पाँच आवश्यक कुराहरु

मानिसको सुखमय जीवनको लागि यी पाँचवटा कुराहरु अत्यन्तै महत्वपूर्ण छन्। सम्पूर्ण शास्त्रहरुले ती कुराहरुको सुरक्षा गर्न र त्यसको विपरित क्रियाकलापहरुलाई रोक्न आदेश दिएका छन्।

इस्लामले यी महत्वपूर्ण कुराहरुलाई पूर्ण रुपमा सुरक्षित गरेको छ। ताकि एउटा मुस्लिमले सुख र शान्तिले सास फेर्न सकोस्, लोक र परलोकको लागि कर्म गर्न सकोस्।

मुस्लिम समुदाय एउटा बलियो पर्खाल झैं एक आपसमा मिलेर जीविका निर्वाह गर्दछन्। जसरी कुनै अङ्गमा काँडा बिज्छ भने पूरै शरीर नै ज्वरो र पीडाले ग्रस्त हुन्छ, त्यसरी नै यिनीहरु बीच नङ्ग र मासुको सम्बन्ध हुन्छ। निम्न दुई तरिकाले यसको सुरक्षा गर्न सकिन्छ…

स्थापित र राम्रो हेरचाह गरेर।

कमीकमजोरी र गडबडीबाट बचाएर।

  1. धर्मको सुरक्षा-

धर्म नै हाम्रो जीवनको असल उद्देश्य हो। यसैको लागि अल्लाहले हामीहरुलाई सृष्टि गर्नु भएको छ। यसैको प्रचार-प्रसार र सुरक्षाको लागि रसूलहरु (सन्देष्टाहरु) लाई पठाउनु भएको छ। अल्लाहले भन्नु भएको छ… “हामीले प्रत्येक समुदायमा रसूल पठायौं। केवल अल्लाहको उपासना गर र उहाँ बाहेक सम्पूर्ण मिथ्या उपास्यको पूजादेखि टाढा रहने गर।” (श्रोत- सूरह अन्-नहल : १६/३६)  

इस्लामको स्वच्छ सन्देशलाई सुरक्षित राख्नको लागि बहुदेववाद, अन्धविश्वास, पाप र अवैध कुराहरुदेखि सचेत रहने आदेश दिएको छ।

  1. शरीरको सुरक्षा- 

अल्लाहले मानव जातिलाई आफ्नो ज्यानको सुरक्षा गर्ने आदेश दिनु भएको छ, यद्यपि त्यो वर्जित तरिकाले किन नहोस्, किनकि कठिन परिस्थितिमा वर्जित कार्यलाई पनि माफी दिएको छ। अल्लाहले भन्नु भएको छ… “तर जो परिबन्धमा परेको छ, ऊ अवज्ञाको मनसाय नराखी र सीमा उल्लंघन नगरिकन अवैध खाने कुरालाई पनि सेवन गर्छ भने उसलाई कुनै पाप लाग्दैन। वास्तवमा अल्लाह नै अति क्षमाशील र परम दयालु हुन्।” (श्रोत- सूरह अल्-बकरह : २/१७३)

अल्लाहले ज्यान मार्ने र मानवलाई क्षति पुर्याउने हरेक क्रियाकलापलाई अवैध गर्नु भएको छ। अल्लाहले भन्नु भएको छ… “आफ्नो खुट्टामा आफैंले बन्चरो न हान।” (श्रोत- सूरह अल्-बकरह : २/१९५)

जुनसुकै धर्मावलम्बीहरुमाथि बिना आधार अत्याचार गर्नेहरुका लागि अल्लाहले कानून, सजाय र मृत्यु-दण्डलाई अनिवार्य गर्नु भएको छ। अल्लाहले भन्नु भएको छ… “हे आस्थावानहरु हो ! तिमीहरूमाथि हत्याको मामिलामा मृत्यु-दण्ड (किसास) अनिवार्य गरिएको छ।” (श्रोत- सूरह अल्-बकरह : २/१७८)

  1. बुद्धिको सुरक्षा-

इस्लामले बुद्धि र सोचविचारलाई नष्ट पार्ने सम्पूर्ण कुराहरुलाई अवैध गरेको छ, किनकि बुद्धि अल्लाहको एउटा अमूल्य वरदान हो। त्यसैले नै हामीले सर्वश्रेष्ठ प्राणीको उपाधि पाएका छौं। लोक र परलोकमा हिसाब-किताब पनि यसैमाथि निर्भर छ।

तसर्थ अल्लाहले सम्पूर्ण मादक पदार्थहरुलाई अवैध मात्र होइन, बरु अपवित्र एवम् शैतानी कार्यसमेत घोषित गर्नु भएको छ। अल्लाहले भन्नु भएको छ… “हे आस्थावानहरु हो ! मदिरा सेवन गर्नु, जुवा खेल्नु, अल्लाह बाहेकको नाममा बलि दिनु तथा पासा खेल्नु अपवित्र र शैतानी कार्यहरू हुन्। त्यसैले यी कुराहरूबाट टाढा बस, यसरी तिमीहरु सफल हुनेछौ।” (श्रोत- (सूरह अल्-माइदा : ५/९०)

  1. बंशको सुरक्षा-

इस्लामले बंशको सुरक्षा, परिवारको निर्माण र उच्च संस्कारको शिक्षाको लागि अतुलनीय भूमिका निर्वाह गरेको छ। तीमध्ये केही निम्न लिखित छन्…

  • इस्लामले कम खर्चमा विवाह गर्न, गराउन र अनावश्यक खर्च नगर्न प्रेरणा दिन्छ। अल्लाहले भन्नु भएको छ… “अविवाहितहरुलाई विवाह गराइ देऊ।” (श्रोत- सूरह अन्नूर : २४/३२)
  • बंशको सुरक्षाकै लागि इस्लामले हरेक प्रकारको अनैतिक सम्बन्धलाई अवैध गरको छ र यसका सम्पूर्ण श्रोत र साधनहरुमाथि प्रतिबन्ध लगाएको छ। अल्लाहले भन्नु भएको छ… “जिना (व्यभिचार) को नजिक नजाऊ, किनभने त्यो अति निर्लज्ज कार्य र कुमार्ग हो।” (श्रोत- सूरह अल्-इस्रा : १७/३२)
  • इस्लामले कसैको बंश र इज्जतमाथि आरोप लगाउन मनाही गरेको छ। यसलाई महापाप घोषित गर्दै संलग्न व्यक्तिहरुका लागि दुनियाँमा यातनापूर्ण सजाय तोकेको छ र परलोकमा कठोर यातनाले उसको स्वागत हुनेछ।
  • इस्लामले पुरुष र महिलाको मान-मर्यादालाई जोगाउन आदेश दिएको छ। यदि कोही आफ्नो र परिवारको इज्जतको सुरक्षा गर्दा गर्दै हताहत हुन्छ भने उसलाई शहीदको दर्जा दिएको छ। (यस बारे अधिक जानकारीको लागि पृष्ठ न० १८६ हेर्नुहोस्)
  1. धनको सुरक्षा-

इस्लामले धन-सम्पत्तिको सुरक्षा र रोजगारको लागि भागदौडलाई अनिवार्य गरेको छ। विभिन्न कारोबार, मुद्रा विनिमय र व्यवसायलाई वैध गरेको छ।

इस्लामले धन-सम्पत्तिकै सुरक्षाको लागि ब्याज, चोरी, डाँका, लूटपाट, धोका, छलकपट र विश्वासघातलाई अवैध गरेको छ। यस्तो कार्य गर्ने व्यक्तिहरुलाई कुरआनले ठूलो यातनाको धम्की दिएको छ। (यस बारे अधिक जानकारीको लागि अध्याय-७ पृष्ठ न० १६० हेर्नुहोस्)