रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आदर्श जीवन र असल आचरणका केही झलकहरु

 

कुरआन नै उहाँको आचरण हो- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मानव समाजको लागि एउटा अतुलनीय र उच्च स्वभाव प्रस्तुत गर्नु भयो। त्यसैले कुरआनले उहाँको असल व्यवहार र आदर्श जीवनलाई हाम्रो लागि अनिवार्य गरेको छ। उहाँको असल आचरणलाई वर्णन गर्दै उहाँकी श्रीमती आईशा (रजियल्लाहु अन्हा) भन्नु हुन्छ… “कुरआन नै उहाँको आचरण हो।”। अर्थात उहाँको व्यवहारिक जीवन नै कुरआनको पूर्ण व्याख्या र अनुपम शिक्षा हो।   

 

नम्रता-

  • कसैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई उभेर मान र सम्मान गरोस्, यो पनि उहाँलाई मन्जुर थिएन। उहाँ आफ्ना सहाबी (साथी) हरुलाई उभेर सम्मान गर्न रोक्नु हुन्थ्यो। त्यसैले उहाँका सहाबी (साथी) हरु उहाँलाई आएको देखेर उहाँको लागि उभिन चाहँदा-चाहँदै पनि बसेर नै उहाँलाई सम्मान गर्थे,  किनकि उहाँको लागि उभिनु उहाँलाई कदापि मन पर्दैनथ्यो।” (श्रोत- अहमद : १२३४५, बज्जार : ६६३७)
  • अरबको प्रतिष्ठित व्यक्ति हातिमको पुत्र अदी (रजियल्लाहु अन्हु) ले इस्लाम पूर्व रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को वास्तविकता जान्नको लागि उहाँसित भेट्नु भयो। उहाँको साथमा एउटी महिला र केही नानीहरु बसेका थिए। उहाँले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को नम्रता र असल आचरण देखेर भन्नु भयो… उहाँ कोही रोम र इरानको राजा होइन, नम्रता सम्पूर्ण इश्दुतहरुको स्वभाव हो।” (श्रोत- अहमद : १९३८१)
  • उहाँ आफ्ना साथीहरुसँग मिलेर बस्नु हुन्थ्यो। उहाँको लागि कुनै विशेष ठाउँ खास गरिएको थिएन। यहाँसम्म अपरिचित व्यक्तिलाई चिन्न गाह्रो हुन्थ्यो र सोध्नु पर्थ्यो… “तपाईहरुमध्ये मुहम्मद को हुनुहुन्छ ?” (श्रोत- बुखारी : ६३)
  • अनस (रजियल्लाहु अन्हु) ले भन्नु भएको छ… “मदीनाकी एउटी दासीले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को हात थामेर इच्छा अनुसार चाहेको ठाउँमा लाने गरेकी थिइन्।” (श्रोत- बुखारी : ५७२४) अर्थात… उहाँ कमजोर र स-साना बाल-बालिकाहरुको इच्छालाई पनि कदर गर्नु हुन्थ्यो। बिना कुनै भेदभाव दासीलाई पनि माया गर्नु हुन्थ्यो। यसमा उहाँको नम्रताको प्रमाण छ। महिला र दासी समाजका सबैभन्दा कमजोर पक्ष हुन् त्यसैले यसको विशेष उदाहरण दिएको छ।
  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसको हृदयमा कण बराबर घमण्ड हुनेछ ऊ कदापि स्वर्गमा जान सक्दैन।” (श्रोत- मुस्लिम : ९१)

दया-

  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “दयावानहरुमाथि अल्लाहले दया गर्नुहुन्छ,  पृथ्वीमा रहेकाहरूमाथि दया गर, आकाशमा रहेकाले तिमीहरुमाथि दया गर्नु हुनेछ।” (श्रोत- तिर्मिजी : १९२४, अबु-दाऊद : ४९४१)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) का दयाका अनेकौं पक्षहरू छन्, केही यस प्रकार छन्…

बाल-बालिकाहरुसँगको माया–

  • एउटा गाउँलेले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित सोध्यो… “के तपाईहरु आफ्ना बाल-बालिका   हरूलाई म्वाइँ खानु हुन्छ ? हामीले त यसरी कहिल्यै पनि माया गर्दैनौं, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले जवाफ दिनु भयो… “अल्लाहले तिम्रो हृदयबाट माया झिकिदिनु भएको छ कि क्या हो ?” (श्रोत- बुखारी : ५६५२, मुस्लिम : २३१७)  

अर्कोले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई आफ्नो नातिलाई म्वाइँ खाँदै गरेको देख्यो र भन्यो… “अल्लाहले मलाई १० वटा सन्तान दिनु भएको छ,  तर मैले अहिलेसम्म एउटालाई पनि म्वाइँ खाएको छैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले जवाफ दिनु भयो… “जसले अरुलाई माया गर्दैन, ऊ सित पनि कोही माया गर्दैन।” (श्रोत- मुस्लिम : २३१८)

  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले एक दिन आफ्नी नातिनी; उमामा पुत्रि जैनबलाई बोकेर सलाह पढाउनु भयो। सज्दा गर्दा भुइँमा राख्नु हुन्थ्यो र उभिने बेला बोक्नु हुन्थ्यो।” (श्रोत- बुखारी : ४९४, मुस्लिम : ५४३)
  • उहाँ सलाह पढाउने क्रममा जब कुनै बच्चाको रुने-कराउने आवाज सुन्नु हुन्थ्यो भने सलाह छिटो-छिटो गरी पूरा गर्नु हुन्थ्यो। अबु-कतादह (रजियल्लाहु अन्हु) ले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को भनाईलाई उद्रित गर्दै भन्नु भएको छ, उहाँले भन्नु भयो… “म यता सलाहलाई अलि लामो गर्ने सोचमा हुन्छु, उता बच्चाको रुने आवाज आउँछ, उसकी आमालाई अप्ठ्यारो नहोस् भनेर म अलि छिटो-छिटो सलाह पूरा गर्छु।” (श्रोत- बुखारी : ६७५, मुस्लिम : ४७०)

महिलाहरुसँगको माया-

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले छोरीहरुको राम्रो रेखदेख र भद्र व्यवहार गर्न प्रेरित गर्नु भएको छ, उहाँले भन्नु भएको छ… “जसले आफ्नो छोरीहरुलाई राम्रो तरिकाले हुर्काई, बढाई राम्रो जीवन व्यवस्था मिलाई दिन्छ, उसको लागि ती छोरीहरु नरकका बाधक बन्नेछन्।” (श्रोत- बुखारी : ५६४९, मुस्लिम : २६२९)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले श्रीमतीको हकहित र मर्मलाई बुझि दिन र उनीहरुमाथि विशेष ध्यान दिन आदेश दिनु भएको छ… “महिलाहरुसित राम्रो व्यवहार गर।” (श्रोत- बुखारी : १९१०)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्नो घरपरिवारको साथ गर्नु भएको माया पुरै संसारबासीको लागि एउटा अनुपम उदाहरण हो। उहाँ ऊँटको नजिक बसेर घुँडा थाप्नु हुन्थ्यो र उहाँकी श्रीमती सफिया (रजियल्लाहु अन्हा) उहाँको घुँडामाथि आफ्नो खुट्टा टेकेर ऊँटमाथि चढ्नु हुन्थ्यो।” (श्रोत- बुखारी : २१२०) जब उहाँकी प्यारी छोरी फातिमा (रजियल्लाहु अन्हा) बुवासँग भेट्न आउने गर्थिन्, तब उसको हात थामेर चुम्नु हुन्थ्यो र आफू बसेको ठाउँमा बसाउनु हुन्थ्यो।” (श्रोत- अबु-दाऊद : ५२१७)

दीनदुःखीहरुसितको माया-

  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले टुहुरो (यतीम) लाई पालन-पोषण गर्ने प्रेरणा दिनु भएको छ। उहाँले भन्नु भएको छ… “म र टुहुरोलाई पालन-पोषण गर्ने व्यक्ति स्वर्गमा यसरी सँगै रहनेछौं। उहाँले चोर औंला र बीचको औंलालाई फटाएर संकेत गर्नु भयो।” (श्रोत- बुखारी : ४९९८)
  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले विधुवा र दीन-दु:खीहरुको हेरचाह गर्ने व्यक्तिलाई जिहाद गर्ने, दिउँसो ब्रत बस्ने र राति सलाह पढ्ने व्यक्ति बराबरको स्थान दिनु भएको छ।” (श्रोत- बुखारी : ५६६१, मुस्लिम : २९८२)
  • दीनदुःखीहरुमाथि दया गर्नु तथा उनीहरुको हक दिनुलाई रोजीमा अभिवृद्धि र शत्रुमाथि विजय प्राप्तिको कारण घोषित गर्दै भन्नु भएको छ… “मेरो लागि दीनदुःखीहरु खोजेर ल्याऊ, वास्तवमा तिमीहरु उनीहरुको कारणले विजयी हुनेछौ र रोजी पाइरहेका छौ।” (श्रोत- अबु-दाऊद : २५९४)  

 

जनावरहरुसितको माया-

  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले जनावरहरुसित दया गर्न, तिनीहरुको शक्ति भन्दा बढी भारी नबोकाउन तथा दु:ख नदिन आदेश दिनु भएको छ। उहाँले भन्नु भएको छ… “अल्लाहले हरेक कुराहरुमा सदव्यवहार गर्न आदेश दिनु भएको छ। जब तिमी मृत्युदण्ड दिन्छौ भने त्यसमा सदव्यवहार गर, जब जनावरहरु जबह गर्छौ भने सदव्यवहार गर र आफ्नो छुरीलाई धारिलो पार, ताकि जनावरलाई बढी पीडा नहोस्।” (श्रोत- मुस्लिम : १९५५)
  • एक जना सहाबीले कमिलाको बस्ती खरानी भएको देख्दा सोध्नु भयो… “कसले यसलाई आगो लगाएर खरानी बनायो ?” उनीहरुले जवाफ दिए… “हामीले नै त्यस्तो गर्यौ” फेरी उहाँले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को भनाईलाई उद्रित गर्दै भन्नु भयो… “हामीले आगोद्वारा कसैलाई यातना दिनु हुँदैन, किनकि यो अल्लाहको लागि मात्र खास हो।” (श्रोत- अबु-दाऊद : २६७५)

न्याय-निसाफ-

    • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) अत्यन्तै न्यायी हुनुहुन्थ्यो। अल्लाहको आदेश अनुसार आफ्नो-बिरानो हरेकसँग न्याय-निसाफ गर्नु हुन्थ्यो। अल्लाहले भन्नु भएको छ… “हे आस्थावानहरु हो ! निसाफ कायम गर्नेवाला र अल्लाहका लागि साक्षी बक्नेवाला बन, यद्यपि त्यो स्वयम् तिमीहरु, तिम्रा आमा-बाबु वा नातेदारहरुकै विरुद्धमा किन नहोस्।” (श्रोत- सूरह अन्-निसा : ४/१३५)
    • केही सहाबीहरुले चोरीको अपराधमा समातिएकी एउटी प्रतिष्ठित महिलाको बारेमा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित सिफारिस गर्दै भने, ‘उनीमाथि हद कायम नगर्नुहोस्’ यो सुनेर उहाँले जवाफ दिनु भयो… “अल्लाहको कसम ! यदि मेरी छोरी फातिमाले चोरी गरेकी भए, म उसको पनि हात काट दिन्थेँ।” (श्रोत- बुखारी : ४०५३, मुस्लिम : १६८८)  

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) आफ्नो-बिरानो सँग एकैनास न्याय-निसाफ गर्नु हुन्थयो।

  • जुन बेला ब्याज अवैध भयो, उहाँले सर्वप्रथम आफ्नै काका (अब्बास) लाई ब्याजको कारोबारबाट मनाही गर्नु भयो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भयो… “आजदेखि ब्याजको कारोबार अवैध छ र सर्वप्रथम म अब्बासका सम्पूर्ण अवैध कारोबारलाई रद्द गर्दछु।” (श्रोत- मुस्लिम : १२१८)  
  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले विश्वकै समुदायको सभ्यता र उत्थानको मापदण्ड पारित गर्दै यसरी भन्नु भएको छ… “जबसम्म गरीबहरु धनीहरुबाट नडराइकन आफ्नो हक अधिकार असुल्दैन, तबसम्म कुनै पनि राष्ट्रको विकास र उत्थान सम्भव छैन।” (श्रोत- इब्ने माजा : २४२६)

परोपकार र दया-

  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) पुण्यको कार्यमा सधैं अग्रसर हुनुहुन्थ्यो। विशेष गरी रमजान महिनामा जुन बेला जिब्रील (अलैहिस्सलाम) सित भेट्नु हुन्थ्यो। उहाँ जिब्रील (अलैहिस्सलाम) सित रमजानको प्रत्येक राति भेट्नु हुन्थ्यो र उहाँलाई कुरआन सुनाउनु हुन्थ्यो। जुन बेला जिब्रील (अलैहिस्सलाम) भेट्नु हुन्थ्यो त्यस बेला गतिशील हावा भन्दा पनि बढी पुण्य गर्न तल्लीन हुनुहुन्थ्यो।” (श्रोत- बुखारी : १८०३६, मुस्लिम : २३०८)  
  • उहाँले माग्नेलाई कहिल्यै पनि खाली हात फर्काउनु भएन। उहाँले एक जनालाई दुवै पर्वतको बीचमा रहेका सम्पूर्ण भेंडाबाख्रा दान गर्नु भयो। त्यो व्यक्तिले आफ्नो समुदायमा गएर सबैलाई यसरी इस्लामको निमन्त्रणा दियो… हे मेरा साथीभाइहरु हो ! इस्लाम ग्रहण गर, मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम)  एकदम ठूलो दानी हुनुहुन्छ। कहिल्यै समाप्त न हुने धन-सम्पत्ति दिनुहुन्छ।” (श्रोत- मुस्लिम : २३१२)
  • बाहिर कतैबाट ८० हजार दिरहम (सुनको सिक्का) प्राप्त भयो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले त्यसलाई गुन्द्रीमा राखेर केही क्षिणमै माग्नेहरूमा बाँडि दिनु भयो। कुनैपनि माग्नेलाई खाली हात फर्काउनु भएन।” (श्रोत- हाकिम : ५४२३)
  • एक जना आएर उहाँसित केही माग्यो। उहाँले भन्नु भयो… “मसँग त अहिले केही पनि छैन,  तै पनि तिमी आफ्नो आवश्यक समान मेरो नाममा किन, म पछि चुक्ता गरुँला” यो सुनेर उमर (रजियल्लाहु अन्हु) ले भन्नु भयो… “जुन कुरा तपाईसँग छैन, त्यसलाई गर्नु पर्ने अल्लाहले आदेश दिनु भएको छैन” तर उहाँलाई यो कुरा मन परेन र मगन्तेले भन्यो… “नडराइकन खुब खर्च गर्नुहोस्, सिंहासनमाथि रहेको अल्लाहले बढी दिनु हुनेछ” यो सुनेर रसूल (सल्लल्लाहु अलैहि व सल्लम) मुसुक्क हाँस्नु भयो र उहाँको अनुहार खुशीले गदगद भयो।” (श्रोत- अहादीस मुख्तारह : ८८)
  • हुनैन युद्ध (गज्वा हुनैन) बाट जब रसूल (सल्लल्लाहु अलैहि व सल्लम) फर्कनु भयो, त्यस बेला गाउँले र नयाँ मुस्लिमहरु आएर युद्धबाट बरामद धन-सम्पत्ति माग्न थाले। यथाशीघ्र उनीहरुको ठूलो भेला जम्मा भयो र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) एउटा रुखमा अडेस लिन बाध्य हुनु भयो र उहाँको खास्टो भुइँमा झर्यो। त्यसपछि रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भीडलाई सम्बोधन गर्दै भन्नु भयो… “मेरो खास्टो देऊ, यदि मसँग यी रुखहरु बराबर सामान भएको भए म त्यसलाई तिमीहरुमा नै बाँडी दिने थिएँ अनि तिमीहरुले मलाई कन्जुस, झूठो र कायर पाउने थिएनौ।” (श्रोत- बुखारी : २९७९)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले जीवनको सम्पूर्ण क्षेत्रहरुमा उच्च आचरण र स्वभावका उत्कृष्ट एवम् अतुलनीय उदाहरणहरु प्रस्तुत गर्नु भएको छ।