इस्लाममा पोशाक

आस्थावानको पोशाक सुन्दर तथा सफा-सुग्घर हुनुपर्छ। विशेष गरी सलाह पढ्न र मानिसहरुसँग भेटघाट गर्नको लागि। अल्लाहले भन्नु भएको छ… “हे आदमका सन्तान हो ! हरेक सलाहको लागि राम्रो वस्त्र धारण गर।” (श्रोत- सूरह अल्-आ'राफ : ७/३१)

अल्लाहले मानिसलाई राम्रो पोशाक लगाएर सुन्दर हुन प्रेरणा दिनु भएको छ, किनभने यसमा अल्लाहको वरदानको कृतज्ञता व्यक्त हुन्छ। अल्लाहले भन्नु भएको छ… “हे सन्देष्टा हो, सोध ! अल्लाहले प्रदान गर्नु भएको वस्त्र र पवित्र रोजीलाई कसले अवैध गर्यो ? भनिदेऊ, यी आस्थावानहरुका लागि सांसारिक जीवनमा पनि छन् र अन्तिम दिनमा पनि उनीहरूकै लागि हुने छन्। हामी ज्ञानीहरूका लागि यसरी नै आफ्ना निशानीहरु प्रष्ट पार्छौं।” (श्रोत- सूरह अल्-आ'राफ : ७/३२)

पोशाकले निम्न आवश्यकताहरु पूरा गर्दछ-

  1. १) मानिसका गुप्ताङ्गहरुलाई अरु व्यक्तिहरुको नजरबाट छोप्छ, किनभने मानिसमा प्राकृतिक रुपमा लाज हुन्छ। अल्लाहले भन्नु भएको छ- “हे आदमका सन्तान हो ! हामीले तिमीहरुका लागि पोशाक अवतरण गरेका छौं। जसले तिमीहरु आफ्ना अङ्गहरुलाई छोप्दछौ।” (श्रोत- सूरह अल्-आ'राफ : ७/२६)
  2. २) मानिसको शरीरलाई जाडो, गर्मी र शारीरिक दु:खबाट बचाउँदछ। जाडो र गर्मी मौसमको परिवर्तनले भइरहन्छ तथा त्यसको नराम्रो प्रभाव मानिसले भोग्नु पर्छ। अल्लाहले भन्नु भएको छ- “उहाँले तिमीहरुका लागि यस्ता वस्त्रहरु बनाउनु भएको छ, जुन तिमीहरुलाई मौसमको चिसो, तातो र शत्रुको प्रहारबाट सुरक्षित राख्छन्। यसरी अल्लाह आफ्नो वरदान तिमीहरुका लागि पूरा गर्नुहुन्छ, ताकि तिमीहरु अल्लाहको लागि पूर्ण समर्पण गर।” (श्रोत- सूरह अन्-नहल : १६/८१)

इस्लाम प्राकृतिक धर्म हो। त्यसैले मानिसको व्यवहारिक जीवनमा ती नियमहरु मात्र लागू गरेको छ, जुन स्वच्छ प्राकृतिक नियम, सरल बुद्धि र साधारण विवेकसित पूर्णरुपले मेल खान्छ।

पोशाक र सिङ्गारको असल आधार वैध हो-

इस्लामले मुस्लिमहरुका लागि कुनै खास किसिमको पोशाकलाई अनिवार्य गरेको छैन। बरु जुनसुकै पोशाकले उद्देश्यलाई पूरा गर्छ र इस्लामि मान-मर्यादा विपरित छैन भने त्यो नै मुस्लिमको पोशाक हो।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्नो युगमा रहेका पोशाकहरु लगाउनु भयो र उहाँले न त कुनै खास पोशाक लगाउन आदेश दिनु भयो, न कुनै पोशकबाट मनाही गर्नु भयो, बरु पोशाकमा पाइने नराम्रा कुराहरूबाट रोक्नु भयो। किनभने व्यवहारमा असल कुरा जायज छ र पोशाक पनि त्यसैमध्ये पर्छ जसलाई बिना प्रमाण अवैध भन्नु मिल्दैन। तर यसको विपरित ईबादतमा असल कुरा अवैध हो, प्रमाणित नहुन्जेल कुनै पनि उपासना गर्नु हुँदैन।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “खाऊ, दान देऊ तथा राम्रो वस्त्र धारण गर तर त्यसमा घमण्ड र अनावश्यक खर्च नगर।” (श्रोत- निसाई : २५५९)

अवैध पोशाकहरु-

  1. १) पारदर्शी पोशाक- मुस्लिमले आफ्ना अङ्गहरुलाई लुगाले छोप्नु अनिवार्य छ। अल्लाहले भन्नु भएको छ… “हे आदमका सन्तान हो ! हामीले तिमीहरुका लागि पोशाक अवतरण गरेका छौं। जसले तिमीहरु आफ्ना अङ्गहरुलाई छोप्दछौ।” (श्रोत- सूरह अल्-आ'राफ : ७/२६) पर्दाको सिमा- पुरुष र महिलाले आ-आफ्ना अङ्गहरुलाई कति सम्म छोप्नु पर्दछ भन्ने कुरालाई इस्लामले निर्धारित गरेको छ। पुरुषले नाँइटोदेखि घुँडा सम्म र महिलाले महरम बाहेकका पुरुषहरुको अगाडि अनुहार र हात बाहेक सम्पूर्ण शरीरलाई छोप्नु पर्छ। त्यसैले छोटो, कसिलो, निकै पातलो तथा अङ्गहरु देखिने पारदर्शी लुगाफाटा र पोशाकहरु कदापि लगाउनु हुँदैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले अङ्ग देखिने पारदर्शी कपडा लगाउनेहरुलाई नरकको धम्की दिनु भएको छ… “दुई प्रकारका मानिसहरु नरकमा जान्छन्; त्यसमध्ये एउटा, कपडा लगाए पनि नाङ्गै देखिने महिलाहरु हुन्।” (श्रोत- मुस्लिम : २१२८)
  2. २) विपरित लिङ्गीसँग मिल्दा-जुल्दा पोशाकहरु महिलाको लागि निर्धारित लुगाफाटा पुरुषले र पुरुषको लागि निर्धारित लुगाफाटालाई महिलाले प्रयोग गर्नु अवैध र महापाप हो। त्यसैगरी पुरुषले महिलाको वा महिलाले पुरुषको बोलाई, हिडाई र अन्य गतिविधिहरूलाई नक्कल गर्नु कदापि हुँदैन, किनभने रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले “यस्तो पुरुष र महिलालाई धिक्कार्नु भएको छ।” (श्रोत- अबु-दाऊद : ४०९८) त्यसैगरी रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले “एक अर्काको नक्कल गर्ने पुरुष र महिलालाई धिक्कार्नु भएको छ।” (श्रोत- बुखारी : ५५४६)   धिक्कारको अर्थ : अल्लाहको कृपाबाट पर हुनु हो, किनकि इस्लामले हरेकलाई एउटा छुट्टै पहिचान दिएको छ र हरेकले आफ्नै परिधिभित्र बस्नु नै प्रकृति र स्वच्छ बिचार अनुकूल पनि हो।
  3. ३) काफिरसित मिल्दा-जुल्दा पोशाकहरु, जस्तै… पूजारी, सन्यासी, पुरोहित, पादरीहरुका विशेष वस्त्र धारण गर्नु वा कुनै विशेष धार्मिक अर्थ बोकेका चिन्हहरु लगाउनु, जस्तै… घाँटीमा क्रुस वा जनै झुण्ड्याउनु वा टाउकोमा टुप्पी पाल्नु निषेध गरिएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसले जुन समुदायको नक्कल वा अनुसरण गर्छ, ऊ तिनीहरुमध्ये हुन्छ।” (श्रोत- अबु-दाऊद : ४०३१) अनुसरणको तात्पर्य… धार्मिक विशेष गतिविधिहरुको अनुसरण गर्नु हो। किनभने यसले आत्मविश्वास र आस्था दुवैलाई ठूलो असर पार्दछ। यदि मुस्लिमले मुलुकमा प्रचलित त्यही पहिरन लगाउँछ जसलाई अधिकांश गैर-मुस्लिमहरुले पनि लगाउँछ भने यो अनुसरण अन्तर्गत पर्दैन, किनभने रसूल (सल्लल्लाहु अलैहि व सल्लम) पनि आफ्नो युगमा त्यही कपडा लगाउनु हुन्थ्यो, जुन मुश्रिक र काफिरहरु लगाउने गर्दथे, त्यसैले निषेधित पहिरन बाहेक जुनसुकै लुगा लगाउन सकिन्छ।
  4. ४) घमण्ड र अहमले ओतप्रोत पोशाकहरु- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसको मनमा कण बराबर पनि अहम छ भने ऊ स्वर्गमा जान सक्दैन।” (श्रोत- मुस्लिम : ९१) त्यसैले इस्लामले लुगा भुँइमा लतारेर हिंड्नु वा पुरुषले गोलीगाँठो भन्दा मुनि लगाउनु निषेध गरेको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “अल्लाहले भुँइमा कपडालाई लतारेर हिंड्ने घमण्डी व्यक्तिलाई महाप्रलयको दिन कदापि हेर्नुहुन्न।” (श्रोत- बुखारी : ३४६५, मुस्लिम : २०८५) प्रतिष्ठाको पोशाक लगाउन मनाही गरेको छ- प्रसिद्ध हुने मनसायले अनौठो आकार र रङ्गले तयार पारिएको पोशाक लगाउनु अवैध छ, किनभने यसमा पनि अहम र घमण्ड लुकेको हुन्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसले यो दुनियाँमा प्रसिद्ध हुने खालको कपडा लगायो, अल्लाहले उसलाई कयामतको दिन अपमान गर्ने कपडा लगाई दिनु हुनेछ।” (श्रोत- अहमद : ५६६४, इब्ने माजा : ३६०७)
  5. ५) पुरुषको लागि शुद्ध रेशम वा सुनको पोशाक इस्लामले पुरुषहरुका लागि रेशम र सुनलाई निषेध गरेको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “सुन र रेशम पुरुषहरुका लागि अवैध छ, तर महिलाहरुका लागि वैध छ।” (श्रोत- इब्ने माजा : ३५९५, अबु-दाऊद : ४०५७) रेशमको अभिप्राय… रेशमको कीराद्वारा तयार पारिएको शुद्ध रेशम पुरुषको लागि अवैध गरिएको हो।
  6. ६) अनावश्यक र फजुलखर्च गरिएको पोशाक- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “खाऊ, दान देऊ तथा राम्रो वस्त्र धारण गर तर त्यसमा घमण्ड र अनावश्यक खर्च नगर।” (श्रोत- निसाई : २५५९) यो मानिसको आर्थिक स्थिति र जिम्मेवारीमा भर पर्दछ, जस्तै… धनीले लगाउने महँगो कपडा गरीबले लगायो भने फजुलखर्च हुन्छ, किनकि दुवैको आयश्रोत र जिम्मेवारीमा आकाश र पातालको फरक हुन्छ। अत: एउटै लुगा धनीको हकमा पुण्य छ भने त्यही लुगा गरीबको हकमा पाप हुन सक्छ।