पुरुषको लागि महिलाका किसिमहरु-

पुरुषको लागि महिलाहरु यस प्रकार छन्…

  1. १) श्रीमती-

श्रीमानले श्रीमतीलाई र श्रीमतीले श्रीमानलाई हेर्न र वैध तरिकाले सम्पूर्ण प्रकारका आनन्द प्राप्त गर्न जायज छ। अल्लाहले श्रीमानलाई श्रीमतीको र श्रीमतीलाई श्रीमानको पहिरनको संज्ञा दिएर दुवैको शारीरिक र आध्यात्मिक सम्बन्धलाई अनौठो तरिकाले प्रस्तुत गर्नु भएको छ। अल्लाहले भन्नु भएको छ… “तिनीहरु तिम्रा पहिरन र तिमीहरु उनीहरुका पहिरन हौ।” (श्रोत- सूरह अल्-बकरह : २/१८७) (यस बारे अधिक जानकारीको लागि पृष्ठ न० १९६ हेर्नुहोस्)

  1. २) महरम-

ती महिलाहरु हुन्, जोसँग सदाको लागि विवाह गर्न अवैध छ। महरमहरु यस प्रकार छन्…

1 आमा, हजुरआमा, जस्तै… आमाको आमा, बुवाको आमा वा यस भन्दा माथि।
2 छोरी, छोराको छोरी, छोरीको छोरी वा यस भन्दा तल।
3 दिदीबहिनी वा सौतेनी दिदीबहिनी।
4 फुपू, सौतेनी फुपू, यसरी नै आमा र बुवाका फुपूहरु।
5 सानीमा अर्थात आमाको बहिनी, यसरी नै आमा र बुवाका सानीमाहरु।
6 भतिजी, सौतेनी दाजुभाइको छोरी वा यस भन्दा तल, जस्तै… नातिनी।
7 भान्जी, सौतेनी दिदीबहिनीको छोरी वा यस भन्दा तल, जस्तै… नातिनी।
8 सासुआमा, श्रीमती साथमा होस् वा तलाक दिएको होस्, सासुआमा सदाको लागि अवैध छ, यसरी नै सासुआमाको आमा।
9 सौतेनी छोरी।
10 बुहारी वा यस भन्दा तल, जस्तै…  छोराको छोराको श्रीमती।
11 सौतेनी आमा वा यस भन्दा माथि, जस्तै… बुवाको बुवाको श्रीमती।
12 दुधे-आमा, जन्मेदेखि दुई वर्षको अवधिमा पाँच चोटि पेट भरी दुध खुवाउने महिला। इस्लामले उनलाई दुधको नाताले आमाको दर्जा दिएको छ।
13 दुधे दिदी-बहिनी, दुधे आमाकी छोरी। दूधको नाताले ती सबै नाताहरु अवैध हुन्छन्, जसरी हाडनाताबाट अवैध हुन्छन्, जस्तै फुपू, सानीमा, दाजुभाइ र दिदीबहिनीका छोरीहरु।
  1. ३) महरमबाहेकका महिलाहरु-

महरम बाहेकका महिलाहरु पुरुषको लागि पर स्त्रीहरू हुन्, चाहे नजिकको नातेदार होस् वा टाढाको, जस्तै… काका वा फुपूकी छोरी, मामा वा सानीमा (खाला) की छोरी, भाउजु वा परिवारका निकटतम स्त्रीहरू वा टाढाका स्त्रीहरू।

विश्वभर दिनदिनै बलात्कारका घटनाहरु बढ्दै गइरहेका कुरा विभिन्न पत्रपत्रिका, प्रतिवेदन र तथ्याङ्कबाट प्रष्ट हुन्छ। इस्लामदेखि टाढा भएका धेरै जसो समाज र घरपरिवारहरु यस्ता विकृतिले बर्बाद भएका छन्।

एउटा मुस्लिमले महरमबाहेकका महिलाहरुसित कस्तो सम्बन्ध राख्न सक्छ भन्ने कुरालाई मर्यादित गर्न इस्लामले विधि-विधान तोकेको छ। यसले इज्जत जोगाउन र शैतानका गोपनीय ढोकाहरुलाई बन्द गर्न ठूलो भूमिका निर्वाह गरेको छ, किनभने मानिसको लागि के राम्रो र के नराम्रो भन्ने कुराको पूर्ण ज्ञान अल्लाह बाहेक अरु कसलाई हुन सक्छ र ? अल्लाहले भन्नु भएको छ… “के सिङ्गो संसारको सृष्टिकर्तालाई त्यसको पूर्ण ज्ञान छैन ? उहाँ त सुक्ष्म दर्शी एवम् सुसूचित हुन्।” (श्रोत- सूरह अल्-मुल्क : ६७/१४)

महरमबाहेकका महिला र पुरुष बीच सम्बन्धका सिद्धान्तहरु-

  1. १) दृष्टिलाई तल गर्नु-

मुस्लिमले महरमबाहेकका महिलाहरुलाई हेर्नु हुँदैन। त्यसैगरी पर स्त्रीहरूको लवाइ, हिँडाइ, बोलाइ र यौन उत्तेजित गर्ने कुराहरुलाई ट्वाल्ल परेर हेर्नु हुँदैन।

इस्लामले पुरुष र महिला दुवै पक्षलाई दृष्टि नियन्त्रण गर्ने र आँखा नजुधाउने आदेश दिएको छ, किनभने यसले मन र मस्तिष्कलाई पवित्रता प्रदान गर्दछ। दृष्टिलाई नियन्त्रण गरिएन भने समाजमा अनैतिक कार्य र अश्लीलता फस्टाउँदै जान्छ। अल्लाहले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई आदेश दिदै भन्नु भएको छ… “आस्थावान पुरुषहरुलाई आफ्ना आँखा तल झुकाएर हिंड्न र आफ्ना गुप्ताङ्गलाई सुरक्षित राख्न आदेश देऊ। यसले उनीहरुलाई पवित्रता प्रदान गर्दछ। अल्लाह उनीहरुको क्रियाकलापदेखि अवगत हुनुहुन्छ। त्यसैगरी आस्थावान महिलालाईहरुलाई आफ्ना आँखा तल झुकाएर हिंड्न र आफ्ना गुप्ताङ्गलाई सुरक्षित राख्न आदेश देऊ।” (श्रोत- सूरह अन्नूर : २४/३०-३१)

यदि अवैध कुरामाथि अचानक आँखा पर्यो भने तुरुन्तै अर्कोतिर आँखा फेर्नु पर्दछ। त्यसलाई ट्वाल्ल परेर वा बारम्बार फर्केर हेर्नु हुँदैन। त्यस्तै पत्रपत्रिका, टेलिभिजन र इन्टरनेटमा रहेका अश्लील तस्वीर, भिडियो तथा यौन उत्तेजित गर्ने कुराहरु हेर्नु हुँदैन।

  1. २) सद-व्यवहार गर्नु-

महरमबाहेकका पर स्त्रीहरुसित अलि दुरी राखेर सभ्य र सरल भाषमा कुराकानी गर्नु पर्छ। कुराकानी गर्ने क्रममा अश्लीलता र यौन उत्तेजना निम्त्याउने क्रियाकलापबाट टाढा रहनु पर्दछ।

  • अल्लाहले नारीहरुलाई पर पुरुषहरूसित मिठो र चिप्लो कुरा गर्नुलाई अवैध गर्नु भएको छ। आवश्यकता अनुसार सीधा र स्पष्ट कुरा गर्न सकिन्छ। अल्लाहले भन्नु भएको छ… “तिमीहरु मीठो-मीठो कुरा नगर, अन्यथा पापी मन भएको व्यक्तिले अर्कै अर्थ लगाउँछ। बरु स्पष्ट कुरा गर।” (श्रोत- सूरह अल्-अह्जाब : ३३/ ३२)
  • त्यसैगरी कसैलाई आकर्षित हुने गरेर हिंड्न वा श्रृङ्गारपटार प्रदर्शन गर्न अवैध गरेको छ। अल्लाहले भन्नु भएको छ… “नारीहरूले आफ्ना खुट्टा भुइँमा बजार्दै नहिडुन्, ताकि पुरुषहरुले उनीहरुले लगाएको श्रृङ्गार थाहा पाउन्।” (श्रोत- सूरह अन्नूर : २४/३२)
  1. ३) एकान्तमा भेट्नु अवैध छ-

महरमबाहेकका पर स्त्रीहरूसँग एकान्तमा एक्लै भेट्नु पुरुषको लागि अवैध छ, किनभने यसले अश्लीलता र अनैतिकतालाई निम्त्याउँछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “पुरुष जब कुनै पर स्त्रीसँग एकान्तमा भेट्छ भने त्यहाँ तेस्रो पक्ष शैतान हुन्छ (जसले दुवैलाई कुकर्मको निमन्त्रणा दिन्छ)।” (श्रोत- तिर्मिजी : २१६५)

  1. ४) पर्दा (बुर्का)-

अल्लाहले नारीलाई पर्दा गर्ने अथवा आफ्नो शरीरलाई छोप्ने आदेश दिनु भएको छ, किनकि तिनीहरुको शरीरलाई आकर्षक र सुन्दर बनाएको छ, जसले पुरुषलाई प्रलोभनमा पार्न सक्छ।

अल्लाहले विभिन्न उद्देश्यहरुले गर्दा पर्दा अनिवार्य गर्नु भएको छ, तीमध्ये केही यस प्रकार छन्…

  • महिलाले पनि मान-मर्यादाका साथ आफ्नो व्यक्तिगत तथा सामाजिक जीवनमा शैक्षिक र व्यवहारिक क्रियाकलापहरुमा केही योगदान पुर्याउन सकून्।
  • एकातिर अनैतिक सम्बन्ध, बलात्कार र महिलामाथि हुने हिंसात्मक घटनाहरुबाट समाजलाई पवित्र राख्न   सकिन्छ भने अर्कोतिर महिलाको मान-मर्यादालाई जोगाउन सकिन्छ।
  • महिलाको हकहितको लागि काम गर्नेहरुलाई यसबाट सहयोग मिल्छ र नारीसँग सभ्य व्यवहार गर्ने अवसर मिल्छ। यसरी उनीहरुसँग भएका ज्ञान, विज्ञान र प्रतिभाबाट समाज सुधार कार्यमा टेवा पुर्याउन सकिन्छ, किनकि उनीहरू यौन तृष्णा मेटाउने र रमाउने कुनै खेलौना होइनन्।

पर्दाको सीमा-

महिलाले पर पुरुषको अगाडि अनुहार र हात बाहेक सम्पूर्ण शरीरलाई छोप्नु पर्दछ। अल्लाहले भन्नु भएको छ… “महिलाहरुले आफ्नो श्रृङ्गारलाई जाहेर नगरुन्, मात्र त्यो बाहेक जो स्वतः जाहेर हुन्छ।” (श्रोत- सूरह अन्नूर : २४/३०-३१)

पर्दा (बुर्का) का केही नियमहरु-

महिलाहरुले जुनसुकै रङ्ग र आकारको बुर्का लगाउन सक्छन्, तर निम्न लिखित शर्तहरु हुनुपर्दछ…

  1. शरीरका जे जति अङ्गहरु छोप्नु पर्ने हुन्छ त्यसलाई बुर्काले छोप्नु पर्दछ।
  2. फराकिलो र खुकुलो हुनुपर्दछ, त्यसैले छोटो वा कसिलो कपडा लगाउनु हुँदैन।
  3. पातलो र अङ्ग देखिने पारदर्शी लुगा लगाउनु हुँदैन।