सलाहका आधार र अनिवार्य कुराहरु

सलाहका आधारहरु, यी सलाहका महत्वपूर्ण आधारहरु हुन्, जानेर वा बिर्सेर छोड्यो भने सलाह भङ्ग हुन्छ।

यी निम्न छन्-

तक्बीर तहरीमा, कियाम, सूरह फातिहा पढ्नु, रुकू गर्नु, रुकूपछि उभिनु, सज्दा, दुवै सज्दाहरुको बीचमा बस्नु, अन्तिम तशह्हुदमा बस्नु, बिस्तारै-बिस्तारै सलाह पढ्नु र सलाम फेर्नु।

सलाहका अनिवार्य, यी सलाहका अनिवार्य कुराहरू हुन्, जानी-जानी छोड्यो भने सलाह भङ्ग हुन्छ, तर बिर्सेर वा चाल नपाईकन छुट्यो भने सलाहमा कमी हुन्छ, जसलाई सज्दा सहु गरेर पूरा गर्न सकिन्छ।

सलाहका वाजिबहरु निम्न छन्-

तक्बीर तहरीमा बाहेक सम्पूर्ण तक्बीरहरु, 'सुब्हान रब्बियल्-अजीम' एक चोटि भन्नु, इमाम र मुन्फरिदले 'समिअल्लाहु लिमन् हमिदह' भन्नु, सम्पूर्ण व्यक्तिहरुले 'रब्बना व लकल्-हम्द' भन्नु, सज्दामा 'सुब्हान रब्बियल्-आ'ला' एक चोटि भन्नु, दुवै सज्दाहरुको बीचमा 'रब्बिग फिर्ली' एक चोटि भन्नु र प्रथम तशह्हुद। यी वाजिबहरुमध्ये कुनै पनि वाजिब छोड्यो भने सज्दा सहुले त्यो त्रुटीलाई पूरा गर्न सकिन्छ।

सलाहका सुन्नतहरु, उपर्युक्त सलाहका आधार र अनिवार्य बाहेकका कुराहरु। यी सलाहका पूरकहरु हुन्। यीमध्ये केही छोड्यो भने सलाह भङ्ग हुँदैन।

सज्दा सहु-

सलाहमा हुन गएको त्रुटीहरुलाई पूरा गर्न अल्लाहले यी दुई सज्दाहरु गर्न आदेश दिनु भएको छ।

सज्दा सहु कुन बेला गर्नु पर्छ?

निम्न लिखित अवस्थामा सज्दा सहु गर्नु पर्दछ-

  1. १. यदि बिर्सेर रुकू, सज्दा, कियाम वा तशह्हुद मध्ये केही बढी गर्यो भने सज्दा सहु गर्नु पर्दछ।
  2. २. यदि आधार छोड्यो भने पहिले त्यसलाई पूरा गर्नु पर्छ र सलाहको अन्तमा सज्दा सहु गर्नु पर्दछ।
  3. ३. यदि कुनै अनिवार्य जस्तै- प्रथम तशह्हुद छोड्यो भने सज्दा सहु गर्नु नै पर्याप्त हुन्छ।
  4. ४. यदि रकातको संख्यामा शंका भयो भने कमलाई आधार मान्नु पर्छ र सज्दा सहु गर्नु पर्दछ।

सज्दा सहुको तरिका- जसरी सलाहमा दुई पटक सज्दा गर्नु पर्दछ र दुवै सज्दाहरुको बीचमा अलिकति बस्नु पर्दछ, सज्दा सहु पनि त्यसरी नै गर्नु पर्दछ।

सज्दा सहुको समय- यसका दुईवटा समयहरु छन्।जुन बेला गरे पनि हुन्छ-

  • सलाम पूर्व- अन्तिम रकातमा सलाम फेर्नु पूर्व सज्दा सहु गर्नु र त्यसपछि सलाम फेर्नु।
  • सलामपछि- सलाम फेरिसकेपछि सज्दा सहु गर्नु र पुनः सलाम फेर्नु।

सलाह भङ्ग गर्ने कुराहरु-

  1. १- जानेर वा बिर्सेर सलाहका आधारहरु छोड्यो भने सलाह भङ्ग हुन्छ।
  2. २- जानी-जानी सलाहका अनिवार्य कुरा छोड्यो भने सलाह भङ्ग हुन्छ।
  3. ३- जानी-जानी सलाहमा कुराकानी गर्यो भने सलाह भङ्ग हुन्छ।
  4. ४- जोडले हाँस्यो भने सलाह भङ्ग हुन्छ।
  5. ५- आवश्यक बिना धेरै खटपट र यताउता गर्नाले सलाह भङ्ग हुन्छ।

सलाहलाई खराब (मकरुह) गर्ने कुराहरु-

सलाहको एकाग्रता, मर्यादा र पुण्यमा कमी ल्याउने कुराहरूलाई मकरुह भनिन्छ, यी निम्न हुन्…

  1. १. सलाहमा यताउता हेर्नु नराम्रो कुरा हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित सलाहमा यताउता हेर्ने बारेमा सोधियो, उहाँले भन्नु भयो… “शैतानले मानिसको सलाहमा हिनामिना गर्छ अनि ऊ यताउता हेर्न थाल्छ।” (श्रोत- बुखारी : ७१८)
  2. २. सलाहमा हात, अनुहार वा कुनै वस्तुसँग खेल्नु, औंला पड्काउनु र हातलाई कम्मरमाथि राख्नु नराम्रो कुरा हो।
  3. ३. दिसा-पिसाबले च्यापेको वा बेस्सरी भोक लागेको बेला सलाह पढ्नु नराम्रो कुरा हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “खाना पस्की सकेपछि वा जोडले दिसा-पिसाब लागेको बेला सलाह पढ्नु हुँदैन।” (श्रोत- मुस्लिम : ५६०)

 

सुन्नत सलाहहरु के के हुन्?

एउटा मुस्लिमले दिनरातमा पाँच चोटि अनिवार्य रुपमा अनिवार्य सलाह पढ्नु पर्छ।

तर यी पाँच फर्ज बाहेक केही सुन्नत (गैर-अनिवार्य) सलाहहरु छन् जसलाई पढ्न इस्लामले प्रेरणा दिएको छ। यी सुन्नत सलाहद्वारा अल्लाहको माया पाउन सकिन्छ र अनिवार्य सलाहमा भएको त्रुटीलाई पूरा गर्न सकिन्छ।

सुन्नत (गैर-अनिवार्य) सलाहहरु धेरै छन्, तीमध्ये केही महत्वपूर्ण यस प्रकार छन…

  1. १- सुन्नत मुअक्कदह- यो अनिवार्य सलाहदेखि कहिल्यै पनि अलग हुँदैन। त्यसैले यसलाई सुन्नत मुअक्कदह भनिन्छ।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जो कोही मुस्लिम प्रत्येक दिन फर्ज बाहेक १२ रकात सलाह पढ्छ, अल्लाहले उसको लागि स्वर्गमा घर बनाउनु हुनेछ।” (श्रोत- मुस्लिम : ७२८)

यी सुन्नतहरु यस प्रकार छन्-

1 फज्रमा… अनिवार्य सलाह भन्दा अगाडि दुई रकात।
2 जुहरमा… अनिवार्य सलाह भन्दा अगाडि चार रकात (दुई-दुई गरी पढ्नु) र सलाहपछि दुई रकात।
3 मग्रिबमा… अनिवार्य सलाहपछि दुई रकात।
4 ईशामा… अनिवार्य सलाहपछि दुई रकात।
  1. २-वित्रको सलाह- यसका रकात बेजोड हुन्छ त्यसैले यसलाई वित्र (बेजोड) भनिन्छ। यो सुन्नत सलाहहरुमध्ये सर्वोत्कृष्ट सलाह हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “हे कुरआनवालाहरु हो ! वित्रको सलाह पढ्दै गर।” (श्रोत- तिर्मिजी : ४५३, इब्ने माजा : ११७०)

वित्रको सलाहको समय- यसको सर्वोत्कृष्ट समय रातको अन्तिम पहर हो। ईशाको सलाहपछि प्रात: काल (फज्रको अजान) सम्म जहिले पनि पढ्न सकिन्छ।

वित्रको रकात- कम भन्दा कम एक रकात पढ्नु पर्छ, तर तीन रकात पढ्नु उत्तम हो। तीन भन्दा बढी पढ्न सकिन्छ, किनकि रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ११ रकातसम्म पढ्नु हुन्थ्यो।

सुन्नत (गैर अनिवार्य) सलाह दुई दुई रकात गरी पढ्नु उत्तम हो। दुई रकात पढेर सलाम फेर्नुहोस्, फेरी उस्तै दुई रकात पढ्नुहोस् र अन्तमा वित्रको एक रकात पढ्नुहोस्। वित्रको अन्तिम रकातमा रुकूबाट उठेपछि र सज्दा गर्नु भन्दा पूर्व प्रमाणित वित्र (कुनुत) को दुआ र आफ्नो मनले चाहेका कुराहरु हात थापेर माग्नु।

सुन्नत सलाहका निषेधित समयहरु-

सुन्नत सलाहहरु तीन निषेधित समय बाहेक जहिले पनि पढ्न सकिन्छ, किनकि त्यो गैर-मुस्लिमहरुको पूजाको समय हो। निषेधित समयमा मात्र छुटेको अनिवार्य सलाहलाई कजा (पूरा) गर्न र तहियतुल-मस्जिद पढ्न सकिन्छ। स्मरण रहोस् ! निषेधित समय मात्र सलाहको लागि हो, दुआ जुनसुकै समयमा गर्न सकिन्छ।

निषेधित समयहरु-

1 १- फज्रको सलाहपछि सूर्य उदाएर अलिमाथि आकाशमा पुगेसम्म, इस्लामि विधान अनुसार एक भालाको उँचाई जति हुनुपर्छ। अनुकूल वातावरण भएका मुलुकहरुमा सूर्य उदाएपछि २० मिनेटसम्म।
2 २- मध्यान्हमा आफ्नो शिरमाथि सूर्य पुगेको बेलामा।यो निषेधित समय जुहरको समय हुनु पूर्व केही क्षणको लागि मात्र हुन्छ।
3 ३- अस्रको सलाह पढिसकेपछि सुर्यास्तसम्म।

जमातको सलाह

अल्लाहले पुरुषहरुलाई सामुहिक रुपमा पाँच बेलाका सलाहहरु पढ्ने आदेश दिनु भएको छ। सामुहिक रुपमा सलाह पढ्नेहरुका लागि बढी सवाब (पुण्य) को वाचा गर्नु भएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “एक्लै नमाज पढ्नु भन्दा जमातका साथ पढेमा २७ गुणा बढी सवाब (पुण्य) प्राप्त हुन्छ।” (श्रोत- बुखारी  : ६१९, मुस्लिम : ६५०)

जमातको न्यूनतम संख्या… इमाम (अगुवा) र मुक्तदी (इमामको अनुसरण गर्ने व्यक्ति) हो। जमात जति ठूलो हुन्छ, अल्लाहले त्यति नै मन पराउनु हुन्छ।

अनुसरणको अर्थ-

मुक्तदीले आफ्नो सलाहलाई इमामको सलाहसँग गाँस्नु पर्दछ। रूकू, सज्दामा उसको अनुसरण गर्नु पर्दछ। उसको केरात (कुरआनको पाठ) लाई ध्यानपूर्वक सुन्नु पर्दछ। कुनै पनि कार्य इमाम भन्दा अगाडि वा धेरै ढिलो र उसको विपरित गर्नु हुँदैन। पूर्ण रुपमा इमामको अनुसरण गर्नु पर्दछ।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “इमाम अनुसरण गर्नको लागि हो। जुन बेला 'अल्लाहु-अक्बर' भन्नु हुन्छ, तिमीहरु पनि 'अल्लाहु-अक्बर' भन र इमाम भन्दा पूर्व 'अल्लाहु-अक्बर' नभन। जब रूकू गर्नुहुन्छ, तिमीहरु पनि रुकू गर र इमाम भन्दा पूर्व रूकू नगर। जब 'समिअल्लाहू लिमन हमिदह' भन्नु हुन्छ, तिमीहरु उभेर 'रब्बना वालकल-हम्द' भन। जब सज्दा गर्नुहुन्छ, तिमीहरु सज्दामा जाऊ र इमाम भन्दा पूर्व सज्दामा नजाऊ ...।” (श्रोत- बुखारी : ७०१, मुस्लिम : ४१४, अबु-दाऊद : ६०३)

इमामतका हकदार?

कुरआनको हाफिज र त्यसपछि जो बढी जानकार हुन्छ, ऊ नै इमामतको हकदार हुनेछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “कुरआनको हाफिजलाई आफ्नो इमाम बनाऊ। यदि यसमा सबै बराबर छन् भने सुन्नतको आधारमा प्राथमिकता देऊ।” (श्रोत- मुस्लिम : ६७३)

इमाम र मुक्तदी कहाँ उभिने छन्?

इमाम (सामूहिक सलाहमा) सामान्य पंक्ति भन्दा अगाडि र मुक्तदी इमामको पछाडि पंक्तिबद्ध एक अर्कासँग मिलेर उभिने छन्। पहिलो पंक्ति पूरा नहुन्जेलसम्म दोस्रो पंक्ति र दोस्रो पंक्ति पूरा नहुन्जेलसम्म तेस्रो पंक्ति लगाउनु हुँदैन। यदि मुक्तदी एक्लै छ भने इमामको दायाँ पट्टि उभिनेछ।

इमामसँग सलाह पढ्दा छुटेका रकातहरु कसरी पूरा गर्ने?

इमामसँग सलाह पढ्दा केही रकात छुटिसकेको छ भने अल्लाहु-अक्बर भनेर जमातमा प्रवेश गर्नुहोस्, जति पाउनु हुन्छ त्यति पढ्नुहोस् र इमामले सलाम फेरिसकेपछि बाँकी रकातलाई पूरा गर्नुहोस्।

इमामको साथमा पढेको सलाह उसको पहिलो रकात र छुटेको सलाह उसको अन्तिम रकात हुनेछ।

कुन अवस्थामा रकात पाइन्छ?

जसले इमामको साथमा रूकू पायो उसले पूरा रकात पायो। जसले रूकू पाएन उसले रकात पाएन तर  जमातमा सामेल हुनुपर्छ र छुटेको रकातलाई इमामले सलाम फेरिसकेपछि पूरा गर्नु पर्दछ।

इमामको साथमा छुटेका सलाहलाई पूरा गर्ने केही उदाहरणहरु

जसले इमामको साथमा फज्रको दोस्रो रकात पायो, उसले इमामले सलाम फेरिसकेपछि एक रकात पूरा गर्छ अनि सलाम फेर्छ, किनभने फज्रको सलाहमा दुई रकात पढ्नु पर्दछ।

जसले इमामको साथमा मग्रिबको अन्तिम तशह्हुद पायो, उसले इमामले सलाम फेरिसकेपछि तीन रकात पढ्नु पर्दछ, किनभने तशह्हुदले रकातको गन्ती हुँदैन।

जसले इमामलाई जुहरको तेस्रो रकातको रूकूमा पायो, उसले इमामले सलाम फेरिसकेपछि दुई रकात मात्र पूरा गर्नु पर्दछ, किनभने उसले इमामको साथमा दुई रकात पाईसकेको छ र जुहरको सलाह चार रकात हुन्छ। इमामसँग पाएको रकात मुक्तदीको पहिलो रकात हुनेछ।

अजान

मानिसलाई सलाहको समय भएको सूचना तथा जानकारी दिनको लागि अल्लाहले मुस्लिमहरुका लागि अजान दिन आदेश दिनु भएको छ। शुरुमा सलाहको लागि धेरै प्रतिक्षा गर्नु पर्थ्यो, कसैले कसैलाई पुकार्दैन्थ्यो, किनकि त्यतिबेला अजानको नियमै थिएन। एक दिन यसैको विषयमा सानोतिनो बैठक भयो। कसैले क्रिस्चियन जस्तै संख फुँकने र

कसैले यहूदी जस्तै नरसिंधा फुँकने सुझाव राख्यो तर उमर (रजियल्लाहु अन्हु) ले अजान दिने सुझाव दिनु भयो। त्यसपछि रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले बिलाललाई सम्बोधन गर्दै भन्नु भयो… “हे बिलाल ! उभ र मानिसलाई सलाहको लागि बोलाऊ।” (श्रोत- बुखारी : ५७९, मुस्लिम : ३७७)

अजान र इकामतको तरिका-

  • जमातको साथमा सलाह पढ्नेहरुले अनिवार्य रुपमा अजान र इकामत दिनु पर्छ, मुन्फरिद (एक्लै सलाह पढ्ने) ले दिनु पर्दैन। जानी-जानी छोड्यो भने पाप लाग्छ तर सलाह सही हुन्छ।
  • अजान जोडले मिठो स्वरमा दिनु पर्दछ। ताकि मानिसहरु सलाहको लागि आउन्।
  • अजान र इकामतका अनेकौं तरिकाहरू रसूल (सल्लल्लाहु अलैहि व सल्लम) बाट प्रमाणित छन्, तीमध्ये प्रसिद्ध तरिका यस प्रकार छ…

इकामतका वाक्यहरु यस प्रकार छन्-

  1. १. अल्लाहु-अक्बरुल्लाहु अक्बर।
  2. २. अश्हदु अल्ला इलाहा इल्लल्लाह।
  3. ३. अश्हदु अन्न मुहम्म दर्रसूलुल्लाह।
  4. ४. हय्या अलस्सलाह।
  5. ५. हय्या अलल्फलाह।
  6. ६.  कद्का मतिस्सलाह। कद्का मतिस्सलाह।
  7. ७. अल्लाहु-अक्बरुल्लाहु अक्बर।
  8. ८. ला इलाहा इल्लल्लाह।

अजानका वाक्यहरु यस प्रकार छन्-

  1. १.अल्लाहु-अक्बरुल्लाहु अक्बर, अल्लाहु-अक्बरुल्लाहु अक्बर।
  2. २. अश्हदु अल्ला इलाहा इल्लल्लाह, अश्हदु अल्ला इलाहा इल्लल्लाह।
  3. ३. अश्हदु अन्न मुहम्म दर्रसूलुल्लाह, अश्हदु अन्न मुहम्म दर्रसूलुल्लाह।
  4. ४. हय्या अलस्सलाह। हय्या अलस्सलाह।
  5. ५. हय्या अलल्फलाह। हय्या अलल्फलाह।
  6. ६. अल्लाहु-अक्बरुल्लाहु अक्बर।
  7. ७. ला इलाहा इल्लल्लाह।

अजानको उत्तर दिनु-

मुअज्जिनले भने जस्तै सुन्नेले पनि उसको पछि-पछि अजान दोहोर्याउनु पर्छ। तर (हय्या अलस्सलाह) र (हय्या अलल्फलाह) को जवाफमा (लाहौल वला कुव्वता इल्ला बिल्लाह) भन्नु पर्छ।

अजान सकेपछि यो दुआ पढ्नु पर्छ…  (अल्लाहुम्म रब्ब हाजि हिद्दाअ्व तित्ताम्मह वस्सलातिल् काइमह आते मोहम्मद निल् वसीलत वल् फजीलह वब्असहु मकामम्महमूद निल्लजी वअत्तह)।