इस्लाममा विहेबारीको महत्व

इस्लामले विवाह गर्न र सुन्दर संसार बसाउन हौसला प्रदान गरेको छ। यसलाई महान सत्कर्म र रसूलहरुको तरिका भनेको छ।

इस्लामले विवाह, वैवाहिक सिद्धान्त तथा श्रीमान र श्रीमतीका हकहितका विधानहरुलाई विस्तृत रुपमा बयान गरेको छ। यसरी पारिवारिक सम्बन्ध सुदृढ र गतिशील रहन्छ। बाल-बालिकालाई राम्रो वातावरणमा हुर्कने, सुखको सास फेर्ने, इस्लाममा कायम रहने र जीवनको हरेक क्षेत्रमा सफलता प्राप्त गर्ने सुवर्ण अवसर प्राप्त हुन्छ।

 

विवाह सम्बन्धी केही विधि-विधानहरु…

इस्लामले विवाह तथा श्रीमान र श्रीमतीको सुनौलो भविष्यको लागि केही शर्तहरू अनिवार्य गरेको छ, तीमध्ये केही यस प्रकार छन्…

श्रीमतीमा हुनुपर्ने शर्तहरु…

  1. १) मुस्लिम वा अहले-किताब (यहूदी र ईसाइ) महिला हुनुपर्छ। तर इस्लामले असल आचरणले परिपूर्ण मुस्लिम महिलालाई प्राथमिकता दिन प्रेरित गर्छ, ताकि आफ्नो सन्तानलाई उच्च विचार, राम्रो संस्कार र इस्लाममा अडिग रहने शिक्षा दिन सकुन्। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “उच्च आचरणले परिपूर्ण महिलालाई प्राथमिकता देऊ, नत्र तिमी नोक्सान उठाउने छौ।” (श्रोत- बुखारी : ४८०२, मुस्लिम : १४६६)
  2. २) सति सावित्री र चरित्रवान हुनुपर्छ। व्यभिचार र अश्लील चरित्र भएकी महिलासित विवाह गर्न अवैध छ। अल्लाहले भन्नु भएको छ… “तिमीहरूका लागि चरित्रवान मुस्लिम तथा चरित्रवान अहले-किताब (यहूदी र ईसाइ) स्त्रीहरु वैध गरिएका छन्।” (श्रोत- सूरह अल्-माइदा : ५/५)
  3. ३) महरममध्ये नहोस्, जोसँग सदाको लागि विवाह गर्न अवैध छ। त्यसैगरी श्रीमती र उनको बहिनी वा फुपू वा सानीमालाई एकसाथ बिहे गर्नु मिल्दैन।

श्रीमानमा हुनुपर्ने शर्तहरु-

श्रीमान मुस्लिम नै हुनुपर्छ, किनकि मुस्लिम महिलाले काफिर (यहूदी, क्रिस्चियन, हिन्दू, बौद्ध आदि) सित बिहे गर्नु अवैध छ। यदि युवकमा दुईवटा गुणहरु छन् भने इस्लामले विवाह गर्न प्रेरणा दिएको छ…

  • इस्लाममा अडिग रहनु।
  • असल आचरण।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जब कुनै असल र उच्च आचरणले भरिपूर्ण केटा बिहेको प्रस्ताव राख्छ भने उसको बिहे गराई देऊ।” (श्रोत- तिर्मिजी : १०८४,  इब्ने माजा : १९६७)

श्रीमान-श्रीमतीका हक अधिकारहरू

अल्लाहले श्रीमान र श्रीमती दुवैलाई अनिवार्य रुपमा केही जिम्मेवारीहरु सुम्पिनु भएको छ। दुवैले एक अर्कालाई मद्दत गरी दाम्पत्य जीवनलाई गाढा, बलियो, सुन्दर र सफल बनाउनु पर्दछ। दाम्पत्य जीवनमा ग्रहण लगाउने सम्पूर्ण क्रियाकलापहरूबाट सचेत हुनुपर्दछ र दुवैमध्ये कसैले पनि असम्भव कुराको माग गर्नु हुँदैन। अल्लाहले भन्नु भएको छ… “महिलाहरुलाई पनि पुरुषहरुलाई जस्तै सामान्य अधिकार प्रदान गरिएका छन्।” (श्रोत- सूरह अल्-बकरह : २/२२८) त्यसैले सुखमय जीवनको लागि समझदारी, सहनशीलता र त्यागको भावना हुनु आवश्यक छ।

श्रीमतीका हक अधिकारहरू-

  1. १- निर्वाह-खर्च र बस्ने घर-
  • श्रीमानले श्रीमतीको लागि खान लगाउन तथा दैनिक आवश्यक कुराहरु र प्रचलित बास बस्ने घर (गाँस, बास र कपास) अनिवार्य रुपमा दिनु पर्छ, यद्यपि श्रीमती धनवान किन नहोस्।
  • निर्वाह-खर्चको परिमाण : श्रीमानको आयश्रोत अनुसार फजुलखर्च र कन्जुस्याइँ नगरिकन प्रचलित तरिका अनुसार पालन-पोषण खर्च दिनु पर्छ। अल्लाहले भन्नु भएको छ… “सम्पन्न व्यक्तिले आफ्नो क्षमता अनुसार र कम आयश्रोत भएको व्यक्तिले आफ्नै हिसाबले अल्लाहले प्रदान गर्नु भएको धनबाट खर्च गर्नु पर्दछ।” (श्रोत- सूरह अत्-तलाक : ६५/७)
  • श्रीमानले निर्वाह-व्यय तथा पालन-पोषणको खर्च बेहोर्दा श्रीमतीलाई अपमान गर्नु वा श्रीमतीमाथि उपकार गरेको कदापि ठान्नु हुँदैन, किनकि यो त उसले गर्नु पर्ने कर्तव्य र दिनु पर्ने निर्वाह-खर्च हो, जसलाई राम्रो तरिकाले निर्वाह गर्नु पर्दछ।
  • इस्लामले श्रीमती र घरपरिवारको निर्वाह-खर्चलाई महा पुण्य घोषित गरेको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “यदि मुस्लिमले शुद्ध मनसायले घरपरिवारको खर्च बेहोर्छ भने यसमा पनि पुण्य (सवाब) पाइन्छ।” (श्रोत- बुखारी : ५०३६, मुस्लिम : १००२) रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले अर्को हदीसमा भन्नु भएको छ… “अल्लाहलाई खुशी पार्ने नीयतले घरपरिवारको लागि जति खर्च गर्छौ भने अल्लाहले त्यसमा त्यति पुण्य प्रदान गर्नु हुनेछ। यहाँसम्म कि श्रीमतीलाई आफ्नै हातले एक गाँस खुवाउछौ भने त्यसमा पनि पुण्य निहित छ।” (श्रोत- बुखारी : ५६, मुस्लिम : १६२८) यदि कसैले जानीजानी निर्वाह-खर्च बेहोर्दैन वा त्यसमा अनियमित कटौती गर्छ भने उसलाई पाप लाग्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “अनिवार्य निर्वाह-खर्च नदिनु ठूलो पाप हो।” (श्रोत- अबु-दाऊद : १६९२)
  1. २- सुखमय दाम्पत्य जीवन-

असल चरित्र, माया, नम्रता र श्रीमतीको मर्म बुझ्ने र भूलचूकलाई माफी दिने एउटा आदर्श पति हुनुपर्छ। अल्लाहले पुरुषहरूलाई सम्बोधन गर्दै भन्नु भएको छ… “उनीहरूसँग राम्रो तरिकाले जीवन निर्वाह गर। तिमी जसलाई घृणा गर्छौ, त्यसैमा अल्लाहले तिम्रो प्रशस्त फाइदा राखेको हुन सक्छ।” (श्रोत- सूरह अन्-निसा : ४/१९)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “तिमीहरूमध्ये पूर्ण आस्थावान त्यो हो, जसको आचरण सबैभन्दा राम्रो छ र तिमीहरूमध्ये उत्कृष्ट व्यक्ति त्यो हो जो आफ्नो घरपरिवारको लागि चरित्रवान छ।” (श्रोत- तिर्मिजी : ११६२)  

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “तिमीहरूमध्ये पूर्ण आस्थावान त्यो हो, जसको आचरण सबैभन्दा राम्रो छ र आफ्नो घरपरिवारको लागि विनम्र छ।” (श्रोत- तिर्मिजी : २६१२, अहमद : २४६७७)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “तिमीहरुमध्ये सबैभन्दा राम्रो त्यो हो, जो आफ्नो घरपरिवारसँग भद्र व्यवहार गर्दछ र म पनि आफ्नो घरपरिवारसित भद्र व्यवहार गर्दछु।” (श्रोत- तिर्मिजी : ३८९५)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित श्रीमतीको हक अधिकारको बारेमा सोधिदा उहाँले जवाफ दिनु भयो… “तिमी जे खान्छौ, त्यही खान देऊ, तिमी जे लगाउछौ, त्यस्तै लगाउन देऊ, गाली कहिल्यै नगर, अनुहारमा कहिल्यै नपिट र गल्ती गर्छिन् भने बिना बोलचाल घरमै बेवास्ता गर।” (श्रोत- अबु-दाऊद : २१४२)

  1. ३- शिष्टाचार तथा सहनशीलता-

पुरुष र महिलाको स्वभाव र आचरणमा भिन्नता भएको कारणले त्यसको ख्याल राख्नु आवश्यक छ। श्रीमतीको कुनै एउटा गलत स्वभावलाई मनमा राखेर आफूलाई कमजोर पार्नु हुँदैन, बरु जीवनको सम्पूर्ण पक्षलाई सकारात्मक दृष्टिले हेर्नु पर्छ र सानोतिनो गल्तीलाई माफ गर्नु पर्छ। अल्लाहले भन्नु भएको छ… “तिमीहरु बीच एक अर्कामाथि जुन श्रेष्ठता प्रदान गरिएको छ, त्यसलाई नबिर्स।” (श्रोत- सूरह अल्-बकरह : २/२३७) रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “आस्थावान पुरुषले आस्थावान महिलालाई कदापि घृणा गर्दैन, किनभने उसको एउटा स्वभाव मन परेन भने अर्को स्वभावले प्रसन्न हुन्छ।” (श्रोत- मुस्लिम : १४६९)

महिलाको स्वभाव पुरुषको स्वभाव भन्दा फरक हुन्छ। त्यसैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले तिनीहरूसँग भद्र व्यवहार गर्ने, उनीहरुको गल्तीलाई माफी दिने र धैर्य गर्ने आदेश दिनु भएको छ। सानोतिनो विवादलाई झगडामा परिणत गर्नु र छोडपत्र गर्नु कदापि हुँदैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “महिलाहरुलाई सत्कर्मको उपदेश देऊ, उनीहरुलाई बाङ्गो करङबाट सृष्टि गरिएका छन्, जुन कहिल्यै पनि सीधा हुन सक्दैन। त्यसैले तिनीहरूबाट फाइदा प्राप्त गर। यदि सीधा गर्न खोज्छौ भने भाँचिन्छ। भाँचिनुको तात्पर्य… तलाक (पारपाचुके) हो।” (श्रोत- बुखारी : १९१०, मुस्लिम : ७६०)

  1. ४- रात बिताउनु-

श्रीमानले श्रीमतीसँग रात बिताउनु पर्छ। चार दिनमा एक दिन श्रीमतीको लागि समर्पण गर्नु पर्दछ। यदि बहु विवाहित पुरुष हो भने तिनीहरु बीच न्याय गर्नु पर्छ।

  1. ५- श्रीमतीको रक्षा गर्नु-

श्रीमानले श्रीमतीको इज्जत र मर्यादालाई ज्यान गुमाएर भए पनि सुरक्षा गर्नु पर्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “परिवारको रक्षा गर्ने क्रममा कसैको मृत्यु भयो भने त्यो शहीद हो।” (श्रोत- तिर्मिजी : १४२१, अबु-दाऊद : ४७७२)

  1. ६- पति-पत्नी बीचको सम्बन्धलाई भन्डाफोर नगर्नु-

पति-पत्नी बीच कायम भएको सम्बन्ध र माया पिरतीलाई मानिसहरुमा फैलाउनु वा भन्डाफोर गर्नु हुँदैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “कयामतको दिन सबैभन्दा बढी घृणित व्यक्ति त्यो हुनेछ, जो श्रीमतीसँग रात बिताउँछ र दिनमा उसको गोपनीयतालाई सर्वसाधारणमाझ प्रस्तुत गर्दछ।” (श्रोत- मुस्लिम : १४३७)

  1. ७- महिलामाथि अन्याय र अत्याचार नगर्नु-

इस्लामले पारिवारिक समस्यालाई समाधान गर्ने केही सिद्धान्तहरु दिएको छ, जस्तै…

  • कुराकानी र सदुपदेशको माध्यमबाट गल्तीलाई सुधार्न सकिन्छ।
  • बोलचाल नगरी तीन दिनसम्म बेवास्ता गर्नु, त्यसपछि घरैमा उनको ओछ्यान अलग गरी बेवास्ता गर्नु।
  • आईशा (रजियल्लाहु अन्हा) ले भन्नु भएको छ… “रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले न त कुनै महिलालाई कुट्नु भयो, न कुनै नोकरलाई नै। अँ, अल्लाहको लागि धर्म युद्ध गर्नु भयो।” (श्रोत- मुस्लिम : २३२८)
  1. ८- शिक्षा र उपदेश दिनु-

श्रीमानले श्रीमतीलाई सत्कर्मको उपदेश र नराम्रो कामबाट रोक्नु पर्छ। स्वर्ग जाने र नरकको आगोबाट बच्ने प्रेरणा दिनु पर्छ। त्यसैगरी श्रीमतीले पनि आफ्नो श्रीमानलाई बेलाबखत सत्कर्मतिर डोर्याउनु र अवैध कार्यबाट टाढा राख्नु पर्छ। दुवैले आफ्नो सन्तानलाई गतिलो र असल संस्कार दिनु पर्दछ। अल्लाहले भन्नु भएको छ… “हे आस्थावानहरु हो ! आफू अनि आफ्ना घरपरिवारलाई नरकको आगोबाट बचाऊ।” (श्रोत- सूरह अत्-तहरीम : ६६/६) पुरुष आफ्नो घरको अभिभावक हो र ऊ सित उसको जिम्मेवारीप्रति सोधिनेछ।” (श्रोत- बुखारी : २४१६, मुस्लिम : १८२९)

  1. ९- श्रीमतीका शर्तहरूलाई पूरा गर्नु-

यदि श्रीमतीले बिहेको बन्धनमा बाँधिने बेला कुनै वैध शर्त, जस्तै… विशेष घर वा निर्वाह खर्चको शर्त राखेको छ भने श्रीमानले त्यसलाई अनिवार्य रुपमा पूरा गर्नु पर्छ, किनभने वैवाहिक सम्बन्ध सबैभन्दा ठूलो सन्धि र बाचा बन्धन हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “शर्तहरुमध्ये सबैभन्दा महत्वपूर्ण शर्त वैवाहिक शर्त हो, जसले श्रीमतीसँगको सम्भोग वैध भएको छ।” (श्रोत- बुखारी : ४८५६, मुस्लिम : १४१८)

श्रीमानका हक अधिकारहरु-

  1. १- जायज कुरामा श्रीमानको अनुसरण गर्नु-

अल्लाहले पुरुषलाई घरपरिवारको अभिवावक र जिम्मेवार व्यक्ति बनाउनु भएको छ। जसरी राजा आफ्नो रैतीको रेखदेख गर्छ, त्यसरी पुरुषले आफ्नो घरपरिवारको पूर्ण जिम्मेवारी वहन गर्नु पर्दछ। त्यसैले अल्लाहले पुरुषलाई केही विशेषताहरु प्रदान गर्नु भएको छ। अल्लाहले भन्नु भएको छ… “पुरुषहरु महिलाहरुका अभिभावक हुन्, किनभने अल्लाहले एक अर्कामाथि श्रेष्ठता प्रदान गर्नु भएको छ र पुरुषहरु नै आफ्ना सम्पत्ति खर्च गर्छन्।” (श्रोत- सूरह अन्-निसा : ४/३४)

  1. २- श्रीमानलाई सर्वस्व सुम्पिनु-

श्रीमतीले श्रीमानलाई सर्वस्व सुम्पिनु पर्छ, ताकि श्रीमानले हरेक प्रकारको जायज आनन्द र सम्भोग गर्न सकोस्। आफ्नो श्रीमानको लागि श्रृङ्गार गर्नु पर्छ र बिना कुनै कारण श्रीमानलाई सम्भोग गर्नबाट रोक्नु हुँदैन नत्र पाप लाग्छ। जस्तै… महिनावारी र फर्ज ब्रत, रोग इत्यादि।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जुन बेला श्रीमानले श्रीमतीलाई ओछ्यानमा बोलाउँछ, तर उनी इन्कार गर्छिन् र श्रीमान रिसाएर रात बिताउँछ भने बिहान हुन्जेलसम्म फरिश्ताले त्यस महिलामाथि धिक्कार गरिरहन्छ।” (श्रोत- बुखारी : ३०५६, मुस्लिम : १४३६)

  1. ३- श्रीमानले मन नपराएको व्यक्तिलाई घर भित्र आउन नदिनु-

श्रीमानले मन नपराउने व्यक्तिलाई घर भित्र आउन दिनु हुँदैन।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “श्रीमानको उपस्थितिमा बिना अनुमति महिलाले नफ्ली ब्रत बस्नु हुँदैन र बिना अनुमति कसैलाई पनि घर भित्र आउन दिनु हुँदैन।” (श्रोत- बुखारी : ४८९९)

  1. ४- श्रीमानको अनुमति बिना घरबाहिर ननिस्कनु-

श्रीमतीले श्रीमानको अनुमति बिना घर बाहिर जानु हुँदैन। यदि घरको काम वा कुनै खास कुराको लागि अनुमति दिएको छ भने जान सकिन्छ।

  1. ५- श्रीमानको सेवा गर्नु-

गाउँ घरमा प्रचलित तरिका अनुसार पतिको सेवा र घरेलु काम धन्दा, जस्तै खाना बनाउनु र बच्चाहरुको हेरचाह गर्नु।