हाम्रो जन्मको उद्देश्य

हाम्रो जीवनसँग सम्बन्धित महत्वपूर्ण प्रश्नहरुको उत्तर दिन धेरै जसो विश्व ख्याति प्राप्त विद्वान तथा साधारण व्यक्तिहरु असमर्थ छन्-

हामी यो संसारमा किन छौं?

हाम्रो जीवनको उद्देश्य के हो?

हाम्रो जीवनको असल उद्देश्य र लक्ष्य के हो भन्ने प्रश्नको जवाफमा कुरआनले एकदम सही र स्पष्ट उत्तर दिएको छ। अल्लाहले भन्नु भएको छ- “मैले जिन्न (आगोबाट सृष्टि गरिएको एक प्रकारको अदृश्य प्राणी) र मानवलाई केवल आफ्नो ईबादत (उपासना) गर्नको लागि सृष्टि गरेको हुँ।” (श्रोत- सूरह अज्जारियात : ५१/५६) त्यसैले अल्लाहको उपासना गर्नु नै हाम्रो जीवनको असल उद्देश्य हो। यो बाहेक जे जति कार्यहरु छन्, ती सबै जीवन निर्वाह गर्ने साधन र यसका परिपूरक मात्र हुन्।

तर यसको अर्थ यो पनि होइन कि अल्लाहको उपासना गर्नको लागि जागिर त्यागेर, घरपरिवारको माया मारेर वन जङ्गल वा मठ मन्दिरमा साधू बनेर बस्नु पर्छ, इस्लामले कहिल्यै पनि भौतिक सुख र नैतिक आनन्दबाट बन्चित गर्दैन। सलाह पढ्नु, ब्रत बस्नु, गरीबहरुलाई दान दिनु लगायत मानिसको हरेक क्रियाकलाप, उसको कर्म, कुराकानी, आविष्कार तथा अरुसँगको नैतिक सम्बन्ध, यहाँसम्म कि श्रीमतीसँग गरिने चोखो माया र सम्भोग पनि उपासना हो। त्यसैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “सम्भोग पनि सदका (दान) हो।” (श्रोत- मुस्लिम : १००६)

यस प्रकार उपासना हाम्रो जीवनको उद्देश्य हुन जान्छ। मुस्लिमको दैनिकी विभिन्न प्रकारको उपासनामा बित्ने गर्दछ। अल्लाहले भन्नु भएको छ… “भनिदेऊ, मेरो सलाह (नमाज), कुर्बानी, भक्तिहरू तथा जीवन र मरण सबै सम्पूर्ण संसारका पालनकर्ता अल्लाहकै लागि हुन्।” (श्रोत- सूरह अल्-अन्आम : ६/१६२)