बहु विवाह

बिहे सम्बन्धी इस्लामको असल नियम के छ भने पुरुषले एउटै महिलासँग बिहे गर्नु पर्दछ, ताकि एक अर्कालाई माया गरुन् र सुखमय संसार बसाउन्। तर इस्लामले सामाजिक र व्यक्तिगत हकहितको लागि बहु विवाहलाई वैध गरेको छ जसरी अघिल्लो धर्महरुमा जायज थियो। तथापि बहु विवाहलाई बिना कुनै नियम छाडा छोडिएको होइन, बरु यसलाई कानूनको नत्थी लगाएर नियन्त्रित र मर्यादित गरिएको छ। नारीका सम्पूर्ण हकहितहरु सुरक्षित गरिएको छ। तिनीहरुमाथि हुने अन्याय, अत्याचार र दमनलाई रोकथाम गर्ने कडा शर्तहरु लगाइएका छन्। बहु विवाह गर्ने शर्तहरु यस प्रकार छन्…

  1. १- न्याय-

श्रीमतीहरु बीच भौतिक कुराहरूमा न्याय गर्नु पर्छ, जस्तै… निर्वाह-खर्च, शारीरिक सम्बन्ध इत्यादि र जसले श्रीमतीहरु बीच न्याय गर्न सक्दैन भने उसको लागि बहु विवाह अवैध छ। अल्लाहले भन्नु भएको छ… “यदि तिमीहरु (पत्नीहरू बीच) न्याय गर्न सक्दैनौ भने एउटीमा मात्र सीमित रह।” (श्रोत- सूरह अन्-निसा : ४/३) रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसको दुईवटा श्रीमतीहरु छन्, तर ऊ एकातिर झुक्छ भने महाप्रलयको दिन उसको शरीरको एकातिरको भाग झुकेको हुनेछ।” (श्रोत- अबु-दाऊद : २१३३)

तर आध्यात्मिक मायामा न्याय गर्नु अनिवार्य छैन, किनभने मुटुलाई नियन्त्रण गर्न सकिदैन र यही नै अल्लाहको भनाईको तात्पर्य हो। अल्लाहले भन्नु भएको छ… “तिमीहरूले चाहेर पनि पत्नीहरू बीच न्याय गर्न सक्दैनौ।” (श्रोत- सूरह अन्-निसा : ४/१२९)

 

  1. २- पत्नीहरूलाई निर्वाह-खर्च दिने क्षमता-

सम्पूर्ण श्रीमतीहरुका लागि निर्वाह-खर्च जुटाउने शक्ति हुनुपर्दछ। किनभने निर्वाह-खर्च पहिलो विवाहको लागि शर्त छ भने बहु विवाह गर्दा त झन् अनिवार्य छ। 

  1. ३- चार भन्दा बढी नहोस्-

इस्लाममा चार भन्दा बढी महिलाहरुसँग विवाह गर्न अवैध छ। अल्लाहले भन्नु भएको छ… “तिमीहरु आफूलाई मन परेकी स्त्रीहरुमध्ये दुई-दुई, तीन-तीन वा चार जनासँग बिहे गर, तर पत्नीहरु बीच न्याय गर्न न सक्ने डर छ भने एउटीमा मात्र सीमित रह।” (श्रोत- सूरह अन्-निसा : ४/३) यदि कसैले इस्लाम ग्रहण गरेको छ र ऊ सँग चार भन्दा अधिक पत्नीहरू छन् भने चार बाहेक बाँकीलाई अनिवार्य रुपमा तलाक दिनु पर्छ।

  1. ४- केही महिलाहरुलाई एकसाथ विवाह बन्धनमा राख्न अवैध छ-
  • श्रीमती र उसको दिदीबहिनी (साली) लाई एकसाथ वैवाहिक बन्धनमा राख्नु अवैध छ।
  • श्रीमती र उसको सानीमा (खाला) लाई एकसाथ वैवाहिक बन्धनमा राख्नु अवैध छ।
  • श्रीमती र उसको फुपूलाई एकसाथ वैवाहिक बन्धनमा राख्नु अवैध छ।

तलाक (पारपाचुके)

वैवाहिक सम्बन्ध सदा कायम रहोस्, दुवैको सफल जीवनमा कसैको आँखा नलागोस् र  सुखमय दाम्पत्य जीवन मृत्युसम्म बाँकी रहोस् भन्ने इस्लामले घोषणा गरेको छ। अल्लाहले विवाहलाई बलियो सन्धिको संज्ञा दिनु भएको छ। त्यसैले सीमित अवधिको लागि इस्लाममा बिहे गर्नु वैध छैन।

इस्लामले यस्तै सुखमय दाम्पत्य जीवनको प्रेरणा दिन्छ। तर यस पृथ्वीमा बसोबास गरिरहेका विभिन्न स्वभाव र नानाथरीका मानिसहरुलाई एक अर्काबाट छुटकारा दिलाउन कानून पारित गरेको छ। जुन बेला जीवनका पलहरु बिताउन गाह्रो हुन्छ, बाटो साँघुरो हुँदै जान्छ, समाधानका सम्पूर्ण युक्तिहरु विफल हुन जान्छ र दाम्पत्य जीवन नरकमा परिणत हुन्छ, त्यतिबेला महिला र पुरुषलाई अलग गराउनु नै न्यायपूर्ण हुनेछ। यदि सम्बन्ध विच्छेद भएन भने आपसमा अझै घृणा र समस्याहरु उत्पन्न हुन सक्छन्। त्यसैले अन्तिम विकल्पको रुपमा तलाकलाई रोज्न वैध गरिएको छ, किनभने बिहेको उद्देश्य पूरा नभइरहेको बेला अलग हुनुमा नै साथ रहनु भन्दा कम हानि बेहोर्नु पर्छ।

त्यसैले इस्लामले यस्तो नाजुक अवस्थाबाट निस्कन तलाकलाई वैध गरेको छ। हरेकले आफ्नो नयाँ जीवन साथी रोज्न सक्छ र प्राप्त नभएको सुख र आनन्द प्राप्त गर्न सक्छ। अल्लाहले भन्नु भएको छ… “यदि पति-पत्नी एक अर्कासँग अलग हुन्छन् भने अल्लाहले दुवैलाई आफ्नो कृपाले आत्मनिर्भर तुल्याउनु हुनेछ। अल्लाह अत्यन्तै कृपालु र तत्वदर्शी हुनुहुन्छ।” (श्रोत- सूरह अन्-निसा : ४/१३०)

तर यसलाई नियन्त्रण गर्न धेरै नियम कानूनहरु पारित गरिएका छन्, जस्तै…

  • जसरी पुरुषलाई तलाक दिने अधिकार छ त्यस्तै महिलालाई पनि छ।
  • यदि पतिसँग जीविका निर्वाह गर्न गाह्रो भयो र पतिले तलाक दिन मानेन भने पत्नीलाई अदालतको ढोका ढकढक्याउने अधिकार छ। त्यसपछि न्यायाधीशले सत्य-तथ्य पत्ता लगाई छोडपत्र दिनेछ।
  • दुई पटकसम्म तलाक दिएपछि पत्नीलाई फर्काउन सकिन्छ। तर तेस्रो तलाकपछि फर्काउन सकिन्न। यदि अर्को पुरुषले उनीसँग इस्लामि विधि अनुसार विवाह गर्छ र कथम कदाचित उसले तलाक दियो भने पहिलो श्रीमानसित पुनः नयाँ विवाह हुन सक्छ । वैधानिक तलाक- जुन महिनावारीबाट पवित्र भएपछि पतिले पत्नीलाई सम्भोग गरेको छैन, त्यसबेला तलाक दिनु।