ब्याज

ऋणीले ऋणको साँवा बाहेक दिनु पर्ने थप रकमलाई ब्याज भनिन्छ। यो इस्लामि विधान अनुसार अवैध छ, किनभने यसमा अन्याय र हानि छ। 

हुनत ब्याजका धेरै किसिमहरु छन्, तर प्रसिद्ध र अति अवैध किसिम… ऋण र सापट बापतको ब्याज हो, किनकि यसमा खरिद-बिक्री केही पनि हुँदैन, तै पनि साहुले ऋणीमाथि ऋणको बोझ थप्ने गर्दछ। यो दुई किसिमका छन्-

  • १ – सापट बापत ब्याज-

सापट रकम चुक्ता गर्ने समय नाघेपछि साँवामा थपिने रकमलाई नै सापट बापतको ब्याज भनिन्छ।

उदाहरण- (खालिद) ले (सईद) सित १००० डलर एक महिनापछि फिर्ता दिन्छु भनेर लियो तर एक महिनापछि उसले तिर्न सकेन। खालिदले भन्यो, अहिले दिन्छौ भने केही बढी दिनु पर्दैन तर एक महिनापछि ११०० तिर्नु पर्छ। अर्को एक मिहनामा तिर्न सकेनौ भने १२०० तिर्नु पर्छ। यसरी नै महिना पिच्छे बढ्दै जान्छ।

  • २ - ऋण बापत ब्याज-

कुनै व्यक्ति वा बैंकबाट वार्षिक ५% प्रतिशत वा त्यो भन्दा कम वा बढी ब्याज दरमा ऋण लिनु।

उदाहरण- मानौं, तपाई एक लाखमा एउटा घर किन्न चाहनुहुन्छ, तर तपाईसँग पर्याप्त रकम नभएकोले बैंकबाट एक लाख रुपैया ऋण लिनु भयो। यो शर्तमा कि तपाई ५ वर्षको किस्तामा एक लाखको बदलामा साढे एक लाख (१,५०,०००) साँवा ब्याजसहित दिनु पर्छ।  

इस्लामले ब्याज र यसका सम्पूर्ण तरिकाहरूलाई सदाको लागि अवैध गरेको छ। चाहे त्यो घर, जग्गा, जमीन खरिद-बिक्री, व्यवसाय, उद्योग इत्यादि जुनसुकै उद्देश्यको लागि होस्।

तर किस्ताबन्दिमा नगद भन्दा बढी पैसा दिएर कुनै सरसामान किन्नु जायज छ र यो ब्याज अन्तर्गत पर्दैन।

जस्तै- १००० डलरको मेशिन क्रेताले प्रति महिना १०० डलर जम्मा गर्ने गरी एक वर्षको किस्ताबन्दी (१०० X १२ = १२००) मा किन्नु ।  

ब्याजको हुकुम-

ब्याज खानु अत्यन्तै अवैध काम हो। इस्लामले ब्याजलाई सदाको लागि अवैध गरेको छ। यसलाई ठूलो पापको सूचीमा राखेको छ। अल्लाहले ब्याज खाने र त्यसको कारोबार गर्ने अपराधीलाई युद्धको चेतावनी दिनु भएको छ। इस्लाम पूर्वका धर्म शास्त्रहरुले पनि ब्याजलाई अवैध गरेका छन्, तर यी कुराहरु परिवर्तन भएकाले यथावत रुपमा बाँकी छैनन्। अल्लाहले यहूदी र क्रिस्चियनहरूमाथि आफ्नो प्रकोप किन अवतरण गर्नु भयो भन्ने कुरालाई प्रस्ट पार्दै भन्नु भएको छ… “निषेधित गरे पनि तिनीहरुले ब्याज लिने गर्थे।” (श्रोत- सूरह अन्-निसा : ४/१६१)

ब्याजको परिणाम-

  1. १- ब्याजको कारोबार गर्ने व्यक्ति अल्लाह र रसूलको साथ युद्ध गर्छ, त्यसैले ऊ अल्लाह र रसूलको शत्रु हो। अल्लाहले भन्नु भएको छ… “यदि तिमीहरू ब्याजको कारोबार छाड्दैनौ भने अल्लाह र रसूलसित युद्ध गर्न तयार होऊ। यदि प्रायश्चित गर्छौ भने तिमीहरुका लागि साँवा छ। न तिमीहरू अत्याचार गर्ने छौ न तिम्रो साथमा नै अन्याय हुनेछ।” (श्रोत- सूरह अल्-बकरह : २/२७९) यो यस्तो युद्ध हो जसको असर मानसिक तथा शारीरिक रुपमा पर्छ। मानिसहरुले जे जति असन्तुष्टि, व्याकुलता, दु:ख र चिन्ताहरू भोगिरहेका छन्, त्यो त्यही ब्याज खाने, अल्लाह र रसूलको अवज्ञाको परिणाम हो। याद राख, महाप्रलयको दिन यस युद्धको परिणाम कस्तो होला !
  2. २- ब्याजको कारोबार गर्ने तथा सघाउने सम्पूर्ण व्यक्तिहरुमाथि धिक्कार छ। जाबिर (रजियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ… “रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ब्याज लिने, दिने, लेख्ने तथा साक्षी बस्ने व्यक्तिहरुलाई धिक्कार्नु भएको छ र भन्नु भयो : यी सबै बराबर हुन्।” (श्रोत- मुस्लिम : १५९८)
  3. ३- ब्याजका उपभोक्ताहरु नशामा धुत्त, बौलाहा र मिरगी (छारे रोग) लागेको व्यक्ति झैं अल्लाहको दरबारमा उपस्थित हुने छन्। अल्लाहले भन्नु भएको छ… “ब्याज खानेहरु शैतानले छोएर बौलाहा बनाएको मानिस झैं चिहानबाट उठ्नेछन्।” (श्रोत- सूरह अल्-बकरह : २/२७५) 
  4. ४- ब्याजका धन-सम्पत्ति जति भए पनि त्यसमा समृद्धि, सुख र शान्ति कहिल्यै पनि प्राप्त हुँदैन। अल्लाहले भन्नु भएको छ… “अल्लाहले ब्याजलाई निर्मुल र दानमा वृद्धि गर्नुहुन्छ।” (श्रोत- सूरह अल्-बकरह : २/२७६)  

व्यक्ति र समाजमाथि पर्न गएका ब्याजका नकारात्मक प्रभावहरु-

इस्लामले ब्याजको मामिलामा अति कठोरता आपनाएको छ, किनभने यसले व्यक्ति, समाज र सिङ्गो संसारलाई तहसनहस र छियाँ-छियाँ पारेको छ, तीमध्ये केही यस प्रकार छन्…

  1.  मालको विभाजनमा छिन्न-भिन्न र धनी गरीब बीच ठूलो खाडल-

ब्याजले गर्दा धन-सम्पत्ति, समाजको एक समूहमा मात्र सीमित भएर जान्छ र आम मानिसहरु त्यसबाट बन्चित हुन्छन्। यसरी धनवानहरु रातारात करोडपति बन्छन् भने समाजका गरीब र कमजोर मानिसहरू जाडो-गर्मी, सुख-दु:ख, वर्षा-आँधीमा मरिहत्ते गरी काम गर्दा पनि दुई छाक टार्न धौ-धौ परेको हुन्छ। त्यसैले यस्तो समाजमा चोरी, डाँका, लुटपाट तथा इर्ष्याका घटनाहरु बढी हुने गर्छन्।  

  1. अत्याधिक फजुलखर्च हुन्छ र बचत हुँदैन-

ब्याजले गर्दा अनावश्यक खर्चको बानी बस्छ र बचत हुँदैन। किनभने उसलाई थाहा छ कि केही नाफा दिएर सजिलैसँग कर्जा पाउन सक्छु। अगाडि-पछाडि नहेरिकन नचाहिँदो कुराहरुमा अनावश्यक खर्च गर्छ। यसरी ऋणमा चुर्लुम्म डुब्छ र जीवन कष्टकर हुन जान्छ अनि खाएको ऋण कैयौं पुस्ताले तिर्नु पर्ने हुन्छ।

  1. ब्याजले गर्दा धनवानहरु मुलुकका नाफामुलक कार्यमा लगानी गर्दैनन्-

ठूल-ठूला धनी र उद्योगपतिहरु ब्याजले नै यतिसम्म कमाउँछन् कि समाज र देशको लागि केही व्यवसाय, उद्योग खोल्ने वा लगानी गर्ने वा आयात-निर्यात गरेर समाजका गरीब व्यक्तिहरु र राष्ट्रलाई फाइदा पुर्याउने सोच पनि आउँदैनन्। किनभने व्यसायमा परिश्रम गर्नु पर्छ, तर ब्याजको कारोबारमा बसि-बसि खान पाइन्छ।

  1.  ब्याजले धन-सम्पत्तिको अभिवृद्धिलाई समाप्त र अर्थतन्त्रलाई ध्वस्त पार्छ-

ठूल-ठूला उद्योग र व्यक्तिहरुको आर्थिक हरेस तथा पतन हुनको प्रमुख कारण ब्याजमा चुर्लुम्म डुब्नु नै हो। अल्लाहले ब्याजको अभिवृद्धिलाई खतम पार्नु हुन्छ भन्ने कुराको यो एउटा ठूलो प्रमाण हो। तर दीनदुःखीलाई दान दिएमा अल्लाहले घरपरिवारको सुख, शान्ति र धन-सम्पत्तिमा अत्याधिक अभिवृद्धि गरी दिनुहुन्छ। अल्लाहले भन्नु भएको छ… “अल्लाहले ब्याजलाई निर्मुल र दानमा वृद्धि गर्नुहुन्छ।” (श्रोत- सूरह अल्-बकरह : २/२७६)   

यदि कोही इस्लाम पूर्वदेखि नै ब्याजमा फसेको छ भने उसले के गर्नु पर्छ?

उपर्युक्त कुरालाई दुई भागमा विभाजन गर्न सकिन्छ…

  1. १- यदि ब्याज लिनु पर्ने थियो भने उसले इस्लाम अपनाउने वित्तिकै साँवा बाहेक अरु केही लिन पाउँदैन। अल्लाहले भन्नु भएको छ… “यदि प्रायश्चित गर्छौ भने तिमीहरुका लागि साँवा छ। न तिमीहरू अत्याचार गर्ने छौ न तिम्रो साथमा नै अन्याय हुनेछ।” (श्रोत- सूरह अल्-बकरह : २/२७९)
  2. २- यदि आफैं ऋणी छ र उसले नै ब्याज तिर्नु पर्ने हो भने यसलाई दुई तरिकाले हल गर्न सकिन्छ…
  • यदि बिना कुनै ठूलो नोक्सान सम्झौता भङ्ग गर्न सक्नु हुन्छ भने त्यसलाई भङ्ग गर्नु अनिवार्य छ।
  • यदि सम्झौतालाई भङ्ग गर्न ठूलो नोक्सान बेहोर्नु पर्छ भने आइन्दा यस्तो लेनदेन नगर्ने अठोटका साथ करार बमोजिम पूरा गर्न सक्छ। अल्लाहले भन्नु भएको छ… “जसले अल्लाहको आदेश सुन्ने बित्तिकै प्रायश्चित गर्छ भने त्यसको अघिको मामिला अल्लाहको हातमा छ। तर जो पुनः ब्याजमा होमिन्छ, ऊ नै नरकवासी हो, जहाँ सदा-सदा नरकको पीडा भोग्नु पर्नेछ।” (श्रोत- सूरह अल्-बकरह : २/२७५)
के तपाई ब्याजको कारोबार गर्नुहुन्छ ?
हो-
 साँवा बाहेक ब्याज लिनु हुँदैन।
होइन-
होइन… यदि तपाईले नै ब्याज तिर्नु पर्ने हो भने के बिना ठूलो नोक्सान सम्झौता भङ्ग गर्न सक्नु हुन्छ ?
हो-
 यदि सक्नु हुन्छ भने तपाईले करार अनिवार्य रुपमा भङ्ग गर्नु पर्छ र तपाईमाथि कुनै पाप छैन।
होइन-
होइन… यदि सक्नु हुन्न वा ठूलो मार्का पर्नेछ भने आइन्दा यस्तो कारोबार नगर्ने अठोटका साथ सम्झौता पूरा गर्न सकिन्छ।