सलाह पढ्ने तरिका

  1. १) नीयत (संकल्प) गर्नु- सलाह सही हुनको लागि नीयत अनिवार्य छ। अर्थात यो उपासना अल्लाहकै लागि हो भन्ने हृदयदेखि संकल्प गर्नु पर्दछ, जस्तै… मग्रिब, ईशा वा जुन सलाहको समय हुन्छ, त्यसैको नीयत गर्नु। नीयत गर्दा मुखले भन्नु पर्दैन, बरु मन र मस्तिष्कमा गरिने दृढ संकल्प नै पर्याप्त हुन्छ, किनकि नीयत गर्दा मुखले नै भन्नु पर्ने कुरा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) र उहाँका सहाबा (साथीहरु) बाट प्रमाणित छैन।
  2. २) कियाम- सलाहको लागि उभिनु र अल्लाहु अकबर भन्नु। दुवै हत्केलालाई किब्लातिर फर्काएर आफ्नो काँध वा अलि माथिसम्म उठाउनु पर्दछ। तक्बीर ‘अल्लाहु अकबर’ शब्दले मात्र सलाहको प्रारम्भ हुनेछ। यसको अर्थ : अल्लाहको महानता र प्रशंसा व्यक्त गर्नु हो। यो दुनियाँ र यसमा भएभरका सम्पूर्ण आनन्द तथा आकांक्षाहरु भन्दा अल्लाह महान हुन्। त्यसैले सांसारिक कुराहरुलाई एकातिर राखी महान र सर्वशक्तिमान् अल्लाहमा समर्पित होऔं।

 

  1. 3) तक्बीरपछि दायाँ हातलाई बायाँ हातमाथि राखेर छातीमा बाँध्नु र कियामको बेलामा यस्तैगरी राख्नु पर्दछ।
  2. ४) त्यसपछि ‘सुब्हान कल्लाहुम्म व बिहम्दिक व तबार कस्मुक व तआला जद्दुक वला इलाहा गैरुक’ पढ्नु पर्दछ, यसलाई इस्तिफ्ताहको दुआ भनिन्छ।
  3. ५) त्यसपछि ‘अऊजु बिल्लाहि मिनश्-शैता निर्रजीम’ पढ्नु पर्दछ। यसको अर्थ : पापी शैतानको उपद्रवदेखि अल्लाहको शरण चाहन्छु। यसलाई इस्तिआजह भनिन्छ।
  4. ६) त्यसपछि ‘बिस्मिल्ला हिर्रहमा निर्रहीम’ पढ्नु पर्दछ। यसको अर्थ :  अल्लाहको नामबाट शुभारम्भ गर्दछु।
  5.  ७) त्यसपछि ‘सूरह फातिहा’ पढ्नु पर्छ। यो  कुरआनको सबैभन्दा महान सूरह हो।
  • अल्लाहले उक्त सूरहलाई रसूलमाथि अवतरण गरेर ठूलो उपकार गर्नु भएको छ। उहाँले भन्नु भएको छ… “वास्तवमा, हामीले तिमीलाई दोहोर्याई पढिने सातवटा आयतहरु र महान कुरआन प्रदान गरेका छौं।” (श्रोत : सूरह अल्-हिज्र : १५/८७) सातवटा आयतहरुको  तात्पर्य…  'सूरह फातिहा' हो, किनभने यसमा सातवटा आयतहरु छन् र सम्पूर्ण सलाहमा दोहोर्याएर पढ्नु पर्दछ।
  • सूरह फातिहालाई जसरी भए पनि सिक्नु पर्छ, किनभने यो सलाहको आधार हो। यसलाई इमाम (अगुवा), मुक्तदी (इमामको अनुसरण गरेर सलाह पढ्ने व्यक्ति) र मुन्फरिद (एक्लै  सलाह पढ्ने व्यक्ति) सबैले सलाहको प्रत्येक रकातमा पढ्नु पर्दछ।
  1. ८) ‘सूरह फातिहा’ पढिसकेपछि वा इमामको केरात (कुरआनको पाठ) पछि आमीन भन्नु पर्दछ। यसको अर्थ : हे अल्लाह यो पुकारलाई स्वीकार गरि दिनुहोस्।
  2. ९) ‘सूरह फातिहा’ पढिसकेपछि पहिलेको दुई रकात (चोटि) हरुमा कुनै अर्को सूरह वा सूरहका केही आयतहरु पढ्नु पर्दछ। तर तेस्रो र चौथो रकात (चोटि) मा मात्र सूरह फातिहा नै पर्याप्त हुन्छ।
  • फज्र, मग्रिब र ईशाको सलाहको पहिलेको दुई रकात (चोटि) हरुमा सूरह फातिहा र त्यसपछि पढिने सूरहहरु ठूलो स्वरले र जुहर र अस्रको सलाहमा सानो स्वरले पढ्नु पर्दछ।
  • सलाहका अन्य अजकार र दुआहरू बिस्तारै सानो स्वरले पढ्नु पर्दछ।
  1. १०) त्यसपछि अल्लाहु-अकबर भन्दै 'रुकू' को लागि झुक्नु पर्दछ। प्रथम तक्बीरमा गरे झैं दुवै हत्केलालाई किब्लातिर फर्काएर काँध वा अलि माथिसम्म उठाउनु पर्दछ।
  2. ११) रुकू को बेलामा किब्लाको दिशामा झुक्नु पर्छ। पिठ्यूँ र टाउको बराबर राख्नु पर्छ। दुवै हातले दुवै घुँडा समाउनु पर्छ र ‘सुब्हान रब्बियल्-अजीम’ भन्नु पर्छ। एक चोटि भन्नु अनिवार्य हो र तीन चोटि भन्नु उत्तम हो। रुकूमा अल्लाहको प्रशंसा र महिमाको बढी वर्णन गर्नु पर्दछ।
  • ‘सुब्हान रब्बियल्-अजीम’ को अर्थ : मेरो ईश्वर महान, पवित्र र हरेक प्रकारको कमी कमजोरीबाट निश्चल हुन्। म आदरपूर्वक उहाँको महिमाको वर्णन गरिरहेको छु।
  1. १२) त्यसपछि ‘समिअल्लाहु लिमन् हमिदह’ भन्दै सिधा उभिनु पर्छ। प्रथम तक्बीरमा गरे झैं दुवै हत्केलालाई किब्लातिर फर्काएर काँध वा अलि माथिसम्म उठाउनु पर्दछ। फेरी सबैले ‘रब्बना व लकल्-हम्द’ भन्नु पर्दछ। तर ‘रब्बना व लकल्-हम्द, हम्दन् कसीरन् तययेबन् मुबारकन् फीह, मिल् अस्समाए व मिल् अल्-अर्ज, व मिल्आ मा शि'ता मिन् शैइन् बा'द) पढ्नु उत्तम हो।
  1. १३) त्यसपछि अल्लाहु-अक्बर भन्दै भुँइमा सज्दा (ढोग) गर्नु पर्दछ। सज्दा सात अङ्गहरु… निधार नाकसहित, दुवै हात, दुवै घुँडा, दुवै खुट्टा भुईमा टेकेर गर्नु पर्दछ। सज्दा गर्दा हातहरु काँखीबाट, पेट तिघ्राबाट र दुबै तिघ्रालाई खुट्टाबाट टाढा राख्नु पर्दछ र हातलाई भुँइदेखि माथि उठाएर राख्नु पर्दछ।
  2. १४) सज्दा (ढोग) गरेको बेलामा ‘सुब्हान रब्बियल्-आ'ला’ एक चोटि भन्नु अनिवार्य हो र तीन चोटि भन्नु उत्तम हो।
  • सज्दा (ढोग) गरेको बेलामा गरिएको दुआ बढी स्वीकृत हुन्छ। त्यसैले सज्दाको अनिवार्य दुआ पढिसकेपछि लोक-प्रलोकका राम्रा कुराहरूको कामना गर्नु पर्दछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “सज्दा (ढोग) गरेको बेलामा भक्त आफ्नो ईश्वरदेखि निकै नजिक हुन्छ, त्यसैले दुआमा क्रियाशील रह।” (श्रोत- मुस्लिम : ४८२)
  1. ‘सुब्हान रब्बियल्-आ'ला’ को अर्थ : मेरो पालनकर्ता अति महान र पवित्र हुनुहुन्छ। आफ्नो महान मालिक (अल्लाह) को महिमाको वर्णन गर्दछु। उहाँ सातौं आकाश भन्दा माथि हुनुहुन्छ। हरेक प्रकारको कमी कमजोरीबाट पवित्र हुनुहुन्छ। एउटा भुँइमा सज्दा गरिरहेको भक्त र अर्को आकाशमा रहनु भएको मालिकको बीचमा कति दुरीको फरक छ तै पनि उहाँ आफ्नो भक्तदेखि नजिक हुनुहुन्छ, त्यसैले त उहाँको महिमाको खुब वर्णन र आदर व्यक्त गर्नु पर्दछ।
  • १५) त्यसपछि अल्लाहु-अक्बर भन्दै उठ्नु र दुवै सज्दाहरुको बीचमा बस्नु पर्दछ। बायाँ खुट्टा पल्टाएर त्यसमाथि बस्नु र दायाँ खुट्टालाई सीधा ठाडो पारेर राख्नु पर्दछ। दुवै हत्केलाहरु तिघ्राको अगाडि भागमा घुँडा नजिक राख्नु पर्दछ। सलाहमा सधैं यसरी नै बस्नु पर्दछ। अन्तिम तशह्हुदमा दायाँ खुट्टालाई ठाडो राख्नु र बाँया खुट्टालाई दाहिनेको मुनिबाट निकालेर नितम्बलाई भुँइमा राख्नु पर्छ।
  • तर रोग वा कुनै कारणवश उपर्युक्त तरिका अनुसार बस्न सकिदैन भने उक्त तरिकासित मिल्दोजुल्दो तरिका अनुसार बस्न सकिन्छ।
  1. १६) दुवै सज्दाहरुको बीचमा (रब्बिग् फिरली) पढ्नु पर्दछ। यसलाई तीन चोटि भन्नु उत्तम हो।
  2. १७) त्यसपछि पहिलेको सज्दा झैं दोस्रो सज्दा गर्नु पर्दछ।
  3. १८) त्यसपछि अल्लाहु-अक्बर भन्दै (दोस्रो रकातको लागि) उभिनु पर्दछ।
  4. १९) पहिलो रकात झैं दोस्रो रकात पनि पढ्नु पर्दछ।
  5. २०) दोस्रो रकातको दोस्रो सज्दापछि 'प्रथम तशह्हुद' को लागि बस्नु पर्दछ र अत्तहीयात… ‘अत्तहीयातु लिल्लाहि वस्सलवातु वत्तइयेबातु अस्सलामु अलैक अय्यो हन्नबीयो वरहमतुल्लाहि व बरकातुहु अस्सलामु अलैना वअला एबादिल्ला हिस्सालेहीन, अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह’ पढ्नु पर्दछ।
  6. २१) यदि तीन वा चार रकातको सलाह छ भने उभेर बाँकी रकातलाई पूरा गर्नु पर्दछ। तर तेस्रो र चौथो रकातमा सूरह फातिहा मात्र पर्याप्त हुन्छ।
  • यदि दुई रकातको सलाह छ, जस्तै फज्रको सलाह, यसमा अन्तिम तशह्हुदमा पढिने दुआहरु पनि थप्नु पर्दछ।
  1. २२) त्यसपछि अन्तिम रकातको दोस्रो सज्दापछि अन्तिम तशह्हुदको लागि बस्नु पर्दछ। यसको तरिका पनि प्रथम तशह्हुद झैं हो, तर निम्न ‘दरुद-शरीफ’…  ‘अल्लाहुम्म सल्लि अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा सल्लैत अला इब्राहीम्, व अला आलि इब्राहीम इन्नक हमीदुम्मजीद।अल्लाहुम्म बारिक अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा बारक्त अला इब्राहीम्, व अला आलि इब्राहीम, इन्नक हमीदुम्मजीद’ पनि पढ्नु पर्दछ ।
  • त्यसपछि ‘अउजू बिल्लाही मिन अजाबि जहन्नम, व मिन् अजाबिल-कब्र, व मिन् फितनतिल् मह्या वल् ममात, व मिन् फितनतिल् मसीहिद्दज्जाल’ र अन्य दुआहरु पढ्नु उत्तम हो।
  1. २३) त्यसपछि पहिले दायाँ फेरी बायाँतिर गर्धन घुमाउदै ‘अस्सलामु अलैकुम व रहमतुल्लाह’ भन्नु पर्दछ।
  • सलाम फेरिसकेपछि सलाह समाप्त हुन्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “सलाह पढ्दा पहिलो तक्बीरले (सबै वैध कुराकानी) अवैध हुन्छ र सलाम फेरेपछि सबै वैध हुन्छ।” (श्रोत- अबु-दाऊद : ६१, तिर्मिजी : ३) अर्थात तक्बीरले सलाह प्रारम्भ हुन्छ भने सलाम फेर्नुले सलाह समाप्त हुन्छ।
  1. २४) सलामपछिका महत्वपूर्ण दुआहरु…
    1. १) ‘अस्तग् फिरुल्लाह’ तीन चोटि।
    2. २) ‘अल्लाहुम्म अन्तस्सलाम्, व मिन्कस्सलाम्, तबारक्त या जल् जलालि वल्-इक्राम्’, ‘अल्लाहुम्म ला मानिआ लिमा आतैत्, वला मुतिआ लिमा मनात, व ला यन्फओ जलजद्दु मिन्कल् जद्द’ भन्नु।
    3. ३) त्यसपछि ‘सुब्हानल्लाह’ ३३ चोटि, ‘अल्हम्दु लिल्लाह’ ३३ चोटि, ‘अल्लाहु-अक्बर’ ३३ चोटि र एक चोटि ‘लाइलाह इल्लल्लाहु वहदहू लाशरीक लहु लहुलमुल्कु व लहुल हम्दु वहुव अला कुल्लि शैइन कदीर’ भनेर सय पूरा गर्नु पर्दछ।

सूरह फातिहाको अर्थ-

(अल्हम्दु लिल्लाही रब्बिल् आलमीन)- सम्पूर्ण प्रकारका प्रशंसाहरु अल्लाहकै निम्ति छन्, जो सम्पूर्ण जगतका पालनकर्ता हुन्। वाह्य तथा आन्तरिक सम्पूर्ण वरदान उहाँकै देन हो। उहाँको माया र आदरले हाम्रो मन ओतप्रोत छ। अर्रब- उहाँ नै हाम्रो पालनकर्ता, प्रभु, मालिक र जीवनदाता हुन्। आलमीन- अल्लाह बाहेक मानिस, जिन्न, फरिश्ता, जनावर, कीरा फट्यांग्राको जे जति दुनियाँ छन् सबैलाई 'आलमीन' शब्दले समेटेको छ। अत: उहाँ नै सम्पूर्ण जगतका वास्तविक मालिक हुन्।

(अर्रह्मा निर्रहीम)- उहाँ अत्यन्तै करुणामय र परम दयालु हुन्। यी दुवै अल्लाहका पवित्र नाम हुन्। (अर्रह्मान)- परम दयालु। दुनियाँमा त अल्लाहले मुस्लिम, गैर-मुस्लिम, राम्रो र नराम्रो हरेकमाथि दया गर्नुहुन्छ। तर (अर्रहीम) मृत्युपछिको जीवनमा मात्र असल भक्त (मुमिन) माथि दया गर्नु हुनेछ।

(मालिकी यौमिद्दीन)- महाप्रलयको दिन  हिसाबकिताबका मालिक हुन्। यो कुराले मुस्लिमहरुलाई महाप्रलयको दिनको स्मरण गराउँछ र बढी सत्कर्म गर्ने प्रेरणा दिन्छ।

(इय्याक नाबुदु व इय्याक नस्तईन्)- हे अल्लाह ! हामी तपाईकै उपासना गर्छौं र जीवनको पाईला-पाईलामा तपाईबाट नै सहायता माग्छौं। तपाईसँग अरु कसैलाई साझेदार बनाउदैनौं। किनकि सारा मामिला तपाईकै हातमा छ, कोही पनि कण बराबर अख्तियार राख्दैनन्।

(इह् दिनस्सिरातल मुस्ताकिम)- हे अल्लाह ! हामीलाई सीधा मार्गदर्शन गरी दिनुहोस् र त्यसैमाथि दृढतापूर्वक अडिग रहने साहस दिनुहोस्। इस्लाम नै सीधा मार्ग र स्वर्गतिर डोर्याउने एक मात्र विकल्प हो। एउटा भक्तको लागि यसमाथि अडिग रहनु भन्दा आनन्दको अरु कुनै बाटो छैन।

(सिराताल्लादीन अन् अम्त अलै हिम)- ती व्यक्तिहरुको मार्ग देखाउनुहोस् जो तपाईको कृपापात्र भए। अन्बिया, रसूल, सिद्दीकीन र सत्कर्म गर्नेहरुको मार्गमा कायम राख्नुहोस्। यिनीहरुले सत्य मार्गलाई चिने र त्यसैमाथि अडिग रहे।

(गैरिल-मग्दूबी अलै हिम व लद्दाल्लीन)- जुन व्यक्तिहरुमाथि तपाईको प्रकोप भयो र जुन व्यक्तिहरु पथभ्रष्ट भए तिनीहरुको कुमार्गबाट जोगाई दिनुहोस्। प्रकोपको भागीदार 'यहूदी' र उनीहरुको बाटोमा लाग्नेहरु हुन्, किनभने तिनीहरुले सत्यलाई चिनेर स्वीकार गरेनन्। पथभ्रष्टहरुको अभिप्राय क्रिस्चियन र उनीहरुको बाटोमा लाग्नेहरु हुन्, किनभने तिनीहरु अज्ञानताले गर्दा बर्बाद भए।

जसलाई सूरह फातिहा र अन्य दुआहरु याद छैन भने उसले के गर्नु पर्छ?

यदि कसैले भर्खर इस्लाम ग्रहण गरेको छ र उसलाई सूरह फातिहा तथा अन्य दुआहरु कण्ठस्त छैन भने उसले निम्न कुरामाथि ध्यान दिनु पर्दछ ?

  • सकेसम्म सलाहका अनिवार्य कुराहरु छिट्टै कण्ठ गर्नु पर्छ, किनकि अरबी भाषा बाहेक अरु कुनै भाषामा सलाह हुँदैन। यी कुराहरु निम्न छन्…
  • सूरह फातिहा, तकबीर, सुब्हान रब्बियल्-अजीम, समिअल्लाहु लिमन् हमिदह, रब्बना व लकल्-हम्द, सुब्हान रब्बियल्-आ'ला, रब्बिग् फिरली,  तशह्हुद, दरुद-शरीफ र अस्सलामु अलैकुम व रहमतुल्लाह।
  • सूरह फातिहा र अन्य दुआहरु कण्ठस्त हुनु भन्दा अगाडि (सुबहनाल्लाह) (अल्हम्दुलिल्लाह) (अल्लाहु-अक्बर) वा कण्ठ भएका आयतहरुलाई कियामको बेलामा दोहोर्याउनु पर्दछ। अल्लाहले भन्नु भएको छ… “सकेसम्म अल्लाहसित डर।” (सूरह अत्-तगाबुन : ६४/१६) उसले यो तालिमको अवधिमा जमातको साथमा सलाह पढ्न निकै ध्यान दिनु पर्दछ। यसो गर्दा सलाहको सही तरिका सिक्ने अवसर पाउँछ र केही कमी हुन्छ भने इमामले त्यो कमीलाई पूरा गर्नुहुन्छ।