चौथो अध्याय- तपाईको ब्रत

ब्रतको अर्थ-

इस्लाममा ब्रतको अर्थ- अल्लाहको उपासनाको लागि प्रात: काल (फज्रको अजान) देखि सूर्यास्त (मग्रिबको अजान) सम्म खानपिन, सम्भोग तथा ब्रतलाई भङ्ग गर्ने समस्त क्रियाकलापहरुबाट टाढा बस्नुलाई ब्रत (रोजा) भनिन्छ।

रमजान महिनाका विशेषताहरु

इस्लामि पात्रो अनुसार नवौं महिनामा रमजानको ब्रत बस्नु पर्दछ। यो नै पूरै वर्षको सर्वोत्तम महिना हो। यो महिनालाई जति पुण्य, धार्मिक गुण र विशेषताहरु प्रदान गरिएका छन् त्यति अन्य महिनालाई प्राप्त छैनन्। तीमध्ये केही यस प्रकार छन्…

  1. १) अल्लाहले यसै गरिमामय महिनामा सबैभन्दा ठूलो ईश-ग्रन्थ; पवित्र कुरआनलाई अवतरण गर्नु भएको छ। अल्लाहले भन्नु भएको छ… “रमजानको महिनामा कुरआन अवतरण गरियो; जुन सिङ्गो संसारकै लागि मार्गदर्शन हो। जसमा पथप्रदर्शन, सत्य र असत्यलाई छुट्याउने प्रमाणहरु छन्। अत: तिमीहरुमध्ये ज-जसले यो महिनालाई पाउँछ, उसले अनिवार्य रुपमा यसको ब्रत बस्नु पर्छ।” (श्रोत- सूरह अल्-बकरह : २/१८५)
  2. २) रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जब रमजान शुरू हुन्छ, स्वर्गका सबै ढोकाहरु खोलिन्छ, नरकका ढोकाहरु बन्द गरिन्छ र उपद्रव मच्चाउने शैतानहरुलाई जकडेर राखिन्छ।” (श्रोत- बुखारी : ३१०३, मुस्लिम : १०७९) यसरी अल्लाहले सत्कर्मतिर लम्किने र कुकर्मलाई त्याग्ने सुनौलो अवसर प्रदान गर्नु भएको छ।
  3. ३) जो रमजानका दिनहरुमा ब्रत बस्छ र राति तराविह पढ्छ भने उसका अघिका पापहरु पखालिन्छन्। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जुन व्यक्ति ईमान र पुण्यका साथ ब्रत बस्छ उसका सम्पूर्ण पापहरु माफ हुन्छन्।” (श्रोत- बुखारी : १९१०, मुस्लिम : ७६०) उहाँले फेरी भन्नु भएको छ… “जुन व्यक्ति ईमान र पुण्यका साथ रातमा तराविह पढ्दछ उसका सम्पूर्ण पापहरु माफ हुन्छन्।” (श्रोत- बुखारी : १९०५, मुस्लिम : ७५९)
  4. ४) सिङ्गै वर्षको सर्वोत्तम रात; लैलतुल्-कद्र (शुभ रात्री) यसै महिनामा पर्दछ। उक्त रातको उपासना हजारौं महिनाको उपासना भन्दा उत्तम छ। अल्लाहले भन्नु भएको छ… “लैलतुल्-कद्र (शुभ रात्री) हजारौं महिनाको (उपासना) भन्दा उत्तम छ।” (श्रोत- सूरह अल्-कद्र : ९७/३) उक्त रातको उपासनाले अघिका पापहरु पखालिन्छन्। यो रात रमजानको अन्तिम १० रातहरुमध्ये कुनै एक रात हो, तर कुन रात हो किटानीका साथ अल्लाह बाहेक कसैलाई पनि जानकारी छैन।

ब्रतको उद्देश्य

अल्लाहले विभिन्न उद्देश्य र लोक परलोकका अनेकौं फाइदाहरुका लागि ब्रत अनिवार्य गर्नु भएको छ। तीमध्ये केही यस प्रकार छन्…

  1. १- तक्वा (ईश्-भय) प्राप्त गर्नु-

अल्लाहको निकटता प्राप्त गर्ने ठूलो माध्यम ब्रत नै हो। ब्रत बसेको बेलामा लुकेर खान सकिन्छ, यौन तृष्णा मेटाउन सकिन्छ, तर भक्तले यसो किन गर्दैन, किनभने अल्लाहले उसलाई हरेक ठाउँमा हेरिरहनु भएको छ भन्ने कुरा उसको मनमा पलाउँछ। अल्लाहले भन्नु भएको छ… “हे आस्थावानहरु हो ! “तिमीहरुमाथि ब्रत अनिवार्य गरिएको छ, जसरी तिमीहरु भन्दा अघिका मानिसहरुमाथि अनिवार्य गरिएको थियो। यसबाट तिमीहरुमा तक्वा (ईश्-भय) उत्पन्न हुनेछ।” (श्रोत- सूरह अल्-बकरह : २/१८३)

  1. २- पाप र कुलतलाई छोड्न मद्दत पुर्याउँछ-

यदि ब्रतालुले अल्लाहको आदेश अनुसार वैध कुराहरु छोड्न सक्छ भने अवैध कुराहरुलाई अवश्य नै छोड्न सक्छ। कुलतमा फसेका व्यक्तिहरुका लागि यो एउटा सुवर्ण अवसर हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जुन व्यक्तिले झूठो बोल्न र कुकर्म गर्न छोड्दैन भने अल्लाहलाई उसको खानपिन त्याग्नुको कुनै आवश्यकता छैन।” (श्रोत- बुखारी : १८०४) तसर्थ जुन व्यक्ति झूठो बोल्न र गलत कार्य गर्न छोड्दैन, उसले ब्रतको उद्देश्य नै प्राप्त गर्न सकेन।

  1. ३- दीन-दु:खीहरुको सम्झना र सहानुभूति-

युगौ युगसम्म राम्रो खान र लाउन नपाएका गरीब र दीन-दु:खीहरुको सम्झना ब्रतको भोक र तिर्खाले गराउँछ। यिनीहरुप्रति मनमा माया र सहानुभूति पलाउँछ। त्यसैले धनीले गरीबलाई कहिल्यै पनि हेला र अपमान गर्दैनन् बरु तिनीहरुलाई दुई छाक टार्न र एक सरो लगाउन मद्दत पुर्याउँछ, किनकि ब्रत पारस्पारिक सहानुभूति र उपकारको वसन्त ऋतु हो।

ब्रतको विशेषता

ब्रतका अनेकौं विशेषताहरु छन्, तीमध्ये केही यस प्रकार छन्…

  1. १) जुन व्यक्ति ईमान, अनुसरण र पुण्यमाथि पूर्ण विश्वासका साथ ब्रत बस्दछ, उसका अघिका पापहरु पखालिन्छन्। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जुन व्यक्ति ईमान र पुण्यको आशा गर्दै ब्रत बस्छ, उसका अघिका पापहरु पखालिन्छन्।” (श्रोत- बुखारी : १९१०, मुस्लिम : ७६०)
  2. २) ब्रतालुहरु आफ्नो प्रभुसित भेट्ने समय धेरै पुण्य र वरदान पाएर एकदम खुशी हुने छन्। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “ब्रतालुहरुका लागि दुईवटा खुशी छन्…  एउटा ब्रत खोल्ने समयको र अर्को आफ्नो प्रभुसित भेट्ने समयको खुशी।” (श्रोत- बुखारी : १८०५, मुस्लिम : ११५१)
  3. ३) ब्रतालुहरुको सम्मानका लागि स्वर्गमा विशेष ढोका तयार पारिएको छ। ब्रतालु (रोजादार) बाहेक अरु कोही त्यस ढोकाबाट प्रवेश गर्ने छैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “स्वर्गमा 'रैयान' नामको ढोका रहेको छ, जसबाट ब्रतालुहरु मात्रै प्रवेश गर्ने छन् र अन्य व्यक्ति त्यो ढोकाबाट भित्र छिर्न सक्दैनन्। खोई कहाँ छन् ब्रतालुहरु ? सुन्ने बित्तिकै तिनीहरु अगाडि आउने छन् र सम्मानपूर्वक स्वर्गमा प्रवेश गर्ने छन्। उनीहरू प्रवेश भईसकेपछि ढोका बन्द हुन्छ र अरु कोही प्रवेश गर्न सक्ने छैनन्।” (श्रोत- बुखारी : १७९७, मुस्लिम : ११५२)
  4. ४) अल्लाहले ब्रतको प्रतिफल म दिन्छु भनेर घोषणा गर्नु भएको छ। अल्लाह जस्तो दयालु र करुणामयले के कति दिनुहुन्छ यसलाई कोही पनि अनुमान लगाउन सक्दैनन्। अल्लाहले भन्नु भएको छ… “आदमको सन्तानले जे जति पुण्य गर्छ, त्यसको बदला तोकिएको छ, तर ब्रत मेरो लागि हो र म नै यसको बदला दिनेछु।” (श्रोत- बुखारी : १८०५, मुस्लिम : ११५१)

ब्रत भङ्ग गर्ने कुराहरु

केही यस्ता कुराहरु छन्, जसले ब्रतलाई भङ्ग गरिदिन्छ, तसर्थ ती कुराहरुबाट जोगिनु अनिवार्य छ। यी निम्न लिखित छन्…

  1. १) खानपिन गर्नु, अल्लाहले भन्नु भएको छ… “सेतो रेखा कालो रेखाबाट प्रष्ट भएदेखि प्रत:काल (फज्रको अजान) सम्म खानपिन गर, फेरी राति (सूर्यास्त) सम्म ब्रत बस।” (श्रोत- सूरह अल्-बकरह : २/१८७) तर, जसले भूलचुकले खानपिन गर्यो भने उसको ब्रत सही हुनेछ र केही पाप हुँदैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “यदि कसैले बिर्सेर खानपिन गर्यो भने केही आपत्ति छैन, उसले आफ्नो ब्रत पूरा गरोस्, किनभने अल्लाहले उसलाई खानपिन गराउनु भएको छ।” (श्रोत- बुखारी : १८३१, मुस्लिम : ११५५)
  2. २) खानपिनको सट्टामा प्रयोग हुने कुराहरु, जस्तै…
  • ग्लुकोज चढाउनु वा तागतको सूई लगाउनु, किनभने यसले शरीरमा शक्ति, नून र खुराकको काम दिन्छ, यो खानपिनको कायममुकाम हुन्छ र यसमाथि त्यही हुकुम लाग्छ।
  • बिरामीलाई रगत चढाउनु, किनभने यसले शरीरलाई चाहिने खुराक पूरा गर्दछ।
  • हरेक प्रकारको धुम्रपान, किनभने यसले सांसद्वारा शरीरमा बिष फैलयाउँछ।
  1. ३) सम्भोगपछि, चाहे वीर्य स्खलन होस् वा नहोस्।
  2. ४) हस्त मैथुन वा कुनै तरिकाले वीर्य स्खलन गर्नु।

तर सपनामा भएको वीर्य स्खलनले ब्रत भङ्ग हुँदैन।

यदि पुरुषलाई आफूमाथि नियन्त्रण गर्ने क्षमता छ भने ब्रतको अवस्थामा पनि श्रीमतीलाई म्वाई खान सकिन्छ।

  1. ५) जानेर वान्ता गर्नु, यदि आफैंले उल्टी भयो भने  ब्रत भङ्ग हुँदैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसलाई ब्रतको अवस्थामा वान्ता आयो उसले कजा (पूरा) गर्नु पर्दैन र जसले जानेर वान्ता गर्यो, उसले कजा गर्नु पर्दछ।” (श्रोत- तिर्मिजी : ७२०, अबु-दाऊद :३२८०)
  2. ६) महिनावारी वा सुत्केरीको रगत निस्कनु, सूर्यास्त हुनु भन्दा अगाडि रगत देखियो भने ब्रत भङ्ग हुन्छ वा दिनको अन्तिम समयमा पवित्र भएको छ त्यस दिनको ब्रत बस्न हुँदैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “महिनावरीको अवधिमा महिलाले सलाह पढ्न र ब्रत बस्न हुँदैन।” (श्रोत- बुखारी : १८५०)

तर महिनावारी र सुत्केरी बाहेक कुनै रोगले गर्दा रगत निस्केको छ भने ब्रत बस्नुबाट कुनै बाधा हुँदैन। एउटा पवित्र महिला जसतै प्रत्येक काम गर्नु पर्छ।

अल्लाहले कसको लागि ब्रत छुट गर्नु भएको छ?

अल्लाहले आफ्नो कृपा र करुणाले अशक्त व्यक्तिहरुका लागि ब्रत बस्न छुट गर्नु भएको छ। उनीहरु यस प्रकार छन्…

१) बिरामी- ब्रतले गर्दा रोग झन बढ्ने वा निको ढिलो हुने सम्भावना छ भने यस्तो बिरामीले ब्रत बस्नु पर्दैन तर निको भैसकेपछि बस्न नपाएको ब्रतलाई कजा (पूरा) गर्नु पर्छ।

२) अशक्त- वृद्ध-वृद्धा वा कहिल्यै निको नहुने रोगबाट ग्रस्त बिरामीले ब्रत बस्नु पर्दैन, बरु हरेक दिनको बदलामा एउटा गरीबलाई पेट भरी (साढे एक किलो बराबर) खाना खुवाउनु पर्छ।

३) यात्री- यात्रामा रहुन्जेल वा चार दिन भन्दा कम अवधिको लागि यात्रा विश्राम गरेको यात्रीले ब्रत नबस्नु जायज छ, तर छुटेको ब्रतलाई कजा (पूरा) गर्नु पर्छ। अल्लाहले भन्नु भएको छ… “बिरामी वा यात्रीले बस्न नपाएको ब्रतलाई पछि पूरा गर्दा हुन्छ। अल्लाह तिमीहरुका लागि सहजता चाहनुहुन्छ, कष्ट दिन चाहनुहुन्न।” (श्रोत- सूरह अल्-बकरह : २/१८५)

४)  महिनावारी वा सुत्केरी भएकी महिला- अपवित्र भएको अवस्थामा ब्रत बस्नु हुँदैन तर बस्न नपाएको ब्रतलाई रमजानपछि कजा (पूरा) गर्नु पर्छ। (पृष्ठ न० ९२ हेर्नुहोस्)

५) गर्भवती र स्तनपान गराउने महिला- यदि ब्रतले उनीहरुलाई आफ्नो वा बच्चाको स्वास्थ्यको खतरा छ भने ब्रत बस्नु पर्दैन र बस्न नपाएको ब्रतलाई कजा (पूरा) गर्नु पर्छ।

रमजानमा ब्रत भङ्ग गर्ने व्यक्तिको लागि के हुकुम छ?

यदि कसैले बिना कुनै कारण रमजानको दिनमा ब्रत भङ्ग गरेको छ, उसले अल्लाहको अगाडि आफ्नो पाप र अवज्ञाको तौबा (प्रायश्चित) गर्नु पर्छ र त्यस दिनको कजा (पूरा) पनि। यदि कसैले सम्भोग गरेर ब्रत भङ्ग गरेको छ, उसले कजा (पूरा) गर्नुका साथै कफ्फारा (जरिवाना) पनि दिनु पर्छ। कफ्फारा : एउटा गुलाम (दास) आजाद गर्नु, दास पाएन भने दुई महिना लगातार ब्रत बस्नु र यसको शक्ति छैन भने साठी जना गरीबलाई खाना खुवाउनु पर्छ। इस्लामले धेरै जसो अवस्थामा मानव अधिकारको लागि दासलाई मुक्त पर्ने आदेश दिएको छ।

नफ्ली (ऐच्छिक) ब्रत

अल्लाहले सालमा एक महिनाको ब्रत अनिवार्य गर्नु भएको छ, तर बढी पुण्यको लागि नफ्ली (ऐच्छिक) ब्रत बस्ने प्रेरणा दिनु भएको छ। केही नफ्ली ब्रतहरु यस प्रकार छन्…

  1. १) आशूराको ब्रत- इस्लामि पात्रो अनुसार वर्षको पहिलो महिना (मुहर्रम) को दशौं तारिखलाई 'आशूरा' भनिन्छ। 'मूसा' नामी नबीको युगमा फिर्औन नाम गरेको ठूलो शोषक तथा सामन्ती थियो। अल्लाहले उक्त सामन्ती राजा र उसको फौजलाई 'आशूरा' को दिनमा नै नष्ट गर्नु भएको थियो। अनि बल्लतल्ल मूसा तथा उहाँका मुस्लिम साथीहरुले सुख र शान्तिका सास फेर्ने मौका पाएका थिए। त्यसैको खुशियालीमा अल्लाहको कृतज्ञता र रसूलको अनुसरण ब्रत बसेर व्यक्त गरिन्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “आशूराको साथमा एक दिन अघि वा पछि पनि ब्रत बस।” (श्रोत- अहमद : ११६२) त्यसैले दुई दिनको ब्रत बस्नु पर्दछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई यसको बारेमा सोधिदा भन्नु भयो… गएको एक वर्षको पाप पखालिन्छ।” (श्रोत- मुस्लिम : ११६२)
  2. २) अर्फाको ब्रत- इस्लामि पात्रो अनुसार वर्षको अन्तिम महिना (जुल-हिज्जा) को नवौं तारिखलाई 'अर्फा' भनिन्छ। यस दिन हाजीहरू अर्फातको मैदानमा भेला हुन्छन् र अल्लाहसित बिन्ति, प्रार्थना र प्रशंसा गर्छन्। यो वर्षको सर्वोत्तम दिन हो। हज्ज नगर्नेहरुले अर्फाको ब्रत बस्नु पर्दछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित अर्फाको ब्रतको बारेमा सोधियो, उहाँले भन्नु भयो… यसले एक साल अगाडि र एक साल पछाडिका पापहरु पखालिन्छन्।” (श्रोत- मुस्लिम : ११६२)
  3. ३) शौवाल महिनामा ६ दिनको ब्रत- दशौं महिनालाई 'शौवाल' को महिना भनिन्छ। उक्त ब्रतको महत्व दर्शाउँदै रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसले रमजानको ब्रत बस्यो अनि त्यसपछि शौवाल महिनामा ६ दिन अझै नफ्ली ब्रत बस्यो भने, उसले साल भारी ब्रत बसे बराबर भयो।” (श्रोत- मुस्लिम : ११६४)

ईदुल्-फित्र

ईद र चाडपर्वहरु धर्मको प्रतीक हो। जुन बेला रसूल (सल्लल्लाहु अलैहि व सल्लम) मदीना पुग्नु भयो, त्यहाँका बासिन्दाहरुलाई वर्षमा दुई पटक चाडपर्वमा रमाइलो गर्दै गरेको देख्नु भयो। उहाँले सोध्नु भयो… “यो के को खुशियाली हो ?” उनीहरुले जवाफ दिए : इस्लाम पूर्व बाजे पुर्खाको पालादेखि नै हामीहरु यस्तै गर्दै आएका हौं। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भयो… “अल्लाहले तिमीहरुका लागि यो भन्दा राम्रो दुई दिन प्रदान गर्नु भएको छ; ईदुल्-फित्र र ईदुल-अद्हा।” (श्रोत- अबु-दाऊद : ११३४) रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले चाड पर्वको महत्व दर्शाउँदै भन्नु भएको छ… “हरेक समुदायको केही न केही पर्व हुन्छ र यो नै हाम्रो एक महत्वपूर्ण पर्व हो।” (श्रोत- बुखारी : ९०९, मुस्लिम : ८९२)

इस्लाममा ईद-

ब्रत समाप्तिको खुशीयाली मनाउन अल्लाहले मुसलमानहरुका लागि एक दिन निर्धारण गर्नु भएको छ जसलाई अरबीमा ईद भनिन्छ। यो ईदको दिनमा राम्रो खानु, राम्रो लाउनु, गरीबलाई दान दिनु, शुभकामना आदान प्रदान गर्नु, जायज तरिकाले रमाइलो गर्नु, अल्लाहको वरदानलाई सम्झेर उहाँको कृतज्ञता व्यक्त गर्नु र गराउन लगाउनु कहिल्यै पनि बिर्सनु हुँदैन।

 

मुस्लिमका ईदहरु-

मुस्लिमहरुको चाड पर्वको लागि वर्षमा दुई दिन निर्धारण गरिएको छ। ईदुल्-फित्र जुन ब्रतको समाप्तिपछि दशौं महिनाको पहिलो दिन र ईदुल-अद्हा जुन १२ औं महिनाको दशौं दिन पर्दछ। यी दुई दिन बाहेक अरुको देखासिकी गरी नयाँ चाडपर्वको आविष्कार गर्नु वैध छैन।

ईदुल्-फित्र

रमजान महिनाको समाप्तिपछि दशौं महिनाको पहिलो दिनमा नै ईदुल्-फित्र मनाइन्छ। जसरी रमजान भरी ब्रत बसेर अल्लाहको उपासना गरिन्छ, त्यसरी नै पर्वको दिन ब्रत नबसेर खुशियाली मनाएर उपासना गरिन्छ। मुस्लिमहरु ब्रत समाप्तिको खुशियालीमा अल्लाहको कृतज्ञता व्यक्त गर्छन्, किनकि उहाँको कृपा नभएको भए राम्रोसँग ब्रत बस्न त परै जाओस् ब्रतको कल्पना पनि गर्न सकिदैन्थ्यो। अल्लाहले भन्नु भएको छ… “तिमीहरु ब्रतको संख्या पूरा गर र सीधा मार्ग पाएकोमा अल्लाहको प्रशंसा गर। आशा छ तिमीहरु कृतज्ञ बन्नेछौ।” (श्रोत- सूरह अल्-बकरह : २/१८५)

ईदुल्-फित्रको दिन के गर्नु पर्छ?

  1. १) ईदको सलाह पढ्नु- इस्लामले पर्वको दिन स-परिवार सामुहिक रुपमा ईद-गाह (ईदको सलाह पढ्ने ठाउँ) गएर सलाह पढ्न प्रेरित गरेको छ। सूर्योदयको आधा घण्टापछि यसको समय आरम्भ हुन्छ र जुहर सलाहको आधा घन्टा पहिलेसम्म रहन्छ।

ईदको सलाह पढ्ने तरिका- ईदको सलाह दुई रकात हुन्छ, जसमा  इमामले जोडले सलाह पढाउनु हुन्छ र त्यसपछि धर्मोपदेश (खुत्बा) दिनुहुन्छ। अन्य सलाह भन्दा यसमा बढी तक्बीर “अल्लाहु अकबर” भन्नु पर्छ। पहिलो रकातमा तक्बीर तहरीमा बाहेक ६ पटक र दोश्रो रकातमा ५ पटक बढी भनेर सूर फातिहा पढ्नु पर्दछ।

  1. २) जकातुल्-फित्र (दान) दिनु- पर्वको खर्च भन्दा बढी खानेकुराहरु, जस्तै… गहुँ, चामल, दाल इत्यादि घरमा छ भने यस्तो व्यक्तिले गरीब र दीनदुःखीलाई इस्लामले तोके बमोजिम अनिवार्य रुपमा दान दिनु पर्दछ, ताकि हरेक मुस्लिमको घरदैलोमा पर्वको खुशियाली छाओस्, ओठमा मिठो मुस्कान होओस् र कसैको अगाडि भिखको लागि हात फैलाउन नपरोस्। अन्नको बदलामा आवश्यकता अनुसार रुपैया पनि दान दिन सकिन्छ।

यसको समय- रमजानको अन्तिम रातदेखि ईदको सलाहसम्म। ईद भन्दा एक दुई दिन पहिले पनि जकातुल्-फित्र दिन सकिन्छ।

यसको परिमाण- गाउँघरमा प्रयोग हुने खानेकुराहरु, जस्तै… गहुँ, चामल, दाल, खजुर आदिबाट एक साअ नापेर दिने। अर्थात किलोको हिसाबले प्रायः तीन किलो दान निकाल्नु पर्दछ।

घरको अभिभावकले आफ्नो र घरमा रहेको श्रीमती, भाइ-बहिनी तथा सम्पूर्ण बाल-बालिकाहरुको तर्फबाट त्यहाँको प्रचलित खानेकुराहरु प्रायः तीन किलो जकातुल्-फित्र दिनु पर्छ। गर्भमा रहेको शिशुको तर्फबाट दान दिनु अनिवार्य त होइन, तर उत्तम हो।

यसको उद्देश्य- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले “ब्रतको अवस्थामा भएको नचाहिँदो कुरा तथा कमीकमजोरीलाई पूरा गर्न र गरीबहरुका छाक टार्नको लागि जकातुल्-फित्र अनिवार्य गर्नु भएको छ। जसले ईदको सलाह पूर्व दियो उसले जकातुल्-फित्र दियो र जसले ईदपछि दियो उसको सामान्य दान स्वरूप हुनेछ।” (श्रोत- अबु-दाऊद : १६०९)

  1. ३) खुशी बाँड्नु- पर्वको दिन ठूलो-सानो, पुरुष-महिला, आफ्नो-बिरानो सबैसँग खुशी बाँडेर हर्षोल्लासका साथ ईद मनाउनु पर्दछ। राम्रो, सुन्दर पोशाक लगाउनु र घर आँगनलाई झिलिमिली बनाउनु भनेको सुनमा सुगन्ध थप्नु हो। आजको दिन खाएर अल्लाहको उपासना गर्नु पर्दछ। किनभने पर्वको दिन ब्रत बस्नु अवैध छ।
  2. ४) तक्बीर पढ्नु- पर्वको चन्द्रमा देख्नसाथ रातिदेखि बिहान पर्वको सलाह नपढुन्जेल जोडले तक्बीर पढ्नु पर्दछ। ब्रत समाप्तिको खुशियाली र पूरा महिना ब्रत राख्न शक्ति दिनु भएकोमा अल्लाहको कृतज्ञता व्यक्त गर्नु पर्दछ। अल्लाहले भन्नु भएको छ… “तिमीहरु ब्रतको संख्या पूरा गर र सीधा मार्ग पाएकोमा अल्लाहको प्रशंसा गर। आशा छ तिमीहरु कृतज्ञ बन्नेछौ।” (श्रोत- सूरह अल्-बकरह : २/१८५)

तक्बीर पढ्ने तरिका- 'अल्लाहु अकबर, अल्लाहु अकबर, ला ईलाहा इल्लल्लाहु, अल्लाहु अकबर, अल्लाहु अकबर, व लिल्लाहिल हम्द'।

तक्बीर पढ्ने अर्को तरिका- 'अल्लाहु अकबर कबीरा, वल्-हम्दु लिल्लाही कसीरा व सुब्हानल्लाही बुक्रतु व असीला।

बाटोघाटोमा अरुलाई दिक्क नपारिकन पुरुषले ठूलो स्वरमा र महिलाहरुले सानो स्वरमा तक्बीर पढ्नु पर्दछ।