इस्लाममा अल्लाह र भक्त बीच कुनै माध्यम चाहिंदैन

धेरै जसो धर्महरुमा विशेष व्यक्ति (पन्डित, पूजारी, पादरी र धर्मगुरुहरु) लाई यस्ता धार्मिक विशेषता एवम् अधिकारहरु दिइएका छन्, जुन एउटा साधारण व्यक्तिलाई प्राप्त छैन। यहाँसम्म कि आस्था तथा उपासनालाई पनि यिनीहरुको प्रसन्नता र स्वीकृतिसँग गाँसिएको छ। ती धर्महरु अनुसार यिनीहरुलाई माध्यम नबनाइकन ईश्वरको उपासना समेत गर्न पाउँदैन। यिनीहरुले नै क्षमादान गर्दछन्। यिनीहरु भूत, वर्तमान र भविष्य सबै कुराहरु जान्दछन्। यिनीहरुको कुरा मानिएन भने ठूलो क्षति हुन सक्छ भन्ने झूठो दाबी गरिन्छ।

तर इस्लामले मानवलाई मान-मर्यादा र सम्मान दिएको छ। मानवको सुख शान्ति, उसको पश्चाताप र उपासनामा कुनै व्यक्ति विशेषको आवश्यकता पर्दैन भन्ने कुराको घोषणा गरेर भक्त र उसको उपास्यको बीचमा रहेका माध्यमहरुलाई रद्द गरेको छ। यद्यपि उनीहरु महान तथा सज्जन किन नहोस्।

एउटा मुस्लिमको उपासना ऊ र उसको उपास्यको बीच रहन्छ, त्यसमा अरु मानिसको कुनै सरोकार छैन, किनभने अल्लाह आफ्नो भक्तदेखि एकदम नजिक हुनुहुन्छ। भक्तको गुहारलाई सुन्नुहुन्छ र पूरा गर्नुहुन्छ। उसको सलाह र सम्पूर्ण उपासनालाई राम्ररी देख्नुहुन्छ अनि प्रतिफल दिनुहुन्छ। कुनै पनि विशेष व्यक्ति वा धर्म गुरुलाई क्षमा प्रदान गर्ने अधिकार छैन। जुनसुकै व्यक्तिले स्वच्छ मनले तौबा (प्रायश्चित) गर्छ भने अल्लाहले तत्कालै क्षमा प्रदान गर्नुहुन्छ। यस ब्रह्माण्डमा कसैलाई पनि दैवी शक्ति तथा पकड प्रदान गरिएको छैन। सारा मामिला एक अल्लाहको हातमा नै छ।

इस्लामले मुस्लिमको सोच-विचारलाई स्वतन्त्र गरेको छ। झगडा वा मतभेदको समयमा कुरआन र सही हदीसको निर्णयलाई मात्र स्वीकार्ने आह्वान गरेको छ। याद राख्नुहोस् ! रसूल (सल्लल्लाहु अलैहि व सल्लम) बाहेक संसारमा कुनै पनि यस्तो व्यक्ति छैन; जसको हरेक कुरा हामीले मान्नै पर्छ, किनकि उहाँले आफ्नो इच्छाले केही पनि भन्नु भएको छैन। उहाँले जे भन्नु भयो, अल्लाहको तर्फबाट नै भन्नु भयो। अल्लाहले भन्नु भएको छ… “उहाँ आफ्नो इच्छाले केही भन्नु हुन्न। यो त एउटा वह्य (प्रकाशना) हो जुन उहाँमाथि अवतरण गरिन्छ।” (श्रोत- सूरह अन्-नज्म : ५३/३-४)

अल्लाहले इस्लामको मार्गदर्शन गरेर हामीमाथि ठूलो उपकार गर्नु भएको छ, किनकि यो नै प्राकृतिक धर्म हो। यसले नै मानिसलाई प्रतिष्ठा र सम्मान दिन्छ। विशेष गरी गरीब र निमुखाहरुलाई सामन्ती र राक्षसहरुको दासता र बन्धनबाट मुक्ति प्रदान गर्दछ।