आमा-बुवाका हक अधिकारहरु

आमा-बुवाको सेवा र हेरचाह सर्वोत्कृष्ट पुण्य हो-इस्लामले आमा-बुवाको सेवा र उनीहरुसित भद्र व्यवहारलाई सर्वोत्कृष्ट सत्कर्म घोषित गरेको छ। अल्लाहले आफ्नो उपासनासँगै आमा-बुवाको सेवालाई वर्णन गर्नु भएको छ।

आमा-बुवाको सेवा र हेरचाहलाई स्वर्गमा जाने ठूलो माध्यम बताइएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “बुवा स्वर्गको बीचको ढोका हो, चाहे यसलाई खेर फाल वा सुरक्षित राख।” (श्रोत- तिर्मिजी : १९००)

  • आमा-बुवाको अवज्ञा र अपमानको परिणाम-

इस्लामलगायत सम्पूर्ण धर्महरुले आमा-बुवाको अवज्ञा र अभद्र व्यवहार नगर्ने आदेश दिएका छन्। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्ना सहाबीहरूलाई सम्बोधन गर्दै भन्नु भएको छ… “तिमीहरूलाई महापापको बारेमा नभनुँ ? उनीहरुले जवाफ दिए… भन्नुहोस्, हे अल्लाहका रसूल, उहाँले भन्नु भयो… शिर्क गर्नु र आमा-बुवाको अवज्ञा गर्नु।” (श्रोत- बुखारी : ५९१८)

  • अल्लाहको अवज्ञामा उनीहरुको आज्ञापालन नगर्नु–

आमा-बुवाका सम्पूर्ण आदेशहरूमा आज्ञापालन गर्नु अनिवार्य छ। यदि उनीहरुले अल्लाहको अवज्ञा वा शिर्क वा कुफ्र गर्न आदेश दिन्छन् भने यस्तो अवस्थामा उनीहरूको आज्ञापालन गर्नु पर्दैन, किनभने अल्लाहको अवज्ञामा कसैको कुरालाई मान्नु हुँदैन। अल्लाहले भन्नु भएको छ… “हामीले मनुष्यलाई आफ्ना माता-पितासँग भद्र व्यवहार गर्ने आदेश दिएका छौं, यदि तिनीहरुले तिमीलाई शिर्क गर्न दबाव दिन्छन्, जुन तिमीलाई थाहा छैन भने उनीहरुको आज्ञापालन नगर।” (श्रोत- सूरह अल्-अन्कबूत : २९/८)

  • उनीहरुसित भद्र व्यवहार गर्नु, विशेष गरी बुढेसकालमा-

अल्लाहले भन्नु भएको छ… “तिम्रो सृष्टिकर्ताले निर्णय गरिसक्नु भएको छ कि उहाँ बाहेक अरु कसैको उपासना नगर र आफ्नो माता-पितासँग भद्र व्यवहार गर; यदि दुवै वा दुवैमध्ये एक तिम्रो उपस्थितिमा बुढेसकालमा पुग्छन् भने उनीहरुलाई न 'उफ' सम्म भन, न हप्काउ नै, बरु उनीहरुसँग आदरपूर्वक कुरा गर।” (श्रोत- सूरह बनी-इस्राइल : १७/२३)

आमा-बुवालाई आफू भन्दा बढी माया र भद्र व्यवहार गर्नु पर्दछ, उनीहरुलाई कदापि गाली गर्नु वा अपमान गर्नु हुँदैन भन्ने कुराको अल्लाहले हामीलाई आदेश दिनु भएको छ। विशेष गरी बुढेसकालमा धेरै ध्यान दिनु पर्दछ।

  • गैर-मुस्लिम माता-पिता-

आमा-बुवाले इस्लाम ग्रहण नगरे पनि उनीहरूसँग भद्र व्यवहार र आज्ञापालन गर्ने इस्लामले आदेश दिएको छ। अल्लाहले भन्नु भएको छ… “यदि माता-पिताले तिमीलाई शिर्क गर्ने दबाव दिन्छन्, जुन तिमीलाई थाहा छैन भने उनीहरुको आज्ञापालन नगर र दुनियाँमा उनीहरुसँग भद्र व्यवहार गर।” (श्रोत- सूरह लुक्मान : ३१/१५) बुद्धि र विवेकले आमा-बुवालाई इस्लामको आह्वान गर्नु नै उनीहरुका लागि सबैभन्दा ठूलो सत्कार र माया हो।

सन्तानका हक अधिकारहरु

  • सुशील श्रीमती रोज्नु, ताकि असल आमा हुन सकुन्। बुवाले आफ्नो सन्तानलाई दिनु पर्ने सर्वोत्कृष्ट कोसेली सुशील आमा नै हो।
  • सुन्दर नाम राख्नु, किनभने यो उसको छोराको पहिचान हुनेछ।
  • गतिलो संस्कार तथा इस्लामको आधारभूत कुराहरुको शिक्षा दिनु, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “तिमीहरु सबै जिम्मेवार व्यक्ति हौ र तिमीहरु आफ्नो जिम्मेवारीप्रति सोधिनेछौ, मुस्लिमको इमाम (हाकिम) सम्पूर्ण मुस्लिमहरुको जिम्मेवार व्यक्ति हो र ऊ सित उसको जिम्मेवारीप्रति सोधिनेछ, पुरुष आफ्नो घरको अभिभावक हो र ऊ सित उसको जिम्मेवारीप्रति सोधिनेछ, श्रीमती आफ्नो श्रीमानको घरको जिम्मेवार हुन् र उनीसित उनको जिम्मेवारीप्रति सोधिनेछ, नोकर मालिकको धन-सम्पत्तिको जिम्मेवार व्यक्ति हो र ऊ सित उसको जिम्मेवारीप्रति सोधिनेछ।” (श्रोत- बुखारी : ८५३, मुस्लिम : १८२९) त्यसैले सन्तानलाई सर्वप्रथम महत्वपूर्ण कुराहरुको ज्ञान दिनु, जस्तै… आस्थाको ज्ञान, त्यसपछि विस्तारै-विस्तारै सलाहको शिक्षा, इस्लामि संस्कार, भद्र व्यवहार र सत्कारको तरिका इत्यादि सिकाउनु पर्दछ, किनकि यी सबै अल्लाहको दृष्टिमा महान कार्यहरु हुन्।

 

  • उनीहरुको खर्च बेहोर्नु, बुवाले छोरा-छोरीका सम्पूर्ण खर्च बेहोर्नु अनिवार्य छ। त्यसमा न कटौती गर्नु जायज छ न उनीहरुलाई अलपत्र पार्नु नै, बरु आफ्नो आयश्रोत अनुसार उत्तम तरिकाले निर्वाह खर्च दिनु पर्दछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “अनिवार्य निर्वाह-खर्च नबेहोर्नु ठूलो पाप हो।” (श्रोत- अबु-दाऊद : १६९२) रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले विशेष गरी छोरीहरुको सन्दर्भमा भन्नु भएको छ… “जसले आफ्नो छोरीहरुलाई राम्रो तरिकाले हुर्काई, बढाई राम्रो जीवन व्यवस्था मिलाई दिन्छ, उसको लागि ती छोरीहरु नरकका बाधक बन्नेछन्।” (श्रोत- बुखारी : ५६४९, मुस्लिम : २६२९)
  • सम्पूर्ण सन्तानहरुमा न्याय गर्नु, छोरा र छोरीमा रहेको असमानताको पर्खाललाई भत्काउनु पर्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “अल्लाहदेखि डराऊ, आफ्ना सन्तानहरुमा न्याय-निसाफ गर।” (श्रोत- बुखारी : २४४७, मुस्लिम : १६२३) त्यसैले सन्तानहरुमध्ये कुनै पनि लिङ्गलाई अर्कोमाथि प्राथमिकता दिनु हुँदैन, किनकि यसको परिणाम नराम्रो हुन सक्छ जसको सही ज्ञान अल्लाहलाई नै छ।