इस्लामले आर्थिक कारोबारमा उच्च आचरण अपनाउने प्रेरणा दिन्छ

इस्लामले जसरी आर्थिक लेनदेनलाई स्पष्ट पारेको छ, त्यसरी नै क्रेता-बिक्रेता दुवै पक्षलाई कतिपय उच्च आचरण अपनाउने प्रेरित गरेको छ, जस्तै…

इमान्दारी-

इस्लामले व्यवसाय र कारोबारमा इमान्दारितालाई अनिवार्य गरेको छ। चाहे तिनीहरु मुस्लिम होस् या गैर-मुस्लिम, किनभने मुस्लिमको व्यवहार इस्लामि विधान अनुसार हुनुपर्छ। यसको प्रेरणा यी आयतहरुमा देखा पर्छ…

  • अल्लाहले भन्नु भएको छ… “अल्लाहले 'अमानत' (नासो) सम्बन्धित व्यक्तिहरुलाई सुम्पिने आदेश दिनु भएको छ।” (श्रोत- सूरह अन्-निसा : ४/५८)
  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले विश्वासघात र इमान्दारितामा हिनामिनालाई छलकपटीको निशानी भन्नु भएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “कपटीका तीन पहिचानहरु छन्; झूठो बोल्नु, वाचा पूरा नगर्नु र अमानतमा हिनामिना गर्नु।” (श्रोत- बुखारी : ३३, मुस्लिम : ५९)    
  • आस्थावानहरुको महत्वपूर्ण विशेषता इमान्दारि हो। अल्लाहले भन्नु भएको छ… “जुन आस्थावानहरु नासोलाई सुरक्षित राख्छन् र वाचा पूरा गर्दछन् तिनीहरु नै सफल हुन्।” (श्रोत- सूरह अल्-मुमिनून : २३/१,८) त्यसैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले नासोलाई सुरक्षित नराख्ने व्यक्तिलाई आस्थावान होइन घोषित गर्नु भएको छ, उहाँले भन्नु भएको छ… “जसले नासोलाई सुरक्षित राख्दैन ऊ आस्थावान होइन।” (श्रोत- अहमद : १२५६७)
  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) इस्लाम पूर्व आफ्नो समुदायमा अमीन र सादिक (इमान्दार र सत्यवान) को नामले प्रसिद्ध हुनुहुन्थ्यो, किनकि उहाँको हरेक क्रियाकलाप र कारोबारमा सत्यता झल्किन्थ्यो।

सत्यता-

इस्लामले सधैं सीधा र सत्य कुरा गर्ने प्रेरणा दिन्छ… 

  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले व्यापारी र ग्राहक दुवैलाई उपदेश दिनु भएको छ… “किनबेच गर्दा यदि दुवै पक्षले केही नलुकाईकन साँचो कुरा गर्यो भने दुवै पक्षलाई अभिवृद्धि हुन्छ। यदि केही लुकायो वा झूठो कुरा गर्यो भने अभिवृद्धि निर्मुल हुन्छ।” (श्रोत- बुखारी : १९७३, मुस्लिम : १५३२)
  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “सत्यलाई अपनाऊ, किनकि सत्यले पुण्यको र पुण्यले स्वर्गको बाटो देखाउँछ। मानिस सत्य कुरा गरिरहन्छ र सत्यको खोजमा लागि रहन्छ यहाँसम्म कि अल्लाहको नजरमा सिद्दीक (सत्यवान) प्रमाणित हुन्छ।” (श्रोत- मुस्लिम : २६०७)
  • झूठो कसम खाएर ब्यापार गर्नलाई इस्लामले महापाप घोषित गरेको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “तीन व्यक्तिहरुसित कयामतको दिन अल्लाहले न कुरा गर्नु हुनेछ, न मायाले हेर्नु हुनेछ, न उनीहरुलाई शुद्ध पार्नु हुनेछ र उनीहरुका लागि कष्टकर यातना हुनेछ। तीमध्ये एउटा, 'झूठो व्यापारी हो' बयान गर्नु भएको छ।” (श्रोत- मुस्लिम : १०६)

दक्षता र कामको कुशलता-

सम्पूर्ण मुस्लिम कारिगर र कामदारहरुले आ-आफ्ना कामहरु कुशलतापूर्वक पूरा गर्नु र गुणस्तरयुक्त हुनु अनिवार्य छ। 

  • अल्लाहले जीवनका सम्पूर्ण क्षेत्रहरुमा सदव्यवहार गर्न अनिवार्य गर्नु भएको छ। यहाँसम्म कि शिकार गर्न र जनावरहरु जबह गर्नमा पनि।
  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) एउटा जनाजा (अन्तिम संस्कार) मा जानु भयो। उहाँले चिहानमा राम्रोसँग खाल्डो बनाउन र बिस्तारै मृतकलाई त्यसमा हाल्न निर्देशन दिनु भयो। फेरी उहाँले आफ्ना साथीहरुलाई सम्बोधन गर्दै भन्नु भयो… यसले मृतकलाई न फाइदा पुर्याउनेछ, न घाटा नै, तर मुस्लिमले हरेक काम सदव्यवहारका साथ गर्नु पर्दछ।” (श्रोत- बैहिकी फि शुओबिल-ईमान : ५३१५) अर्को वृत्तान्तमा छ… “अल्लाहले कुशलता पूर्वक गरेको कामलाई अति मन पराउनुहुन्छ।” (श्रोत- अबु-याला - ४३८६, शुओबिल-ईमान : ५३१२)। (आचरण बारे अधिक जानकारीको लागि अध्याय-८ पृष्ठ न० २१० हेर्नुहोस्)