वैधानिक शिकार

जुन जनावर र चराहरुको मासु खानु जायज छ र त्यसलाई समातेर जबह गर्नु गाह्रो हुन्छ भने त्यसको शिकार गर्नु जायज छ, जस्तै… वनजङ्गलमा रहेका मासु नखाने चराहरु, हरिण, खरायो इत्यादि।

शिकारका शर्तहरु–

  1. १) शिकारी मुस्लिम वा अहले-किताबमध्येका हुनुपर्दछ, बुद्धि भएको तथा शिकारको मनसाय गरेको हुनुपर्दछ। त्यसैले हिन्दू, बौद्ध, नास्तिक तथा बौलाहाले गरेको शिकार अवैध हो।
  2. २) जङ्गली जनावर हुनुपर्छ जो मानिसलाई देख्ने बित्तिकै भाग्छ। यदि समातेर जबह गर्न सकिन्छ भने त्यसको शिकार गर्नु वैध छैन, जस्तै… कुखुरा, भेडाबाख्रा, गाई इत्यादि।
  3. ३) शिकार गर्ने हतियारले जनावरलाई मार्न सकिन्छ, जस्तै… तीर वा गोली इत्यादि, त्यसैले ढुङ्गाले हानेर मारेको छ भने त्यसलाई खानु वैध छैन, तर मर्नु भन्दा अगाडि जबह गरियो भने जायज हुन्छ।
  4. ४) हतियार चलाउनु भन्दा पहिले (बिस्मिल्लाह) भन्नु पर्छ।
  5. ५) शिकार गरेको जनावर वा चरा जीवित नै छ भने त्यसलाई अनिवार्य रुपमा जबह गर्नु पर्छ।
  6. ६) नखाने मनसायले रमाइलो गर्नको लागि शिकार गर्नु जायज छैन, जस्तै… शिकार गर्नु र बाटोमा अलपत्र पारेर हिंड्नु हुँदैन।

खानपिनका तरिकाहरु

अल्लाहले केही महत्वपूर्ण उद्देश्यले खानपिनका तरिकाहरु बयान गर्नु भएको छ, जस्तै… अल्लाहको वरदानको सम्झना, विभिन्न किसिमका रोगहरु, फजुलखर्च र घमण्डबाट जोगिन इत्यादि।

तीमध्ये केही यस प्रकार छन्-

  1. १) सुनचाँदी वा सोको पानीले टल्काएका भाँडा-कुँडामा खानपिन गर्न निषेध गरिएको छ, किनभने यसमा फजुलखर्च, सरासर अन्याय र गरीबहरुको मुटु छियाँ-छियाँ पार्नु हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “सुनचाँदीको  भाँडा-कुँडामा खानपिन न गर, यो काफिरहरुका लागि दुनियाँमा छ र हाम्रोलागि स्वर्गमा हुनेछ।” (श्रोत- बुखारी : ५११०, मुस्लिम : २०६७)
  2. २) खाना खानु भन्दा पहिले र खाइसकेपछि राम्ररी हात धुनु पर्दछ।
  3. ३) बिस्मिल्लाह भनेर खानपिन गर्नु पर्छ। किनभने मुस्लिमको हरेक काम अल्लाहको नामले नै आरम्भ हुन्छ। बिस्मिल्ला भन्न बिर्सियो भने सम्झना हुने बित्तिकै 'बिस्मिल्लाहि, अव्वलहु व आखिरहु' भन्नु पर्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले एउटा बालकलाई नराम्रोसँग खाना खाइरहेको देखेर सिकाउदै भन्नु भयो… “हे बाबु ! खाना खानु आघि (बिस्मिल्लाह) पढ, दायाँ हातले र आफ्नो अगाडिबाट खाऊ।” (श्रोत- बुखारी : ५०६१, मुस्लिम : २०२२)
  4. ४) दायाँ हातले खानपिन गर्नु, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “बायाँ हातले न खाऊ, किनकि शैतानले बायाँ हातले खान्छ।” (श्रोत- मुस्लिम : २०१९)
  5. ५) उभेर खानपिन गर्नु हुँदैन।
  6. ६) आफ्नो अगाडिबाट खानु र मानिसहरुको अगाडिबाट नखानु, किनभने यो नराम्रो बानी हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले बालकलाई आदेश दिनु भयो… “आफ्नो अगाडिबाट खाऊ।” (श्रोत- बुखारी : ५०६१, मुस्लिम : २०२२)
  7. ७) हातबाट खसेको गाँसलाई फोहोर सफा गरी खानु बेस हो। किनभने अल्लाहले प्रदान गर्नु भएको गाँसलाई कदर गर्नु पर्छ।
  8. ८) खानामा कुनै किसिमको खोट निकाल्नु र त्यसको अपमान गर्नु हुँदैन। खाना मन परेन भने चुप लाग्नु वा नखानु, किनभने रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले कहिल्यै पनि खानेकुरामा खोट ननिकाल्नु भएन। मन पर्यो भने खानु हुन्थ्यो, नत्र त्यतिकै छोडेर जानु हुन्थ्यो।” (श्रोत- बुखारी : ५०९३, मुस्लिम : २०६४)
  9. ९) धेरै नखानु, किनभने यसले खतरनाक रोग निम्त्याउँछ र अल्छीपन आउँछ, बीचको बाटो अपनाउनु उत्तम हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले बालकलाई भन्नु भएको छ… “मानिसको नराम्रो भाँडो उसको पेट हो। बाँच्नको लागि एक दुई गाँस नै पर्याप्त हुन्छ। यदि खाने नै हो भने एक तिहाई खानेकुराको लागि, एक तिहाई पानीको लागि र एक तिहाई सासको लागि खाली ठाउँ छोड्नु पर्छ।” (श्रोत- तिर्मिजी : २३८०, इब्ने माजा : ३३४९)
  10. १०) खाना खाइसकेपछि (अल्हम्दु लिल्लाह) अल्लाहको प्रशंसा व्यक्त गर्नु पर्दछ, किनभने धेरै जसो व्यक्तिहरु यस्तो खानाबाट वन्चित रहेका छन्। सक्नु हुन्छ भने निम्न दुआ : (अल्हम्दु लिल्ला हिल्लजी अत्अमनी हाजा व रजकनीहि मिन् गैरे हौलिम्मिन्नी वला कुव्वह) पढ्नुहोस्।