इस्लाममा कसरी प्रवेश गर्न सकिन्छ ?

मानिस कलेमा (दुवै गवाहीहरु) भनेर इस्लममा प्रवेश गर्न सक्छ। अर्थात यसलाई हृदयदेखि मानेर, मुखले घोषणा गरेर र त्यसै बमोजिम कर्म गरेर जो कोही पनि मुस्लिम बन्न सक्छ।

  1. १) 'अश्हदु अल्ला इलाह इल्लल्लाह' (म गवाही दिन्छु, अल्लाह बाहेक अरु कोही सत्य उपास्य छैन, म उहाँको साथमा कसैलाई साझेदार नगरि उहाँकै उपासना गर्छु)।
  2. २) 'व अश्हदु अन्न मुहम्मदर् रसूलुल्लाह' (म गवाही दिन्छु, मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम समस्त संसारका लागि अल्लाहका सन्देष्टा हुन्, उहाँको पूर्ण अनुसरण गर्नेछु र उहाँको विधि-विधान अनुसार अल्लाहको उपासना गर्नेछु)। (यस बारे अधिक जानकारीको लागि अध्याय एक पृष्ठ न० ४२-४७ हेर्नुहोस्) 

नयाँ मुस्लिमको स्नान-

इस्लाममा प्रवेश गरेको क्षण मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण पल हुन्छ। निश्चय नै, यो उसको लागि एउटा नयाँ र वास्तविक जीवन हो। जसलाई उसले आफ्नो अस्तित्वको बारेमा थाहा पाएपछि हासिल गरेको छ। त्यसैले इस्लाममा प्रवेश गरिसकेपछि नुहाउनु पर्छ। जसरी उसले आफ्नो आत्मालाई शिर्क र पापबाट पवित्र गरेको छ, त्यसरी नै आफ्नो शरीरलाई नुहाएर सफा-सुग्घर गर्नु बेस हुन्छ।  

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले अरबका एक जना सरदारलाई, जब उसले इस्लाम ग्रहण गर्ने इच्छा व्यक्त गर्यो, नुहाउने आदेश दिनु भयो। (श्रोत- बैहकी : ८३७)

तौबा (प्रायश्चित)

तौबाको अर्थ- अल्लाहतिर फर्केर आउनलाई तौबा (प्रायश्चित) भनिन्छ। जसले पनि आफ्नो पाप र कुफ्रको लंकालाई छोडेर साँचो मनले अल्लाहतिर फर्केर आँउछ भने उसले तौबा गर्यो भन्ने बुझिन्छ।

एउटा मानिसलाई जीवनको पाईला-पाईलामा तौबा र माफीको आवश्यकता पर्दछ, किनभने मानिसबाट प्राकृतिक रुपमा गल्ती हुन्छ, जहिले पनि गल्ती भयो भने अल्लाहसित माफी माग्नु र तौबा गर्नु पर्छ।

प्रभावकारी तौबाका शर्तहरु-

शिर्क, कुफ्र र अन्य पापहरुबाट तौबा (प्रायश्चित) गर्न केही शर्तहरु आवश्यक हुन्छन्, ती यस प्रकार छन्…

  1. १) पापलाई पूर्णरुपमा छोड्नु-

लगातार पाप गरिरहनुले तौबा मान्य हुँदैन। त्यसैले समस्त पापलाई पूर्ण रुपमा छोड्नु पर्दछ। यदि अन्जानमा फेरी केही गल्ती वा पाप गरियो भने पहिलेको तौबा भङ्ग हुँदैन तर तौबाको नवीकरण गर्नु पर्दछ।

  1. २) पुरानो पापमाथि पछुतो गर्नु-

तौबाको कल्पना त्यो व्यक्तिसित मात्र गर्न सकिन्छ, जसलाई आफूले गरेको पापमाथि पछुतो हुन्छ, तर जो कोही अरुसित आफ्नो पापको बखान गर्दै हिंड्छ वास्तवमा उसले पछुतो गरेको छैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “पछुतो गर्नु र लज्जित हुनु तौबा हो।” (श्रोत- इब्ने माजा : ४२५२)

  1. ३) आइन्दा नगर्ने दृढ संकल्प गर्नु-

तौबापछि पनि पापको दुनियाँमा फर्कने नीयत छ भने तौबा स्वीकृत हुँदैन।

दृढ संकल्पलाई साकार पार्ने पाइलाहरु-

  • जस्तो सुकै परिस्थिति र बाध्यता भए पनि पापको दुनियाँमा कहिल्यै पनि फर्किन्न दृढ संकल्प लिनु पर्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जो व्यक्तिमा यी तीनवटा गुणहरु पाइन्छन् भने त्यसले ईमानको मिठास पायो; त्यसमध्ये एउटा व्यक्ति त्यो हो जो फेरी कुफ्र र अवज्ञामा फर्कन त्यसरी घृणा गर्छ जसरी आगोमा होमिनु।” (श्रोत- बुखारी : २१, मुस्लिम : ४३)
  • पापको अवसर दिने र ईमानलाई कमजोर पार्ने व्यक्ति र ठाउँदेखि टाढा बस्नु पर्दछ।
  • इस्लाममाथि मृत्युसम्म कायम रहन अल्लाहसित बढी दुआ गर्नु पर्छ, चाहे जुनसुकै भाषामा किन नहोस्। तीमध्ये कुरआन र हदीसका केही दुआहरु यस प्रकार छन्…
    • (रब्बना ला तुजिग् कुलुबना बा'द इज् हदैतना) अर्थ : “हे अल्लाह, सत्य मार्ग देखाएपछि कुबाटोतिर न मोड।” (श्रोत- सूरह आलि-इमरान : ३/८)
    • (या मुकल्लिबल् कूलूब ! सब्बित कल्बी अला दीनक्) अर्थ : “हे हृदयलाई फेर्नेवाला ! मेरो मनलाई तिमी आफ्नो धर्ममाथि स्थिर गरि देऊ।” (श्रोत- तिर्मिजी : २१४०)

तौबापछि के गर्नु पर्छ?

जुन बेला मानिसले स्वच्छ मनले तौबा गर्छ, अल्लाहले उसका सम्पूर्ण पापहरुलाई पखालि दिनुहुन्छ, चाहे त्यो जति सुकै ठूलो पाप किन नहोस्, किनकि उहाँको करुणा र दयाले हरेक वस्तुलाई घेरेको छ। अल्लाहले भन्नु भएको छ… “हे मेरा भक्तहरु ! जसले आफूमाथि अन्याय गरेको छ अल्लाहको कृपादेखि निराश नहोऊ, निश्चय नै अल्लाहले सम्पूर्ण पापहरु क्षमा दिनु हुनेछ। उहाँ अत्यन्त क्षमाशील तथा करुणामय हुनुहुन्छ।” (श्रोत- सूरह अज्-जुमर : ३९/५३)

साँचो तौबापछि एउटा मुस्लिम यसरी पापमुक्त हुन्छ, मानौं उसले कुनै पाप गरेको थिएन। बरु अल्लाहले उनीहरुमाथि एउटा अर्को उपकार गर्नुहुन्छ; त्यो के हो भने यिनीहरुका समस्त पापहरुलाई पुण्यमा परिणत गरी दिनुहुन्छ। अल्लाहले भन्नु भएको छ… “तर जसले प्रायश्चित गर्यो, ईमान ल्यायो र सत्कर्म गर्यो भने अल्लाहले उनीहरुका पापलाई पुण्यमा परिणत गरी दिनुहुन्छ। निश्चय नै उहाँ अत्यन्त क्षमाशील एवम् परम दयालु हुनुहुन्छ।” (श्रोत- सूरह अल्-फुर्कान : २५/७०)

जसले यस्तो सुवर्ण अवसर पाएको छ, उसले आफ्नो तौबालाई जसरी भएपनि शैतानको जालबाट सुरक्षित राख्न सचेत हुनुपर्दछ, चाहे त्यसको लागि जतिसुकै ठूलो मूल्य चुकाउनु परोस्।

ईमानको मिठास-

जसको मनमा अल्लाह र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को जति माया र आदर हुन्छ, उसले त्यत्ति नै अल्लाहका सच्चा भक्तहरुलाई माया र आदर गर्दछ। जसरी आगोमा होमिनुलाई घृणा गर्छ, त्यसरी कुफ्र, शिर्क र पापको दुनियाँमा फर्कनुलाई घृणा गर्छ भने उसले ईमानको मिठास प्राप्त गर्यो। उसले आफूलाई अल्लाहदेखि नजिक पाउनेछ। अल्लाहको आदेश र पथप्रदर्शनको वरदानबाट मन सन्तुष्ट र आनन्दित हुनेछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जो व्यक्तिमा यी तीनवटा गुणहरु पाइन्छन् भने त्यसले ईमानको मिठास पायो। अल्लाह र उहाँको रसूलसित सबैभन्दा बढी माया गर्छ, अल्लाहकै लागि कसैसित माया गर्छ र कुफ्रबाट निस्केपछि फेरी त्यसमा जानु आगोमा होमिनु जस्तै घृणा गर्छ।”

तौबा र पथप्रदर्शनको कृतज्ञता

प्रायश्चित र इस्लामको वरदान पाएकोमा निम्न तरिकाले कृतज्ञता व्यक्त गर्न सकिन्छ…

  1. १) इस्लाममाथि कायम रहनु र यसमा आउने कष्टहरुमाथि धैर्य गर्नु…

जो कोही एउटा बहुमूल्य खजानाको मालिक भयो भने उसले आफ्नो धनराशिलाई चोर, डाँका र हिनामिनाबाट सुरक्षित राख्न सचेत हुन्छ। इस्लाम समस्त मानवजातिको लागि अमूल्य वरदान हो। यो कुनै विचारधारा र मानिसको व्यक्तिगत रुचि मात्र होइन, यो त ईश्वरको साँचो धर्म तथा सम्पूर्ण जीवन व्यवस्था हो। यसले हाम्रो जीवनका सम्पूर्ण क्रियाकलापहरुलाई सन्तुलित गर्छ। त्यसैले अल्लाहले आफ्नो प्रिय सन्देष्टालाई इस्लाम र कुरआनलाई बल पूर्वक थामि राख्न र यसमा कुनै सम्झौता नगर्न आदेश दिनु भएको छ। अल्लाहले भन्नु भएको छ… “तिमीलाई जुन कुरआन प्रदान गरिएको छ त्यसलाई दृढताका साथ समात, निश्चय नै तिमी सीधा मार्गमा छौ।” (श्रोत- सूरह अज्-जुख्रुफ : ४३/४३)

इस्लाम स्वीकारेपछि परिआएको कुनै कष्ट र पीडामाथि निराश हुनु हुँदैन, किनभने यो अल्लाहको नियम हो। हामी भन्दा उत्कृष्ट व्यक्तिहरुले इस्लामको बाटोमा धरै दु:ख पाए तर उनीहरुले धैर्य राखे र प्रयास गर्दै गरे। हेर्नुहोस्, यी अल्लाहका सन्देष्टा र खास भक्तहरु हुन्। उनीहरुले शत्रु भन्दा पहिले आफ्नै घरपरिवार र नातेदारहरुबाट अनेकौं प्रकारका कष्टहरु पाए, तर उनीहरु हरेस खाएर कहिल्यै पनि आफ्नो जिम्मेवारीबाट विमुख भएनन्, बरु चट्टान झैं इस्लाममाथि कायम रहे। हो साथीहरु! यो हाम्रो ईमानको जाँच हो, यसमा हामीले पूर्ण रुपमा सफलता प्राप्त गर्नु पर्छ र सफलताको लागि निम्न दुआ पनि गर्नु पर्छ… (या मुकल्लिबल कूलूब ! सब्बित कल्बी अला दीनक) अर्थ : हे हृदयलाई फेर्नेवाला ! मेरो मनलाई तिमी आफ्नो धर्ममाथि स्थिर गरि देऊ।” (श्रोत- तिर्मिजी : २१४०)

यस सन्दर्भमा अल्लाहले भन्नु भएको छ… “के मानिसहरु ईमान ल्याए भन्दैमा उनीहरुलाई परीक्षा नलिइकन त्यतिकै छोडिनेछ भन्ने ठानेका छन् ? वास्तवमा, हामीले यिनीहरु भन्दा पहिलेका मानिसहरुलाई कठिन परीक्षा लिइसकेका छौं। अनि को सत्यवादी हो र को मिथ्यावादी अल्लाहले अवश्य नै चिन्नु हुनेछ।” (श्रोत- सूरह अल्-अनकबूत : २९/२-३)         

  1. २) बुद्धि र प्रभावकारी उपदेशद्वारा इस्लामको आह्वान गर्नु-

इस्लाम पाएकोमा अल्लाहको प्रशंसा व्यक्त गर्न र दृढताका साथ यसमाथि कायम रहन इस्लामको आह्वानले मद्दत पुर्याउँछ। मानौं, कुनै व्यक्तिलाई भयानक रोगले निकै सतायो, रोगि बनायो, दिनरातलाई व्यर्थ बनायो, यस्तो रोगबाट स्वास्थ्यलाभको सही ओखती पत्ता लगायो भने ऊ त्यसलाई अरु मानिसहरुसम्म पुर्याउन आतुर हुन्छ, विशेष गरी आफ्नो घरपरिवार, नातेदार र हितैषीलाई। यसको विवरण यस प्रकार छ…