तपाईको घरपरिवार र छरछिमेक

नयाँ मुस्लिमले इस्लाममा पाईला टेकेको दिनदेखि नै मुस्लिम, गैर-मुस्लिम, परिचित-अपरिचित, नातेदार, नजिकका वा टाढाका व्यक्तिहरुसित भद्र व्यवहार गर्नु पर्छ र आफ्नो सम्बन्ध गाढा बनाउनु पर्छ। किनभने इस्लामले कहिल्यै पनि साथीभाइ सबैबाट अलग भएर एक्लै बस्न भन्दैन।

मानिसहरुसित परोपकार, उच्च व्यवहार र सदभाव नै इस्लामको असल परिचय र आह्वान हो। यसैलाई पूर्णता दिन अल्लाहले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई सन्देष्टा बनाएर पठाउनु भएको थियो।

उच्च स्वभाव र आदर्श व्यवहारलाई कार्यान्वयन गर्न घरपरिवार नै पहिलो खुड्किलो हो। (आचरण बारे अधिक जानकारीको लागि अध्याय-११ पृष्ठ न० २१० हेर्नुहोस्)

नयाँ मुस्लिमको सहजताको लागि खानदान र घरपरिवारसँग सम्बन्धित केही इस्लामि सिद्धान्तहरु निम्न लिखित छन्।

इस्लामपछिको पारिवारिक जीवन  

श्रीमान र श्रीमती दुवैको एकैसाथ इस्लाम ग्रहण…

यदि श्रीमान र श्रीमती एकै साथ इस्लाम स्वीकार गर्छन् भने नयाँ विवाह (निकाह) गर्नु पर्दैन बरु त्यही पुरानो सम्बन्धलाई सुमधुर बनाउनु पर्छ।

तर निम्न अवस्थामा सम्बन्ध विच्छेद गर्नु पर्छ…

  1. १) यदि कसैले महरम (अवैध स्त्री)  जस्तै… आफ्नै आमा, दिदीबहिनी, फुपू वा सानीमासँग विवाह गरेको छ भने इस्लाम ल्याउने बित्तिकै अनिवार्य रुपमा सम्बन्ध विच्छेद गर्नु पर्छ। (यस बारे अधिक जानकारीको लागि अध्याय १० पृष्ठ न० १९० हेर्नुहोस्)  
  2. २) यदि कसैले श्रीमती र साली वा श्रीमती र उसकी फुपू वा श्रीमती र उसकी सानीमालाई एकसाथ वैवाहिक बन्धनमा राखेको छ भने अनिवार्य रुपमा एउटालाई तलाक दिनु पर्छ।  
  3. ३) यदि कसैले चार भन्दा अधिक स्त्रीहरुसँग विवाह गरेको छ र श्रीमानको साथमा सम्पूर्ण श्रीमतीहरुले इस्लाम आत्मसात गर्छन् भने मात्र ४ स्त्रीहरुलाई राख्न सक्छ र बाँकीलाई अनिवार्य रुपमा तलाक दिनु पर्छ।  

श्रीमानले इस्लाम ग्रहण गर्यो तर श्रीमतीले गरिनन् भने के गर्नु पर्छ?

यस्तो अवस्थामा श्रीमतीको धर्ममाथि ध्यान दिनु पर्छ… श्रीमती अहले-किताब (यहूदी वा क्रिस्चियन) हुन् वा अहले-किताब बाहेक जस्तै हिन्दू, बौद्ध वा धर्म नमान्ने नास्तिक हुन्…

  1. १) यहूदी वा क्रिस्चियन श्रीमती- 

यदि श्रीमानले इस्लाम ग्रहण गर्यो, तर यहूदी वा क्रिस्चियन श्रीमतीले इस्लाम ग्रहण गर्न मानिनन् भने सम्बन्ध विच्छेद गर्नु पर्दैन, बरु त्यसै सम्बन्धलाई निरन्तरता दिनु पर्छ,  किनभने अल्लाहले यहूदी वा क्रिस्चियन स्त्रीहरुसँग विवाह गर्न जायज गर्नु भएको छ।

अल्लाहले भन्नु भएको छ… “आज तिमीहरूकालागि पवित्र चिजहरु वैध (हलाल) गरिएका छन्, अहले-किताबको भोजन तिम्रा लागि र तिम्रा भोजन उनीहरुका लागि वैध (हलाल) गरिएको छ। त्यसैगरी चरित्रवान मुस्लिम स्त्रीहरु र चरित्रवान अहले-किताब स्त्रीहरु तिम्रा लागि वैध (हलाल) गरिएका छन्।” (श्रोत- सूरह अल्-माइदा : ५/५)      

तर श्रीमानले आफ्नो कर्तब्य निभाउनु पर्छ र जसरी भए पनि श्रीमतीलाई इस्लाममा ल्याउने प्रयास गर्नु पर्छ।

  1. २) अहले-किताब बाहेकका श्रीमती-

यदि श्रीमानले इस्लाम ग्रहण गर्यो, तर हिन्दू, बौद्ध वा अन्य धर्मसँग सम्बन्धित श्रीमतीले इस्लाम ग्रहण गर्न मानिनन् भने निम्न कुराहरुमाथि ध्यान दिनु पर्छ…

यस्तो अवस्थामा सम्बन्ध विच्छेदित स्त्रीको म्याद बराबर प्रतिक्षा गर्नु पर्छ, जुन अगाडि पट्टिको तालिकामा प्रस्तुत गरिएको छ। 

  • यदि यो अवधिमा इस्लाम ग्रहण गर्छिन् भने पुनः विवाह (निकाह) गर्नु पर्दैन।
  • यदि यो अवधिमा इस्लाम ग्रहण गरिनन् भने आफैं सम्बन्ध विच्छेद हुन जान्छ।

सम्बन्ध विच्छेदपछि इस्लाम ग्रहण गर्छिन् भने पुनः विवाह गर्न सकिन्छ। अल्लाहले भन्नु भएको छ… “तिमीहरु काफिर स्त्रीहरुलाई वैवाहिक बन्धनमा नराख।” (श्रोत- सूरह अल्-मुम्ताहिना : ६०/१०)

सम्बन्ध विच्छेदित महिलाको इद्दत (म्याद)-
  विवाहपछि शारीरिक सम्बन्ध कायम नगरिएको महिलाको इद्दत, विवाह (निकाह) पछि शारीरिक सम्बन्ध कायम हुनु पूर्व तलाक भयो वा श्रीमानले इस्लाम स्वीकार गर्यो भने सम्बन्ध विच्छेद हुन्छ र यसको लागि इद्दत (म्याद) पूरा गर्नु पर्दैन। अल्लाहले भन्नु भएको छ… “हे आस्थावानहरु हो ! जब तिमीहरु आस्थावान स्त्रीहरुसँग विवाह गर्छौ र उनीहरूसित शारीरिक सम्बन्ध राख्नु अघि नै तलाक दिन्छौ भने उनीहरुले कुनै इद्दत (म्याद) पूरा गर्नु पर्दैनन्।” (श्रोत- सूरह अल्-अह्जाब : ३३/ ४९)
  गर्भवती महिलाको इद्दत (म्याद), बच्चा जन्मिनुले पूरा हुन्छ, चाहे त्यो अवधि लामो होस् वा छोटो। अल्लाहले भन्नु भएको छ… “गर्भवती महिलाको इद्दत (म्याद) तिनीहरुको गर्भको शिशुको जन्ममा निहित छ।” (श्रोत- सूरह अत्-तलाक : ६५/४)
  महिनावारी हुने महिलाको इद्दत (म्याद), श्रीमानसँगको छोडपत्र वा श्रीमानको इस्लामपछि तीन पटक महिनावारी हुनु सम्म हो। तेस्रो पल्टको महिनावारीबाट नुहाएर पवित्र भईसकेपछि इद्दत (म्याद) समाप्त हुन्छ। अल्लाहले भन्नु भएको छ… “तलाक (पारपाचुके) पाएकी स्त्रीहरु तीन पटक रजस्वला नभएसम्म आफूलाई रोकी राखुन्।” (श्रोत- सूरह अल्-बकरह : २/२२८)
  महिनावारी नहुने महिलाको इद्दत (म्याद)… कलिलो उमेर, बुढेसकाल वा रोगले गर्दा रजस्वला हुँदैन भने तलाक (पारपाचुके) वा श्रीमानको इस्लामदेखि तीन महिना इद्दत (म्याद) हुन्छ। अल्लाहले भन्नु भएको छ… “रजस्वलाबाट निराश भइसकेकी स्त्रीहरुको सम्बन्धमा यदि तिमीहरुलाई कुनै शंका छ भने तिनीहरुका लागि इद्दत (म्याद) तीन महिना तोकिएको छ र रजस्वला शुरु नभएकी स्त्रीहरुका लागि पनि यही आदेश हो (श्रोत- सूरह अत्-तलाक : ६५/४)

श्रीमतीले इस्लाम ग्रहण गरिनन् भने…

के उनी अहले-किताब (यहूदी वा क्रिस्चियन) हुन् ?
हो-
 त्यसो भए केही पनि गर्नु पर्दैन, बरु पुरानो विवाह नै पर्याप्त छ। तर श्रीमानले श्रीमतीलाई इस्लामको निरन्तर आह्वान गर्नु पर्छ।
होइन-
होइन… यदि उनी हिन्दू, बौद्ध वा अन्य धर्मसँग सम्बन्धित छिन् भने इस्लामको आह्वान गर्नु पर्छ र माथि उल्लेखित इद्दत अनुसार प्रतिक्षा गर्नु पर्छ ?
हो-
 इस्लाम ग्रहण गर्छिन् भने केही पनि गर्नु पर्दैन, बरु पुरानो विवाह नै पर्याप्त छ। 
होइन-
होइन… इद्दत समाप्त भयो, तर इस्लाम ग्रहण गरिनन् भने आफैं सम्बन्ध विच्छेद हुन जान्छ। सम्बन्ध विच्छेदपछि इस्लाम ग्रहण गर्छिन् भने पुनः विवाह गर्न सकिन्छ।

श्रीमतीले इस्लाम ग्रहण गरिन् तर श्रीमानले गरेनन् भने के गर्नु पर्छ? 

यदि काफिर दम्पती एकै साथ इस्लाम स्वीकार गर्छन् भने नयाँ विवाह (निकाह) गर्नु पर्दैन, बरु पुरानो सम्बन्धलाई सुमधुर पार्नु पर्छ। तर कसैले महरम जस्तै… आफ्नै आमा वा दिदीबहिनी वा फुपू वा सानीमासँग विवाह गरेको छ भने अनिवार्य रुपमा सम्बन्ध विच्छेद गर्नु पर्छ। (यस बारे अधिक जानकारीको लागि पृष्ठ न० १९० हेर्नुहोस्)

तर श्रीमतीले इस्लाम ग्रहण गरिन् र श्रीमानले  गरेनन्-

श्रीमतीको इस्लामले दम्पतीको सम्बन्ध नियमितबाट अनियमितमा परिणत हुन्छ र श्रीमतीले निम्न कुरामा ध्यान दिनु पर्छ…

  • श्रीमतीले श्रीमानलाई इस्लाममा ल्याउने सक्दो प्रयास र उसको इस्लामको प्रतिक्षा गर्नु पर्छ। यदि श्रीमानले इस्लाम ग्रहण गर्छ भने पुरानो विवाह नै पर्याप्त हुन्छ, तर यी अवधिमा इस्लाम ग्रहण नगरुन्जेल श्रीमानलाई  सर्वस्व सुम्पिनु मिल्दैन। 
  • यदि श्रीमानको इस्लाममा आउने आशा नै निराशामा परिणत हुन्छ भने सम्वन्ध विच्छेद गरेर अर्को नयाँ जीवनको शुरुवात गर्न सकिन्छ।

उपर्युक्त दुवै अवस्थामा काफिर श्रीमानलाई इस्लाम ग्रहण नगरुन्जेल शारीरिक सम्बन्धको लागि सर्वस्व सुम्पिनु मिल्दैन। अल्लाहले भन्नु भएको छ… “यदि उनीहरु (नयाँ मुस्लिम स्त्रीहरु) साँच्चिकै अल्लाहमाथि विश्वास गर्छन् भने उनीहरुलाई काफिरतर्फ नफर्काऊ, किनभने न त उनीहरु काफिरहरुकालागि वैध छन्, न काफिरहरु नै मुस्लिम स्त्रीहरुका लागि वैध हुने छन्।” (श्रोत- सूरह अल्-मुम्ताहिना : ६०/१०)    

त्यसो भए, मुस्लिम स्त्रीले इस्लाम ग्रहण गरेको दिनदेखि निम्न कुराहरु गर्नु पर्छ…

  1. १) स्त्रीले इस्लाम ग्रहण गरेको दिनदेखि नै श्रीमानलाई इस्लाममा ल्याउने सक्दो सम्पूर्ण प्रयास गर्नु पर्छ।
  2. २) यदि श्रीमानले इस्लाम ग्रहण गर्दैनन् र आशा नै निराशामा परिणत हुन्छ भने सम्वन्ध विच्छेद गरेर अर्को नयाँ जीवनको शुरुवात गर्नु पर्छ।
  3. ३) छोडपत्र गराउन जति समय लाग्छ, त्यो अवधिमा उसको पुरानो विवाह कायमै छ। यदि कारवाही गर्दा गर्दै अन्तिम घडीमा पनि श्रीमानले इस्लाम ग्रहण गर्छ भने नयाँ निकाह गर्नु पर्दैन, यी दुवै श्रीमान र श्रीमती हुन्। छोडपत्रको कारवाही समाप्त हुने बित्तिकै दुवैको सम्बन्ध पनि समाप्त हुन्छ।
  4. ४) छोडपत्रको कारवाही समाप्त नहुन्जेल श्रीमानको घरमा बस्नु जायज छ, तर काफिर श्रीमानलाई इस्लाम ग्रहण नगरुन्जेल सर्वस्व सुम्पिनु मिल्दैन।

बाल-बालिकाहरुको इस्लाम-

सम्पूर्ण मानिसहरुको सृष्टि प्रकृति र इस्लाममाथि नै हुन्छ। अन्य धर्महरु वातावरण, अन्धविश्वास र आमाबुवाको शिक्षा-दिक्षाले पछि उत्पन्न भएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “सम्पूर्ण नवजात शिशुहरुका सृष्टि प्रकृति अनुसार नै हुन्छ, तर आमाबुवाहरुले उनीहरुलाई यहूदी, क्रिस्चियन वा मजुसी (आगो पुज्ने) बनाई दिन्छन्।” (श्रोत- बुखारी : १२९२, मुस्लिम : २६५८)  

तर काफिरका मृतक बाल-बालिकाहरुसँग दुनियाँमा काफिर जस्तै मामिला गर्नु पर्छ। ती बाल-बालिकाहरु मुस्लिम हुन् वा होइनन् यसको ज्ञान अल्लाह बाहेक अरु कसैलाई पनि छैन। उहाँ कसैमाथि अन्याय गर्नु हुन्न। अल्लाहले ती बाल-बालिकाहरुलाई कयामतको दिन परीक्षा लिनु हुनेछ। सफल हुने बाल-बालिकाहरु स्वर्गमा जानेछन् भने असफल हुने बाल-बालिकाहरु नरकमा जानेछन्।  

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित काफिरका बाल-बालिकाहरुको बारेमा सोधिदा उहाँले भन्नु भएको छ… “अल्लाहले जुन बेला उनीहरुलाई सृष्टि गर्नु भयो, उनीहरुले के गर्नेछन् भन्ने कुरा उहाँलाई राम्ररी थाहा थियो।” (श्रोत- बुखारी : १३१७)

तर कुन बेला काफिरका बाल-बालिकाहरुलाई मुस्लिम भन्न सकिन्छ? 

निम्न अवस्थामा बाल-बालिकाहरुलाई मुस्लिम भन्न सकिन्छ… 

  1. १) आमाबुबा दुवै वा कोही एकले इस्लाम ग्रहण गर्छन् भने उनीहरुको बाल-बालिकाहरुलाई मुस्लिम भन्न सकिन्छ।
  2. २) आमाबुबाले इस्लाम स्वीकार नगरे पनि काफिरका नाबालिग चेतनशील बाल-बालिकाहरुले इस्लाम ग्रहण गर्छन् भने उनीहरुलाई मुस्लिम भन्न सकिन्छ। एउटा यहूदी बालक रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को घरमा काम गर्थ्यो। एक दिन ऊ बिरामी भयो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) उसलाई भेट्न र सन्चो बिसन्चो सोध्न उसको घर जानु भयो। उसको टाउकोको नजिक बसेर भन्नु भयो… “मुस्लिम बन” त्यो बालक आफ्नो बुवालाई हेर्न थाल्यो र उसको बुवाले जवाफ दियो… हेर बाबु ! सक्छस् भने उहाँ (अबुल-कासिम) को कुरा मान, त्यसपछि उसले इस्लाम ग्रहण गर्यो। त्यहाँबाट रसूल (सल्लल्लाहु अलैहि व सल्लम), "अल्लाहको कृपा छ, जसले उसलाई नरकबाट जोगाई दिनु भयो भन्दै बाहिर निस्कनु भयो।" (श्रोत- बुखारी : १२९०)
के आमाबुबा दुवैले वा कोही एकले इस्लाम ग्रहण गर्यो ?
हो-
हो… उसको बालबच्चा मुस्लिम हो र त्यसमाथि इस्लामको हुकुम लाग्छ।
होइन-
 के बाल-बालिकाले घरबाट अलग भएर इस्लाम ग्रहण गरेको छ ?
हो-
 यदि चेतनशील छ भने ऊ मुस्लिम हो र उसको इस्लामले परलोकमा नाफा पुर्याउनेछ भन्ने कुरामा मुस्लिम समुदायको सर्व सम्मति छ।
होइन-
 काफिरका मृतक बाल-बालिकाहरुसँग दुनियाँमा काफिर जस्तै मामिला गर्नु। ती बाल-बालिकाहरु मुस्लिम हुन् वा होइनन् यसको ज्ञान अल्लाह बाहेक अरु कसैलाई पनि छैन। उहाँ कसैमाथि अन्याय गर्नु हुन्न। अल्लाहले ती बाल-बालिकाहरुलाई कयामतको दिन परीक्षा लिनु हुनेछ। सफल हुने बाल-बालिकाहरु स्वर्गमा जानेछन् भने असफल हुने बाल-बालिकाहरु नरकमा जानेछन्।