छैठौ अध्याय- तपाईको हज्ज

मक्का र मस्जिद-हरामका विशेषताहरु

मस्जिद-हराम, अरब द्वीपको पश्चिमी भेग मक्का मुकर्रमामा अवस्थित छ। इस्लाममा यसका धेरै विशेषताहरु छन्, तीमध्ये केही यस प्रकार छन्…  

  1. १- यसैको मुटुमा पवित्र काबा छ-

यो काबाको ढोका हो, यसमा कुरआनका धेरै जसो आयत (श्लोक) हरु कोरिएका छन्। .

काबा एउटा चारपाटे घनाकार भएको निर्मित सानो सुन्दर घर हो, जो मस्जिद-हरामको बीच भागमा अवस्थित छ।

यो विश्वकै मुस्लिमहरुको किब्ला, ढुकढुकी र केन्द्र बिन्दु हो। यसै किब्लाको दिशामा अनुहार फर्काएर मुस्लिमहरुलाई सलाह पढ्ने र अन्य उपासना गर्ने आदेश दिएको छ।

यसलाई इब्राहीम र उहाँका छोरा इस्माइल (अलैहिमुस्सलाम) ले अल्लाहको आदेशानुसार निर्माण गर्नु भएको थियो। त्यसपछि समय अनुसार नवीकरण हुँदै गयो।

अल्लाहले भन्नु भएको छ… “(स्मरण गर) जुन बेला इब्राहीम र इस्माइल यस घरको जग उठाउँदै दुआ गरिरहेका थिए… “हे अल्लाह, हाम्रो सानो प्रयासलाई स्वीकार गरिदिनुहोस्, वास्तवमा तपाई नै सर्वश्रोता र सर्वज्ञाता हुनुहुन्छ।” (श्रोत- सूरह अल्-बकरह : २/१२७)

काबाको पुनः निर्माणको क्रममा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मक्कावासीका साथ हजरे-अस्वद (कालो ढुङ्गा) लाई त्यसको ठाउँमा राख्न सहभागी हुनु भएको थियो।

  1. २- संसारको पहिलो मस्जिद-

जुन बेला वरिष्ठ सहाबी अबु-जर (रजियल्लाहु अन्हु) ले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित सोध्नु भयो… हे अल्लाहका रसूल, पृथ्वीमा सबभन्दा पहिलो मस्जिद कुन हो ? उहाँले जवाफ दिनु भयो… “मस्जिद-हराम” फेरी उहाँले सोध्नु भयो… त्यसपछि कुन ? उहाँले जवाफ दिनु भयो… “मस्जिद-अक्सा” उहाँले सोध्नु भयो… यी दुवैमा कति अन्तर छ ? उहाँले जवाफ दिनु भयो… “४० वर्ष, यदि तिमीले त्यसमा सलाह पढ्ने अवसर पाउँछौ भने सलाह पढ्नु, किनभने त्यसमा धेरै विशेषताहरु छन् ।” (श्रोत- बुखारी : ३१८६, मुस्लिम : ५२०)

  1. ३- यसमा सलाह पढ्दा कैयौं गुणा बढी पुण्य पाइन्छ-

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “मेरो मस्जिद, मस्जिद-नब्वीमा सलाह पढ्नु अरु मस्जिदहरुको अनुपातमा एक हजर गुणा बढी हुन्छ, सिवाय मस्जिद-हरामको, किनभने त्यसमा अरु मस्जिदहरुको अनुपातमा एक लाख बढी पुण्य पाइन्छ।” (श्रोत- इब्ने माजा : १०४६, अहमद : १४६९४)

  1. ४– यसलाई अल्लाह र रसूलले हराम (शान्ति-स्थल) गर्नु भएका छन्-

अल्लाहले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई निर्देशन गर्दै भन्नु भएको छ… “मलाई यस शहरको ईश्वरको उपासना गर्न र मुस्लिम हुन हुकुम भएको छ, जसलाई उहाँले हराम (शान्ति-स्थल) घोषित गर्ने भएको छ। यो सिङ्गो संसार उहाँकै सृष्टि हो।” (श्रोत- सूरह अन्-निसा : २७/९१)

अल्लाहले मक्कामा हत्या, हिंसा, अन्याय, पशुपंक्षीको शिकार तथा बोटबिरुवा काट्न अवैध गर्नु भएको छ।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “मक्कालाई अल्लाहले हराम (शान्ति-स्थल) घोषित गर्नु भएको छ, कुनै मानिसले होइन, त्यसैले अल्लाह र महाप्रलयमा विश्वास राख्ने व्यक्तिले यहाँ हत्या गर्नु तथा बोटबिरुवालाई काट्नु हुँदैन।” (श्रोत- बुखारी : १०४, मुस्लिम : १३५४)

  1. ५- यो अल्लाह र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मन पराउनु भएको ठाउँ हो।

एउटा वरिष्ठ सहाबीले भन्नु भयो… मैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई (मक्काको एउटा टोल) हजुरामा सवारीमा बसेको बेला भन्दै सुनेको थिएँ… “अल्लाहको कसम ! हे मक्का, धरतीमा अल्लाहको अत्यन्त प्यारो ठाउँ तिमी नौ हौ, यदि मलाई ननिकालेको भए म कहिल्यै पनि तिमीबाट अलग्गिने नै थिएन।” (श्रोत- तिर्मिजी : ३९२५, कुबरा लिन्निसाई : ४२५२)

  1. ६- अल्लाहले सामर्थ्य व्यक्तिमाथि आफ्नो पवित्र घरको हज्ज गर्न अनिवार्य गर्नु भएको छ-

इब्राहीम (अलैहिस्सलाम) ले मानिसहरुलाई अल्लाहको घरको हज्ज गर्न आह्वान गर्नु भयो अनि दुनियाँको कुनाकाप्चाबाट हज्ज गर्नेहरुको ओइरो लाग्यो। सबै सन्देष्टाहरुले यस घरका हज्ज गरे। अल्लाहले इब्राहीम (अलैहिस्सलाम) लाई यसरी आदेश दिदै भन्नु भएको छ… “मानिसहरुमा हज्जको आह्वान गर, उनीहरू पैदल तथा ऊँटमा चढेर दुनियाँको कुनाकाप्चाबाट आउने छन्।” (श्रोत- सूरह अल्-हज्ज : २२/३८)

हज्जको अर्थ-

हज्ज गर्नको लागि अल्लाहको घरको यात्रा गर्नु। यी रसूल (सल्लल्लाहु अलैहि व सल्लम) बाट प्राप्त विशेष क्रियाकलाप र केही भनाईहरु हुन्, जस्तै… एहाराम लगाउनु, काबाको सात पटक तवाफ (परिक्रमा) गर्नु, सफा र मर्वा बीच सात चक्कर सई गर्नु, अर्फातको मैदानमा बस्नु तथा मिनामा जमरातहरुलाई ढुङ्गा हान्नु इत्यादि।

यसमा भक्तजनहरुका लागि महान उपलब्धिहरु छन्, अल्लाहको तौहीद (एकत्व) को सार्वजनिक घोषणा, हाजीहरुका लागि महान क्षमादान, विश्वकै मुस्लिमहरु बीच चिनजान, भाइचारा स्थापित गर्ने अवसर र इस्लामका विधि-विधानहरु सिक्ने स्वर्ण ऋतु इत्यादि।

हज्जको समय-  हज्जका प्रक्रियाहरु इस्लामि पात्रो अनुसार बार्हौ महिनाको आठ जिलहिज्जादेखि तेरह (८-१३) जिलहिज्जासम्म केन्द्रित हुन्छ।

कसले अनिवार्य रुपमा हज्ज गर्नु पर्छ?

हज्ज फर्ज हुनको लागि सक्षम र सामर्थ्य मुस्लिम हुनुपर्छ। (सक्षम भनेको बुद्धिमान र बालिग हो, जसको बारेमा अघि वर्णन भईसकेको छ)।

सामर्थ्यको अर्थ-

वैधानिक तरिकाले मक्कासम्म पुग्न सक्नु, बिना अत्याधिक परिश्रम हज्जका विधिहरू पूरा गर्नु, साधारण यात्रा भन्दा बढी परिश्रम नहुनु, जीउधनको सुरक्षा हुनु, घरदेखि मक्कासम्म सम्पूर्ण खर्च बेहोर्ने क्षमता हुनु र यसबाट घरपरिवारलाई केही नकरात्मक असर नपर्नु इत्यादि सबै सामर्थ्य अन्तर्गत पर्दछ।

हज्जको लागि क्षमताका अवस्थाहरु

  1. १) व्यक्तिगत रुपमा हज्ज गर्न सक्षम हुनु, अर्थात बिना अत्याधिक परिश्रम स्वयम् मक्कासम्म पुग्ने क्षमता र साथमा पर्याप्त बाटो खर्छ छ भने उसले व्यक्तिगत रुपमा हज्ज गर्नु अनिवार्य छ।
  2. २) अरुद्वारा हज्ज गराउन सक्षम हुनु, अर्थात रोग वा बुढेसकालले गर्दा शारीरिक रुपमा आफू जान सकदैन, तर ऊ माल खर्च गर्न सक्षम छ भने उसले सबै खर्च बेहोरेर अरुलाई पठाएर 'हज्ज बदल' गराउनु पर्छ।
  3. ३) शारीरिक तथा आर्थिक रुपमा असमर्थ व्यक्तिमाथि हज्ज गर्नु अनिवार्य छैन।

जस्तै… जुन व्यक्तिसँग आफ्नो घरपरिवारको आवश्यक खर्च भन्दा बढी माल छैन भने उसमाथि हज्ज फर्ज छैन।

र हज्जको लागि माल जम्मा गरि राख्नु पर्दैन, तर जुन बेला सक्षम हुनेछ त्यसबेला हज्ज गर्नु पर्छ।

महिलाको हज्जको लागि महरम साथमा हुनु शर्त छ

महिलाको हज्जको लागि साथमा महरमको उपस्थिति अनिवार्य छ। महरम भनेको, श्रीमान वा जुन व्यक्तिसँग उसको बिहे हुन सक्दैन, जस्तै…  बुवा, हजुरबा, छोरा, नाती, भाइ, भतिजा र उनीहरुका सन्तानहरु, काका र मामा।(पृष्ठ न० १९० हेर्नुहोस्)

यदि महिलाले विश्वासिलो समूहको साथमा बिना महरम हज्ज गर्छिन् भने उसको हज्ज पूरा हुनेछ।

के तपाई शारीरिक र आर्थिक रुपमा हज्ज गर्न सक्नु हुन्छ?
हो-
तपाईले व्यक्तिगत रुपमा हज्ज गर्नु अनिवार्य छ।
होइन-
के तपाईसँग पर्याप्त माल छ, तर निको नहुने रोग वा बुढेसकालले गर्दा शारीरिक रुपमा हज्ज गर्न सक्षम हुनुहुन्न?
हो-
 तपाईले सबै खर्च बेहोरेर अरुलाई पठाएर 'हज्ज बदल' गराउनु पर्छ।
होइन-
यदि तपाईसँग आफ्नो घरपरिवारको आवश्यक खर्च बाहेक पर्याप्त माल छैन भने तपाईमाथि हज्ज फर्ज छैन र हज्जको लागि मरिहत्ते गरी माल जम्मा गरि राख्नु पर्दैन।

हज्जका विशेषताहरु

हज्जका धेरै विशेषताहरु छन्, तीमध्ये केही यस प्रकार छन्-

  1. १) यो सर्वोत्कृष्ट सत्कर्म हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित सोधियो, सर्वोत्कृष्ट कर्म कुन हो ? उहाँले जवाफ दिनु भयो… “अल्लाह र उहाँको रसूलमाथि आस्था राख्नु” फेरी सोधियो… त्यसपछि कुन हो ? उहाँले जवाफ दिनु भयो… “अल्लाहको बाटोमा युद्ध गर्नु” फेरी सोधियो… त्यसपछि कुन हो ? उहाँले जवाफ दिनु भयो… “हज्ज मबरुर (स्वीकृत हज्ज)।” (श्रोत- बुखारी : १४४७, मुस्लिम : ८३) 
  2. २) क्षमायाचनाको स्वर्ण ऋतु हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसले हज्ज गर्दा लसपस र लडाई झगडा केही पनि गरेन भने ऊ आमाको कोखबाट जन्मेको दिन झैं पवित्र हुन्छ।” (श्रोत- बुखारी : १४४९, मुस्लिम : १३५०)
  3. ३) नरकबाट मुक्ति पाउने ठूलो अवसर हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “अल्लाहले भक्तजनहरुलाई सबैभन्दा अत्याधिक मुक्ति अर्फातको दिन प्रदान गर्नुहुन्छ।” (श्रोत- मुस्लिम : १३४८)
  4. ४) यसको प्रतिफल स्वर्ग नै हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “हज्ज मबरुर (स्वीकृत हज्ज) को प्रतिफल स्वर्ग नै हो।” (श्रोत- बुखारी : १६८३, मुस्लिम : १३४९)

यी र यस्ता अन्य विशेषता, प्रतिदान र नरकको मुक्ति पाउनको लागि सर्वप्रथम आफ्नो नीयत र मनसायलाई शुद्ध र स्वच्छ पार्नु पर्दछ, भनाई र गराईमा एकरुपता हुनुपर्दछ तथा यी सबै कुराहरुमा पूर्ण रुपमा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को अनुसरण गर्नु पर्छ।

हज्जका उद्देश्यहरु

व्यक्तिगत तथा समाजिक रुपमा हज्जले निकै ठूलो लक्ष्य र महत्वपूर्ण उद्देश्यहरु ओगटेको छ। हाजीले दिनु पर्ने कुर्बानीको वर्णनपछि अल्लाहले भन्नु भएको छ… “अल्लाहलाई न कुर्बानीको मासु पुग्दछ, न रगत नै, तर तिमीहरुको तक्वा (ईश्-भय) पुग्दछ।” (श्रोत- सूरह अल्-हज्ज : २२/३७) रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “काबाको परिक्रमा, सफा र मर्वाको सई, जमरातलाई ढुङ्गा हान्नु अल्लाहको महिमाको वर्णन र प्रशंसाको लागि नै अनिवार्य गरिएको छ।” (श्रोत- अबु-दाऊद : १८८८)

हज्जका केही उद्देश्यहरु यस प्रकार छन्-

  1. १) अल्लाहको लागि नम्रता प्रकट गर्नु-

त्यसैले हाजीहरु भोगविलास र श्रृङ्गारपटार सबै त्यागेर मुर्दालाई बेरिने कात्रो झैं सेतो एहरामको कपडा लगाएर अल्लाहको अगाडि आफ्नो गरीबीलाई दर्शाउँछन्। सम्पूर्ण भौतिक सुख र आनन्दसँग केही सरोकार नराखीकन अल्लाहको उपासनामा सक्रिय रहन्छन्। अर्फातको मैदानमा कपकपाउँदै, रुँदै अल्लाहको वरदान र महानताको गुण गाउँदै आफ्नो पाप र गल्तीको क्षमा माग्दै उभिरहेका हुन्छन्।

  1. २) वरदानको कृतज्ञता अर्पण गर्नु-

हज्जमा दुई तरिकाले अल्लाहको कृतज्ञता व्यक्त गर्नु पर्दछ… एउटा आर्थिक रुपमा र अर्को शारीरिक रुपमा सक्षम भएकोमा, किनभने यी दुवै कुरा अल्लाहको ठूलो वरदान र हज्जको अभिन्न अङ्ग हो। उक्त दुवै कुरा नभइ दिए, कसैले पनि हज्ज गर्न सक्दैनन्। त्यसैले आफ्नो विधाता र मालिकको हृदयदेखि कृतज्ञता व्यक्त गर्नु पर्दछ। वास्तवमा, वरदानको कृतज्ञता व्यक्त गर्नु स्वभाविक कुरा हो जसलाई धर्मले अनिवार्य गर्दछ।

  1. ३) मुस्लिमहरुको बृहत सम्मेलन-

मुस्लिमहरु विश्वकै कुनाकाप्चाबाट हज्जमा भेला हुन्छन्, यसमा एक अर्कासँग चिनजान गर्ने, माया, ममता, स्नेह र सदभाव बाँड्ने ठूलो अवसर प्राप्त हुन्छ। गोरो-कालो, अग्लो-होचो, धनी-गरीब, जात, पात, भाषा, लिङ्ग र असमानताका सम्पूर्ण पर्खाल र भेदभावहरु माया र ममतामा परिणत हुन्छन्। संसारको सबैभन्दा विशाल भेलामा साँचो ईश्वर अल्लाहको उपासना गर्ने, सत्यको निमन्त्रणा दिने, एक अर्कालाई साथ दिने कुरामाथि सर्वसम्मति हुन्छ।

  1. ४) महाप्रलयको दिनको सम्झना-

हज्जले मुस्लिमहरुलाई महाप्रलयको सम्झना गराउँछ। अर्फातको मैदानमा आँखाले भ्याएसम्म जताततै मानिसको घुइँचो लागेको हुन्छ, सबैले मुर्दालाई बेरिने सेतो कात्रो झैं एउटै कपडा लगाएका हुन्छन्। यसले हिसाबकिताबको दिनको सम्झनालाई ताजा पार्दछ, त्यसैले बुद्धिमान मुस्लिम त्यस दिनको तयारीमा तल्लीन हुन्छ।

  1. ५) अल्लाहको तौहीदलाई व्यक्त गर्नु तथा उहाँको भक्तिलाई मन र वचनले स्वच्छ पार्नु–

हज्जको प्रतीक नै तल्बिया हो। (लब्बैक अल्लाहुम्म लब्बैक, लब्बैक ला शरीक लक लब्बैक, इन्नल हम्द वन्नेअमत लक वलमुल्क, ला शरीक लक) यसको एक-एक शब्दले तौहीदको सार्वजनिक घोषणा गरिरहेको छ। भक्तको तन र मन तौहीदको बास्नाले ओतप्रोत भइरहेको छ। त्यसैले एउटा वरिष्ठ सहाबीले तल्बियालाई तौहीदको उपमा दिनु भएको छ।” (श्रोत- मुस्लिम : १२१८) किनभने उक्त तल्बियामा अल्लाहकै लागि उपस्थित भएको र उहाँकै लागि सम्पूर्ण ईबादतहरूलाई खास गरिएको जनाइएको छ।

उमरा

एहाराम लगाउनु, काबाको सात चोटि तवाफ (परिक्रमा) गर्नु, सफा र मर्वाको बीचमा सात चक्कर सई गर्नु र कपाल खौराउनु वा सानो गराएर अल्लाहको उपासना गर्नुलाई उमरा भनिन्छ।

यसको हुकुम- सामर्थ्य व्यक्तिले जीवनमा एक पटक मात्र उमरा गर्नु अनिवार्य छ। तर बारम्बार गर्नु उत्तम र सुनमा सुगन्ध थप्नु हो।

यसको समय- सालको जुनसुकै समय र जहिले पनि यसलाई गर्न सकिन्छ, तर रमजानको महिनामा यसको पुण्य कैयौं गुणा बढ्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ- “रमजानमा उमराको पुण्य हज्जको बराबर हुन्छ।” (श्रोत- बुखारी : १८६३)