ईदुल-अद्हा

ईदुल-अद्हाका विशेषताहरु- मुस्लिमहरुको यो दोस्रो ठूलो ईद र पर्व हो। इस्लामि पात्रो अनुसार जुल-हिज्जा महिनाको दशौं दिनमा पर्छ। यसका धेरै विशेषताहरु छन्, तीमध्ये केही यस प्रकार छन्…

  1. १) सालको सर्वोत्तम दिन- जुल-हिज्जाको पहिलेका १० दिनहरु वर्षकै सबैभन्दा सर्वोत्तम दिनहरु हुन्। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ- “अल्लाहको दृष्टिमा यी १० दिनका सत्कर्म भन्दा सर्वोत्कृष्ट सत्कर्म अरु केही छैन।” सहबाले सोध्नु भयो- “जिहाद पनि होइन?” उहाँले जवाफ दिनु भयो- “जिहाद पनि होइन, तर कोही आफ्नो ज्यान-मालले जिहाद गर्दा गर्दै शहीद भयो भने जिहाद सर्वोत्कृष्ट हुन्छ।” (श्रोत- बुखारी : ९२६, तिर्मिजी : ७५७)
  2. २) ठूलो हज्जको दिन- यसमा हज्जका महत्वपूर्ण कामहरु सम्पन्न हुन्छन्, जस्तै- तवाफ, कुर्बानी, जमरातलाई ढुङ्गा हान्नु इत्यादि।

ईदुल-अद्हा कसरी मनाउनु पर्छ?

हज्जमा नगएका व्यक्तिहरुले यो पर्व पनि रमजान पर्व जस्तै मनाउनु पर्छ, तर जकातुल्-फित्र दिनु पर्दैन, किनभने यो ईदुल्-फित्रसित गाँसिएको छ।

ईदुल-अद्हामा अल्लाहको लागि कुर्बानी दिनु मुस्तहब हो।

कुर्बानी- अल्लाहको लागि भेंडाबाख्रा, ऊँट वा गाईको कुर्बानी दिनु। यसको समय पर्वको सलाहपछि आरम्भ हुन्छ र १३ औं जुल-हिज्जाको मग्रिबसम्म बाँकी रहन्छ। अल्लाहले भन्नु भएको छ… “आफ्नो ईश्वरको लागि सलाह पढ र बलि देऊ।” (श्रोत- सूरह अल्-कौसर : १०८/२) सलाहको अभिप्राय पर्वको सलाह र बलिको अर्थ कुर्बानी हो।

कुर्बानीको हुकुम- सक्षम व्यक्तिको लागि यो सुन्नत मुवाक्कदा हो। मुस्लिमले आफू र आफ्नो स-परिवारको तर्फबाट कुर्बानी गर्नु पर्दछ।

यदि कुर्बानी गर्ने नीयत छ भने जुल-हिज्जाको पहिलो दिनदेखि कुर्बानी नहुन्जेलसम्म कपाल, नङ्ग र शरीरका कुनै पनि रौं काट्न हुँदैन।

कुर्बानीका जनावरहरुमा हुनुपर्ने शर्तहरु-

  1. १) चौपाया अर्थात भेंडा-बाख्रा, ऊँट र गाई मध्ये हुनुपर्छ। यी जनावर बाहेक कुनै अन्य जनावर वा चराहरुको कुर्बानी दिनु वैध छैन। एउटा भेंडा वा बाख्रा सपरिवारको तर्फबाट पर्याप्त हुन्छ। गाई र ऊँटमा सात जना सामेल हुनु जायज छ।
  2. २) चाहिने उमेर, भेंडामा ६ महिनाको सानो पाठो, बाख्रामा एक वर्षको बाख्रा, गाईमा दुई वर्षको र ऊँटमा पाँच वर्षको हुनुपर्दछ।
  3. ३) निरोग र वाह्य खोटहरुबाट शुद्ध हुनुपर्दछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “चारवटा जनावरको कुर्बानी हुँदैन, काना, रोगी, लंगडो र दुब्लो।” (श्रोत- निसाई : ४३७१, तिर्मिजी : १४९७)

कुर्बानीको मासुलाई के गर्नु पर्छ?

  • कुर्बानीको मासु बेच्न अवैध छ।
  • कुर्बानीको मासुलाई तीन भाग गर्नु पर्छ। एक तिहाई घरपरिवारको लागि, एक तिहाई इष्ट-मित्र र छरछिमेकको लागि र बाँकी एक तिहाई गरीब र दीन-दु:खीहरुलाई दान स्वरूप दिनु पर्छ।
  • कुर्बानीको लागि भरपर्दो व्यक्ति र संघ- संस्थाहरुलाई अधिकार दिन सकिन्छ। जसले कुर्बानी गराएर गरीबहरुमा बाँडि दियोस्।

मदीनाको जियारत (दर्शन)

मदीना भनेको के हो? मदीना मनौवरह त्यो ठाउँ हो जहाँ रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मक्कावासीको दु:ख र पीडा खेप्न नसकेर हिजरत (प्रवास) गर्नु भयो।

मदिना पुगेर सर्वप्रथम रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मस्जिद नब्वीको निर्माण गर्नु भयो, जो मानिसहरुका लागि शैक्षिक, प्रचार-प्रसार तथा ज्ञानको ज्योति छर्ने केन्द्र बिन्दु र लाखौं-लाख मुस्लिमको ढुकढुकी बन्न गयो।

इस्लामले मस्जिद नब्वीको जियारत (दर्शन) माथि निकै प्रेरणा प्रदान गरेको छ, चाहे हज्जको समयमा होस् वा कुनै अन्य समयमा।

मदीनाको जियारत (दर्शन) न हज्जसँग सम्बन्धित छ, न कुनै विशेष महिना वा दिनसँग। आफ्नो सहजता अनुसार जहिले पनि गर्न सकिन्छ।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “तीनवटा मस्जिदहरु बाहेक अरु कुनै मस्जिदको लागि यात्रा गर्नु वैध छैन; मस्जिद हराम, मस्जिद नब्वी र मस्जिद अक्सा।” (श्रोत- बुखारी : ११३९, मुस्लिम : १३९७, अबु-दाऊद : २०३३)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “मेरो मस्जिदमा सलाह पढ्नु अरु मस्जिदहरुको अनुपातमा एक हजर गुणा बढी पुण्य पाइन्छ, सिवाय मस्जिद-हरामको।” (श्रोत- बुखारी : ११३३, मुस्लिम : १३९४)

मदीनामा कुन कुन ठाउँको जियारत (दर्शन) गर्नु पर्दछ?

मदीनाको जियारतको उद्देश्य मस्जिद नब्वीमा सलाह पढ्नु हो। मदीना पुगिसकेपछि निम्न ठाउँहरुको दर्शन गर्न वैध गरिएको छ…

  1. १) रियाजुल-जन्नह मा सलाह पढ्नु- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को घर र मिम्बरको बीचमा सीमित क्षेत्र हो। यसमा पढिएको सलाहको निकै विशेषता छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “मेरो घर र मिम्बरको बीचमा स्वर्गको बगैंचाहरुमध्ये एउटा बगैंचा छ।” (श्रोत- बुखारी : ११३७, मुस्लिम : १३९०)
  2. २) रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि सलाम पढ्नु- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को चिहानको दिशामा नम्रतापूर्वक उभेर निम्न कुराहरु भन्नु पर्दछ… ‘अस्सलामु अलैक या रसूलल्लाहि व रहमतुल्लाहि व बरकातुह, अश्हदो अन्नक कद् बल्लग्तर्रिसालह, व अद्दैतल-अमानह, व नासह्तल-उम्मह, व जहाद्त फिल्लाही हक्क जिहादिह, फजजाकल्लाहु अन उम्मतिका खैरल-जजा’ (अल्लाहले तपाईमाथि शान्ति गरुन्, अल्लाहले तपाईको काँधमा जुन जिम्मेवारी सुम्पिनु भएको थियो तपाईले त्यसलाई पूर्ण रुपमा निर्वाह गरि दिनु भयो, अल्लाहले तपाईलाई सबैभन्दा राम्रो प्रतिफल दिउन् भन्ने दुआ गर्दछु)। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जब कोही मलाई सलाम गर्छ, उसको सलामको जवाफ दिनको लागि अल्लाहले मेरो रूह (आत्मा) लाई फर्काइ दिनुहुन्छ।” (श्रोत- अबु-दाऊद : २०४१)
    त्यसपछि अलि दाहिने गएर अबु-बक्र सिद्दीक (रजियल्लाहु अन्हु) लाई सलाम गर्नु, रसूलपछि सर्वश्रेष्ठ सहाबी र प्रथम खलीफा (उत्तराधिकारी) उहाँ नै हुन्। त्यसपछि अलि दाँयातिर बढेर उमर (रजियल्लाहु अन्हु) लाई सलाम गर्नु, अबु-बक्र (रजियल्लाहु अन्हु) पछि सर्वश्रेष्ठ सहाबी र दोस्रो खलीफा (उत्तराधिकारी) हुन्। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सर्वश्रेष्ठ मानिस हुन्, तर उहाँले कसैलाई हानि-नोक्सानी पुर्याउन सक्नु हुन्न, त्यसैले उहाँसित केही माग्नु हुँदैन, बरु दुआ लगायत उपासनाका सम्पूर्ण किसिमहरूलाई मात्र अल्लाहकै लागि खास गर्नु पर्छ।
  3. ३) मस्जिद कुबाको जियारत गर्नु- यो इस्लामको पहिलो मस्जिद हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मस्जिद-नब्वीको निर्माण गर्नु भन्दा पहिले बाटोमा नै मस्जिद कुबालाई निर्माण गर्नु भएको थियो। मदीनामा रहेका मानिसहरुले यसको दर्शन गर्नु मुस्तहब हो। किनभने रसूल (सल्लल्लाहु अलैहि व सल्लम) यसको दर्शन गर्नु हुन्थ्यो र हामीलाई प्रेरणा दिदै भन्नु भयो… “जसले आफ्नो घरबाट पवित्र भएर मस्जिद कुबामा दुई रकात सलाह पढ्छ, उसले उमरा बराबरको पुण्य पाउँछ।” (श्रोत- इब्ने माजा : १४१२)