई सम्झिनु पर्दछ।

जो आस्थावान उक्त कुराको सम्झना गर्छ तिनीहरुकै बारेमा अल्लाहले भन्नु भएको छ… “निश्चय नै सलाह अत्यन्तै कठिन कार्य हो, तर नम्रतापूर्वक सलाह पढ्नेहरूका लागि निकै सरल हो। जो आफ्नो ईश्वरसित भेट्ने अनि फर्केर उहाँतिर जाने कुरामा विश्वस्त छन्।” (श्रोत- सूरह अल्-बकरह : २/४५-४६)  

अल्लाहले हाम्रा सम्पूर्ण क्रियाकलापहरुलाई हेरिरहनु भएको छ, हाम्रा दुआलाई सुनिरहनु भएको छ भन्ने आभास हुने बित्तिकै स्वतः सलाहमा एकाग्रता उत्पन्न हुनेछ।

  1. ५- कुरआनको पाठ र दुआहरुमा विचार पुर्याउनु-

अल्लाहले मनन् गर्न र ध्यान दिनको लागि कुरआनलाई अवतरण गर्नु भएको छ। अल्लाहले भन्नु भएको छ… “उनीहरुले यो मंगलमय ग्रन्थमा ध्यान दिउन् र बुद्धिजीवीहरूले उपदेश ग्रहण गरुन् भन्ने उद्देश्यका साथ हामीले कुरआनलाई अवतरण गरेका हौं।” (श्रोत- सूरह साद : ३६८/२९) तर जबसम्म अरबी भाषाको ज्ञान हुँदैन, तबसम्म त्यसको अर्थ र अभिलाषा जान्न गाह्रो हुन्छ। किनभने त्यस श्लोकमा के भनिएको छ थाहा हुने बित्तिकै मनमा अनौठो मजा आउँछ र कहिले काही आँखा पनि रसाएर आउँछ र मोति झैं आँसु झर्न थाल्छ। अल्लाहले भन्नु भएको छ… “जब तिनीहरुलाई कुरआनको पाठ गरेर उपदेश दिइन्छ तब तिनीहरु बहिरो र अन्धो भएर झुक्दैनन्।” (श्रोत- सूरह अल्-फुर्कान : २५/७३)

जुमाको सलाह

अल्लाहले जुमाको दिन जुहरको समयमा जुमाको सलाहलाई अनिवार्य गर्नु भएको छ। यो इस्लामको एउटा महत्वपूर्ण संस्कार र साप्ताहिक पर्व हो। सम्पूर्ण मुस्लिमहरु हप्तामा एक पटक एकै ठाउँमा भेला हुन्छन्, इमामको धर्मोपदेश (खुत्बा) सुन्ने अवसर पाउँछन् र सामुहिक रूपमा जुमाको सलाह पढ्छन्।

जुमाको दिनको महत्व-

साताको महान र उत्कृष्ट दिन जुमा नै हो। अल्लाहले यो दिनलाई रोज्नु भएको छ र अरु समयहरु भन्दा यो समयलाई निकै विशेषताहरु प्रदान गर्नु भएको छ, जस्तै…

  • यो महत्वपूर्ण दिन अरु समुदायलाई नदिई रसूल (सल्लल्लाहु अलैहि व सल्लम) का अनुयायीहरुका खास गरिएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “हामी भन्दा अघिका समुदायले यसलाई पाउन सकेनन्। यहुदीहरुका लागि शनिवार, ईसाइहरूका लागि आइतबार खास गरिएका थिए तर हामी पछि आयौं तै पनि अल्लाहले हामीहरुलाई जुमाको दिन नै प्रदान गर्नु भयो।” (श्रोत- मुस्लिम : ८५६)
  • यसै दिन आदम (अलैहिस्सलाम) को जन्म भयो र यसै दिन महाप्रलय हुनेछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “सर्वोत्तम बार जुमाको दिन नै हो। यसै दिन आदम (अलैहिस्सलाम) को सृष्टि भयो, यसै दिन स्वर्गमा प्रवेश गराइयो, यसै दिन त्यहाँबाट निकालियो र यसै जुमाको दिन महाप्रलय हुनेछ।” (श्रोत- मुस्लिम : ८५४)

कुन व्यक्तिहरुमाथि जुमाको सलाह अनिवार्य छ?

यी व्यक्तिहरुमाथि जुमाको सलाह अनिवार्य छ-

  1. १) पुरुष, महिलामाथि अनिवार्य छैन।
  2. २) सक्षम व्यक्ति,  बौलाहा र नाबालकमाथि छैन।
  3. ३) स्थानीय बासिन्दा, यात्री तथा शहर बाहिर गाउँका बासिन्दाहरुमाथि अनिवार्य छैन।
  4. ४) स्वास्थ्य मानिस, जुमाको लागि जान नसक्ने अशक्तमाथि अनिवार्य छैन।

जुमाको सलाह पढ्ने तरिका र विधि-विधानहरु-

  1. १) जुमाको सलाह अगाडि नुहाइधुवाई गर्नु, सुन्दर पोशाकमा चिटिक्क परेर र अत्तर छर्केर खुत्बा पूर्व नै मस्जिद पुग्नु उत्तम हो।
  2. २) मुस्लिमहरु ठूलो मस्जिदमा भेला हुन्छन्, इमामले मिम्बर (मन्च) माथि चढेर दुई पटक धर्मोपदेश (खुत्बा) दिनुहुन्छ, खुत्बामा ईश्-भयको कुरा गर्नु पर्ने हुन्छ। दुवै खुत्बाको बीचमा बसेर क्षणिक विश्राम गर्नु पर्छ।
  3. ३) सम्पूर्ण उपस्थित महानुभावहरुले इमामको खुत्बा र धर्म उपदेशलाई ध्यानपूर्वक सुन्नु पर्दछ। कुराकानी र अन्य कुरामा ध्यानाकर्षण गर्नु, जस्तै… गलैचा, कपडा, माटो, ढुङ्गा आदिसित खेल्नु हराम गरिएको छ।
  4. ४) खुत्बापछि इमाम तल झर्नु हुन्छ र मानिसहरुलाई ठूलो स्वरमा दुई रकात सलाह पढाउनु हुन्छ।
  5. ५) जुमाको सलाह सामुहिक रुपमा पढ्नु अनिवार्य छ, एक्लो व्यक्तिमाथि अनिवार्य छैन। त्यसैले कसैको जुमाको सलाह छुट्यो, कारणवश ढिलो पुग्यो भने उसले जुहरको सलाह पढ्नु पर्दछ।
  6. ६) जुमाको सलाहमा ढिलो गइयो र इमामको साथमा एक रकात पनि पाउन सकेन भने उसले जुहरको सलाह पढ्नु पर्दछ।
  7. ७) जुन व्यक्तिहरुमाथि जुमाको सलाह अनिवार्य छैन, जस्तै… महिला र यात्रु, यदि उनीहरुले जमातका साथ जुमाको सलाह पढ्छन् भने उनीहरुको सलाह सही हुनेछ र जुहरको सलाह पढ्नु पर्दैन।

यी व्यक्तिहरुका लागि जुमाको सलाह माफ गरिएको छ-

जुन व्यक्तिहरुका लागि जुमाको सलाह अनिवार्य गरिएको छ, उनीहरुलाई जुमाको लागि हाजिर हुनु एकदम जरुरी छ र बिना कुनै नितान्त कारण यसलाई कदापि छोड्नु हुँदैन। अल्लाहले भन्नु भएको छ… “हे आस्थावानहरु हो ! जुमाको दिन अजान सुन्ने बित्तिकै व्यवासय र कामकाज बन्द गर र मस्जिदतर्फ जाऊ। यदि तिमीहरू ज्ञान राख्छौ भने यसैमा नै तिमीहरुको फाइदा छ।” (श्रोत- सूरह अल्-जुमुआ : ६२/९)

सांसारिक कामकाजमा लिप्त हुने र बिना कुनै नितान्त कारण जुमाको सलाहमा उपस्थित नहुनेहरूको मुटुमाथि मोहर लगाई दिने चेतावनी दिएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसले तीन जुमा बिना कारण पढेन अल्लाहले उसको हृदयमा मोहर लगाई दिनुहुन्छ।” (श्रोत- अबु-दाऊद : १०५२, अहमद : १५४९८) मोहर लगाउनु भनेको उसको मुटुलाई कपटी र काफिरहरु झैं कठोर बनाई दिनुहुन्छ।

जुमाबाट अनुपस्थित हुने उचित कारणहरु- सहन शक्ति भन्दा बढी कष्ट हुनु, व्यापार र स्वास्थ्यमा ठूलो आघात पुग्ने खतरा हुनु, जस्तै… रोग र आपतकालीन अवस्थाहरु।

के जागिर र व्यवसाय जुमाबाट अनुपस्थित हुने कारण बन्न सक्छ?

वास्तवमा सधैं गरिराख्ने कामकाज जुमाको सलाहबाट अनुपस्थित हुने कुनै कारण होइन। अल्लाहले जुमाको दिन कामकाजलाई छोडेर जुमामा उपस्थित हुन अनिवार्य गर्नु भएको छ। अल्लाहले भन्नु भएको छ… “हे आस्थावानहरु हो ! जुमाको दिन अजान सुन्ने बित्तिकै व्यवासय र कामकाज बन्द गर र मस्जिदतिर जाऊ। यदि तिमीहरू ज्ञान राख्छौ भने यसैमा नै तिमीहरुको फाइदा छ।” (श्रोत- सूरह अल्-जुमुआ : ६२/९) मुस्लिमले यस्तो कामकाज र जागिर गर्नु पर्छ, जुन कार्यले अल्लाहको उपासनामा बाधा नपुर्याओस्, यद्यपि त्यसको आय अरु भन्दा कम किन नहोस्।

अल्लाहले भन्नु भएको छ… “जो अल्लाहसित भय राख्छ, अल्लाहले उसको लागि बाटो निकालि दिनुहुन्छ र उसलाई यसरी आहार र जीविका प्रदान गर्नुहुन्छ, जसको बारेमा उसले सोचेको पनि हुँदैन र जो अल्लाहमाथि आश्रित हुन्छ, अल्लाह उसको लागि पर्याप्त हुन्छ।” (श्रोत- सूरह अत्-तलाक : ६५/२-३)

जुमाबाट अनुपस्थित हुने उचित कारणहरु-

जुन व्यक्तिहरुमाथि जुमाको सलाह अनिवार्य छ, उनीहरुले कुनै दैनिक कामकाजले जुमाको सलाह छोड्नु वैध छैन, तर दुई अवस्थामा जायज छ-

  1. १) ठूलो हित लुकेको कुनै काम हुनुपर्छ, जसलाई उसको अनुपस्थितिमा प्राप्त गर्न सकिदैन, अन्यथा मानिसको ज्यान जान सक्छ वा करोडौंको घाटा हुन सक्छ र यो कार्यभार सम्हाल्ने उसको कोही नायब पनि छैन।
उदाहरणहरु- :
  • आपतकालीन बिरामीहरुलाई उपचार गर्ने चिकित्सक।
  • पाले, बैंकका चौकिदार, अपराधिक क्रियाकलापहरु र अवैध रुपमा माल ओसारपसार गर्नेहरुलाई समाउन खटाइएका विशेष प्रहरी।
  • ठूल-ठुला कारखानामा कामको सर्वेक्षण गर्न राखिएको इन्जिनियर जसले मिनेट-मिनेटमा निरीक्षण गरि राख्नु पर्ने हुन्छ।
  1. २- यदि साहुले जुमाको लागि फुर्सद दिदैन र त्यो काम नै उसको आहारको असल श्रोत छ, यो बाहेक अन्य जागिर पनि पाउन गाह्रो छ, जागिर छोड्यो भने आफू र आफ्नो घरपरिवारको दुई छाक टार्न धौ-धौ पर्ने अवस्था सृजना हुने डर छ भने अर्को जागिर नभेटुन्जेल वा स-परिवारको गाँसबासको राम्रो व्यवस्था नहुन्जेल जुमाको सलाह छोड्न सकिन्छ।

यात्रीको सलाह

  • यात्रीले यात्रा तथा छोटो विश्रामको बेला जो चार दिन भन्दा कम नहोस्, कसर सलाह पढ्नु सुन्न्त हो। कसर भनेको चार रकातको ठाउँमा मात्र दुई रकात पढ्नु पर्दछ, जस्तै… जुहर, अस्र र ईशाको सलाहलाई मात्र दुई रकात पढ्नु। तर यदि कुनै मुकीम (स्थानीय) इमामको पछाडि सलाह पढिरहेको छ भने इमामको अनुसरणमा पूरा चार रकात पढ्नु पर्दछ।
  • सुन्नत सलाहहरु माफ गरिएका छन्, तर फज्र र वित्रकोको सुन्नत पढ्नु पर्दछ।
  • यात्रीको सहजताको लागि दुई समयको सलाहलाई एकै समयमा पढ्न जायज गरिएको छ, जस्तै… जुहर र अस्रलाई जुहर वा अस्रको समयमा तथा मग्रिब र ईशालाई मग्रिबकै समयमा वा ढिलो गरी ईशाको समयमा पढ्न सकिन्छ।

बिरामीको सलाह

जबसम्म एउटा मुस्लिममा चेतना र होश हुन्छ, त्यसबेलासम्म उसले अनिवार्य रुपमा सलाह पढ्नु पर्छ, तर इस्लामले मानिसको अवस्था र परिस्थितिलाई सधैं कदर गरेको छ, तीमध्ये बिरामीको अवस्था हो।

उपर्युक्त कुरा निम्न उदाहरणले छर्लङ्ग हुन्छ-

  • उभेर सलाह पढ्नु अनिवार्य हो, तर यदि अशक्त छ भने उभिनु पर्दैन, जस्तै… रोगले गर्दा खडा हुन अप्ठ्यारो हुन्छ वा रोग झन् बढ्ने सम्भावना छ भने बसेर सलाह पढ्छ। बसेर पढ्न सकेन भने कोल्टो परेर सलाह पढ्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “उभेर सलाह पढ, सक्दैनौ भने बसेर पढ, त्यो पनि सक्दैनौ भने कोल्टो परेर सलाह पढ्छ ।” (श्रोत- बुखारी : १०६६)
  • जो रुकू र सज्दा गर्न असमर्थ छ भने सकेसम्म इशाराले पढ्नेछ।
  • जसलाई भुइँमा बस्न गाह्रो हुन्छ, त्यो कुर्सी वा त्यसै कुनै वस्तुमाथि बसेर सलाह पढ्नेछ।
  • जसलाई हरेक सलाहको लागि पवित्रता प्राप्त गर्न गाह्रो हुन्छ, उसको लागि दुईवटा सलाहहरु, जस्तै… जुहर र अस्र एउटै समयमा तथा मग्रिब र ईशा एउटै समयमा पढ्न जायज छ।
  • जसलाई पानीको प्रयोग गाह्रो हुन्छ, उसको लागि माटोद्वारा तयम्मुम (पवित्रता प्राप्त) गरेर  सलाह पढ्न जायज छ।