पवित्रताको अर्थ

पवित्रताको वास्तविक अर्थ : सरसफाई, शुद्धता र स्वच्छता हो।

अल्लाहले मुस्लिमलाई भित्रि आत्मा र बाहिरी भाग दुवैलाई पवित्र पार्न आदेश दिनु भएको छ। शरीरको बाहिरी भागलाई प्रत्यक्ष अवैध चीजबीज र दिसा-पिसाबबाट सफा-सुग्घर राख्नु पर्दछ भने भित्रि आत्मालाई शिर्क, इर्ष्या, डाह, घमण्ड, धोखा जस्ता हृदय रोगबाट शुद्ध पार्नु पर्दछ। यसो गरियो भने अल्लाहको मायाको हकदार बन्न सकिन्छ। अल्लाहले भन्नु भएको छ… “अल्लाहले धेरै तौबा (प्रायश्चित) गर्ने तथा सफा-सुग्घर रहने व्यक्तिहरूलाई मन पराउनु हुन्छ।” (श्रोत- सूरह अल्-बकरह : २/२२२)

अल्लाहले सलाह (नमाज) पढ्नको लागि पवित्रतालाई अनिवार्य गर्नु भएको छ, किनभने यसले अल्लाहको निकटता तथा उहाँसँग कुराकानी गर्ने सौभाग्य प्राप्त हुन्छ। मानौं, कुनै देशको राजा वा राष्ट्रपतिसँग भेट गर्ने अवसर पाउनु भयो भने तपाई कस्तो खालको पोशाक लगाउन मन पराउनु हुन्छ ? मेरो बिचारमा तपाई सबैभन्दा राम्रो वस्त्र धारण गरी चिटिक्क परेर जान रुचाउनु हुन्छ। त्यसो भए सिङ्गो संसारको एक्लो मालिकसँग भेट्न जाँदा कस्तो हुनुपर्छ त ?

सलाह (नमाज) पढ्नको लागि चाहिने पवित्रता के हो?

अल्लाहले मुस्लिमलाई सलाह (नमाज) पढ्न, कुरआनलाई छुन वा काबाको तवाफ (परिक्रमा) गर्न विधिपुर्वक अनिवार्य रुपमा पवित्रता प्राप्त गर्ने आदेश दिनु भएको छ, तर कुरआनलाई नछोइकन पाठ गर्न, दुआ गर्न र सुत्नको लागि पवित्रता प्राप्त गर्नु बेस भनिएको छ।

सलाह पढ्नको लागि निम्न दुई कुराहरुबाट पवित्र हुनुपर्छ…

१- वाह्य अपवित्रता

२- आन्तरिक अपवित्रता

फोहोरबाट पवित्रता प्राप्त गर्नु

  • फोहोर- महसुस गर्न सक्ने प्रत्यक्ष अपवित्रतालाई इस्लामि विधानले फोहर मैला भनेको छ। उपासनाको लागि यसबाट पूर्ण रुपमा पवित्र हुनुपर्छ।
  • हरेक कुराको असल आधार जायज र पवित्र हुन्छ तथा अपवित्रता पछि उत्पन्न हुने कुरा हो। यदि लुगामा फोहोर लागेको शंका हुन्छ, तर फोहोर देखिदैन भने त्यो पवित्र छ।
  • सलाह (नमाज) पढ्नको लागि शरीर, लुगा र नमाज पढिने स्थान सबैलाई सम्पूर्ण किसिमका अपवित्रताबाट अनिवार्य रुपमा पवित्र पार्नु पर्दछ।

फोहोर वस्तुहरु-

1 १- मानिसको दिसा-पिसाब।
2 २- रगत, तर थोरै मात्रामा छ भने फरक पर्दैन।
3 ३- मासु खान अवैध गरिएका जनावरहरुको मल-मुत्र। (पृष्ठ न० १७३ हेर्नुहोस्)
4 ४- कुकुर र सुँगुर।
5 ५- मृत जनावरहरु (मासु खान वैध गरिएका जनावरहरु यस अन्तर्गत पर्दैन)। स्मरण रहोस् ! मृत मानिस, मृत माछा र किरा फट्यांग्राहरुको शरीर पवित्र छ।

फोहोरबाट पवित्र हुनु-

शरीर, कपडा र ठाउँमा फोहोर-मैला लागेको छ भने पानीले धुएर वा कुनै तरिकाले सफा गर्यो भने त्यो पर्याप्त हुनेछ। किनभने इस्लामि विधानले त्यसलाई सफा गर्ने आदेश दिएको छ। कुकुरको फोहोर (राल, पिसाब र दिसा) लागेको छ भने त्यसलाई ७ चोटि; १ चोटि माटोले र ६ चोटि पानीले धुन भनिएको छ। यस बाहेक अन्य फोहोरको सफाईपछि त्यसको असर वा दाग गएन भने केही फरक पर्दैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले एउटी महिलाको महिनावारीको बारेमा प्रश्नको जवाफमा भन्नु भएको छ… “रगतलाई सफा गर्नु नै पर्याप्त हुन्छ। त्यसको असर वा दागले केही फरक पर्दैन।” (श्रोत- अबुदाऊद : ३६५)

दिसा-पिसाब गर्ने तरिका-

  • शौचालय पस्दा पहिले देब्रे खुट्टा भित्र राख्नु बेस हो। पस्ने बेला यो दुआ पढ्नु : 'बिस्मिल्ला, अल्लाहुम्म इन्नी आउजुबिक मिनल-खुबुसि वल्-खबाइस्'। अर्थात हे अल्लाह ! बदमास पुरुष र महिला शैतानको उपद्रवबाट तिम्रो शरणमा आउँछु। 
  • निस्कने बेला पहिले दायाँ खुट्टा बाहिर निकाल्नु र निम्न दुआ पढ्नु : 'गुफ्रानक' अर्थात हे अल्लाह ! क्षमा गर।
  • दिसा-पिसाबको बेला मानिसहरुको नजरबाट गुप्ताङ्गहरुलाई छोप्नु पर्दछ।
  • सार्वजनिक ठाउँमा कहिल्यै पनि दिसा-पिसाब गर्नु हुँदैन।
  • खुल्ला ठाउँमा, दुलोमा दिसा-पिसाब गर्नु अवैध छ, किनभने त्यस भित्र रहेको विषालु किराले टोक्न सक्छ।
  • खुल्ला ठाउँमा दिसा-पिसाब गर्दा किब्ला (मक्का) तिर अनुहार तथा पिठ्यूँ फर्काउनु हुँदैन। तर घर भित्र रहेका शौचालयहरुमा त्यसो गर्दा केही फरक पर्दैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “दिसा-पिसाब गर्दा किब्लातिर अनुहार र पिठ्यूँ नफर्काऊ।” (श्रोत- बुखारी : ३८६, मुस्लिम : २६४)
  • दिसा-पिसाबको छिंटाबाट लुगा र जिऊलाई जोगाउनु पर्दछ, तै पनि कतै लागेको छ भने त्यसलाई धुनु पर्छ।
  • दिसा-पिसाब गरिसकेपछि दुईवटा कुरालाई ध्यान दिनु पर्नेछ- मलमुत्रलाई सफा गर्दा देब्रे हातलाई प्रयोग गर्नु।
मलमुत्रलाई पानीले सफा-सुग्घर गर्नु। यसलाई 'इस्तिन्जा' भनिन्छ।

 

अथवा तीन वा तीन भन्दा बढी ढुङ्गा, माटो, टिशु वा अन्य वस्तुले मलमुत्रलाई सफा-सुग्घर गर्नु पर्दछ। यसलाई 'इस्तिज्मार' भनिन्छ।

अपवित्रता

  • पवित्र पानीले वजू वा स्नान गरेर उक्त आन्तरिक अपवित्रताबाट पवित्र हुन सक्छ। पवित्र पानी- जसमा फोहोर मिसेको हुँदैन र पानीको रङ्ग, स्वाद र गन्ध परिवर्तन भएको छैन भने त्यो पवित्र पानी हो।
  • वजू गरी सकेपछि जबसम्म वजू भंग हुँदैन, तबसम्म सलाहहरु पढ्न सकिन्छ।

अपवित्रता दुई किसिमका हुन्छन्-

१) सानो अपवित्रता… यस्तो अवस्थामा वजू गर्नु पर्छ।
२) ठूलो अपवित्रता… यस्तो अवस्थामा पूरै शरीरमाथि पानी बगाएर नुहाउनु पर्छ।

सानो अपवित्रता र वजू-

एउटा मुस्लिमको पवित्रता निम्न कुराहरुले भङ्ग हुन्छ र सलाहको लागि वजू गर्नु पर्छ-

  1. १- दिसा-पिसाब तथा गुप्ताङ्गबाट निस्कने कुराहरु, जसतै… हावा खुस्किनु। अल्लाहले वजू भङ्ग गर्ने कुराहरुको वर्णन गर्दै भन्नु भएको छ… “वा तिमीहरुमध्ये कोही दिसा-पिसाबप गरेर आएको होस्।” (श्रोत- सूरह अन्-निसा : ४/४३)
  2. जसलाई सलाह पढिरहेको बेला हावा खुस्कियो कि भन्ने शंका लाग्छ उसको लागि रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जबसम्म हावा खुस्केको आवाज आउँदैन वा गन्ध महसुस हुँदैन तबसम्म सलाहलाई छोड्नु हुँदैन।” (श्रोत- बुखारी : १७५, मुस्लिम : ३६१)
  3. २- बिना बाधक उत्तेजनापूर्वक गुप्ताङ्गलाई छुनु। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसले आफ्नो गुप्ताङ्गलाई छुन्छ, उसले वजू गर्नु पर्छ।” (श्रोत- अबु-दाऊद : १८१)
  4. ३- ऊँटको मासु खानु। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित सोधियो… ऊँटको मासु खाएपछि वजू गर्नु पर्छ ? उहाँले भन्नु भयो… “हो।” (श्रोत- मुस्लिम : ३६०)
  5. ४- निन्द्रा, बौलापन वा बेहोशीले चेतना गुमाएमा वजू भङ्ग हुन्छ।