कलेमा (दुवै गवाहीहरु) को अर्थ र अभिलाषा

म गवाही दिन्छु, अल्लाह बाहेक अरु कोही सत्य उपास्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुन्।

ला इलाहा इल्लल्लाह नै किन?

  • किनभने यो नै मुस्लिमको पहिलो कर्तव्य हो। यदि कोही व्यक्ति इस्लाम ग्रहण गर्न चाहन्छ भने उसले सर्वप्रथम यसै कुरालाई तन, मन र वचनले स्वीकार गर्नु पर्दछ।
  • जसले अल्लाहलाई राजी पार्नको लागि विश्वासका साथ यसको गवाही दिन्छ, उसको लागि यो गवाही नरकबाट मुक्ति पाउने माध्यम बन्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “अल्लाहको खुशीको लागि साँचो र स्वच्छ मनले ला इलाहा इल्लल्लाहको गवाही दिने व्यक्तिमाथि अल्लाहले नरकलाई अवैध गर्नु भएको छ।” (श्रोत- बुखारी : ४१५)
  • जसको मृत्यु उक्त गवाहीमाथि आस्था राखेको अवस्थामा हुन्छ, ऊ अवश्य नै स्वर्गमा जानेछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “अल्लाह बाहेक अरु कोही सत्य ईश्वर छैन” माथि आस्था राखेको अवस्थामा कसैको मृत्यु भयो भने ऊ अवश्य नै स्वर्गमा जानेछ।” (श्रोत- अहमद : ४६४)
  • तसर्थ ला इलाहा इल्लल्लाहको बारेमा जानकारी प्राप्त गर्नु अनिवार्य र अति महत्वपूर्ण छ।

ला इलाहा इल्लल्लाहको अर्थ-

अल्लाह बाहेक अरु कोही सत्य ईश्वर छैन। यसमा दुईवटा विषयहरु छन्… अल्लाह बाहेकका सम्पूर्ण उपास्यहरुलाई असत्य मान्नु र मात्र अल्लाहलाई सत्य उपास्य स्वीकार गर्नु, जसको कोही साझेदार छैन।

ईश्वर र पूज्य लाई अरबी भाषामा 'इलाह' भनिन्छ।  त्यसैले जुनसुकै चीजबीज र सृष्टिलाई पूजा गर्नु, उसको लागि झुक्नु, ढोग गर्नु भनेको उसलाई ईश्वर मान्नु हो। त्यसैले साँचो ईश्वर अल्लाह बाहेक अन्य कसैको उपासना गर्नु गलत र ठूलो पाप हो।

उपासना योग्य मात्र अल्लाह नै हुन्। मुटुभरी उहाँ कै लागि माया र आदर छ, दुआ गर्नु छ भने उहाँसित नै गरौं, मद्दत माग्नु छ भने उहाँसित नै मागौं, भरोसा गर्नु छ भने उहाँमाथि नै गरौं, सलाह पढ्नु छ भने उहाँको लागि नै पढौं, वलिदान दिनु छ भने उहाँको खुशीको लागि नै दिउँ। अत: नि:स्वार्थ भावनाले मात्र अल्लाहको लागि उपासना गरौं। अल्लाहले भन्नु भएको छ… “उनीहरुलाई एकाग्र भएर मात्र अल्लाहको उपासना गर्ने आदेश दिएको छ।” (श्रोत- सूरह अल्-बैयिनह :९८/५)

स्मरण रहोस् ! जसले ला इलाहा इल्लल्लाहको अर्थलाई सम्झेर स्वच्छ मनले अल्लाहको उपासना गर्छ, उसले सुख, शान्ति र सहज जीवन पाउनेछ। किनभने एउटै अल्लाहको उपसनाले नै तनमनलाई वास्तविक शान्ति मिल्दछ। अल्लाहले भन्नु भएको छ… “आस्थावान पुरुष वा महिलामध्ये जसले सत्कर्म गर्छ, उसलाई सुखमय सांसारिक जीवन प्रदान गर्नेछौं।” (श्रोत- सूरह अन्-नहल :१६/९७)

ला इलाहा इल्लल्लाहका स्तम्भहरु-

यसमा दुईवटा स्तम्भहरु छन्। यसको अर्थ र अभिलाषालाई प्रष्ट पार्न यसको ज्ञान अति आवश्यक छ, यी दुई स्तम्भहरु निम्न छन्…

पहिलो स्तम्भ… 'ला इलाहा' अल्लाह बाहेक जे जति मानिस, जनावर, देवी-देवता, मूर्ति, प्रतिमा, सूर्य-चन्द्रमा, नक्षत्र इत्यादि पुजिन्छन् ती सबैलाई अस्वीकार गर्नु।

दोस्रो स्तम्भ… 'इल्लल्लाह' उपासनाका सम्पूर्ण प्रकारहरुलाई अल्लाहको लागि मात्र खास गर्नु, जस्तै… सलाह (नमाज) पढ्नु, दुआ गर्नु, भरोसा गर्नु इत्यादि।

उपासनाका सम्पूर्ण प्रकारहरुलाई अल्लाहकै लागि खास गर्नु। यदि कसैले उहाँको उपासनामा अरु कसैलाई साझेदार बनाउँछ भने ऊ काफिर (अवज्ञाकारी) हुन्छ।

अल्लाहले भन्नु भएको छ… “जसले बिना प्रमाण अल्लाहको उपासनामा अरुलाई साझेदार बनाउँछ उसको लेखाजोखा अल्लाहले गर्नु हुनेछ। वास्तवमा काफिर (अवज्ञाकारी) हरुले कहिल्यै पनि सफलता प्राप्त गर्न सक्दैनन्।” (श्रोत- सूरह अल्-मुमिनून : २३/११७)

ला इलाहा इल्लल्लाहको अर्थ तथा स्तम्भहरुलाई प्रष्ट पर्दै अल्लाहले भन्नु भएको छ… “जसले अल्लाह बाहेकका उपास्यलाई अस्वीकार गर्यो र अल्लाहमाथि ईमान ल्यायो त्यसले कहिल्यै नटुट्ने बलियो सहारा थाम्यो।” (श्रोत- सूरह अल्-बकरह : २/२५६)

अल्लाहको भनाई… “जसले अल्लाह बाहेकका उपास्यलाई अस्वीकार गर्यो” मा पहिलो स्तम्भको र “अल्लाहमाथि ईमान ल्यायो” मा दोस्रो स्तम्भको अर्थ हो।

मुहम्मद अल्लाहका रसूल हुन् भन्ने कुराको गवाही दिनु

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को परिचय

उहाँको शुभ जन्म-

सन् ५७० ई॰ मा साउदी अरबको प्रसिद्ध र पवित्र ठाउँ 'मक्का' मा टुहुरो भएर जन्मिनु भयो। उहाँलाई असाध्यै माया गर्ने आमाले पनि चाँडै नै छोडेर जानु भयो। त्यसपछि हजुरबा 'अब्दुल-मुत्तलिब' को पालनपोषणमा हुर्कनु भयो तर केही समयपछि उहाँको पनि मृत्यु भयो। त्यसपछि काका 'अबु-तालिब' को पालनपोषणमा हुर्कनु भयो।

उहाँको बाल्यकाल-

सन्देष्टा (रसूल) हुनु भन्दा अगाडि आफ्नो जीवनको चालिस वर्ष (५७०-६१० ई॰) आफू जन्मेको स्थान र गोत्र 'कुरैश' मा बिताउनु भयो। उहाँको जीवन सबैको लागि एउटा अतुलनीय उदाहरण थियो। उहाँ आफ्नो समुदायमा अमीन र सादिक (इमान्दार र सत्यवान) को उपनामले प्रसिद्ध हुनुहुन्थ्यो। दुई छाक टार्नको लागि उहाँले मक्काको चर्को घाममा भेंडाबाख्रा चराउने काम समेत गर्नु भयो र बिस्तारै-बिस्तारै व्यवसायतिर पाईला टेक्नु भयो। इस्लाम अघि उहाँ एकाग्र भएर हाम्रा पुर्खा इब्राहीम (अलै-हिस्सलाम) को तरिका अनुसार अल्लाहको ईबादत गर्नु हुन्थ्यो। मूर्ति पूजा तथा बहुदेववादी प्रथादेखि असाध्यै घृणा गर्नु हुन्थ्यो। उहाँले जीवनमा कहिल्यै पनि मूर्ति पूजा गर्नु भएन।

रसूलको ताज पहिरेको दिन-

यसरी उहाँले आफ्नो उमेरको चालिस वर्ष पूरा गर्नु भयो। उहाँ मक्का नजिक 'नूर पर्वत' मा अवस्थित 'हेरा गुफा' मा गएर सोचविचार र अल्लाहको उपासना गर्नु हुन्थ्यो। निर्मित मूर्ति तथा प्रतिमाको पूजाबाट मानिसहरुलाई कसरी बचाउन सकिन्छ भन्ने कुरामाथि मनन् गर्नु हुन्थ्यो। एक दिन त्यसै गुफामा उपासना गरिरहेको बेला अल्लाहले आफ्नो वरिष्ठ तथा विशेष स्वर्गदूत 'जिब्रिल' लाई पठाएर उहाँलाई अन्तिम रसूल छनौट गर्नु भयो। सर्वप्रथम कुरआनका यी आयत (श्लोक) हरु अवतरण भएका थिए। यसको पहिलो शब्द “ईक्रा विस्मि रब्बिकल्लजी खलक” (पढ त्यस ईश्वरको नामबाट जसले सृष्टि गर्यो) ले नै ज्ञान-विज्ञान तथा सुमार्गदर्शनको महत्वलाई दर्शाईरहेको छ। यसरी २३ वर्षको अवधिमा पूरा कुरआन अवतरण भयो।

प्रचार-प्रसारको प्रारम्भ-

रसूलको ताजबाट सम्मानित भइसकेपछि उहाँ इस्लामको प्रचार-प्रसारमा सक्रिय हुनु भयो। दु:ख-पीडा र आफ्नो ज्यानको परवाह नगरिकन तीन वर्षसम्म लुकिछिपी इस्लामको आह्वान गर्नु भयो। त्यसपछि दश वर्षसम्म खुल्लमखुल्ला इस्लामतिर आह्वान गर्नु भयो। प्रचार-प्रसारको क्रममा आफ्नै घरपरिवार र समाजबाट सहन नसक्ने नानाथरीका मानसिक तथा शारीरिक यातना भोग्न बाध्य हुनु भयो। हज्जमा आउने भक्तजनहरुलाई इस्लामको आह्वान गर्नु हुन्थ्यो। तिनीहरुमध्ये मदीनावासीले उहाँको निमन्त्रणालाई स्वीकार गरे अनि सकेसम्म सहयोगको वाचा पनि गरे। त्यसपछि मक्कावासीले दिएको दु:ख-पीडा खप्न नसकेर मुस्लिमहरु विस्तारै-विस्तारै मदीना तर्फ हिजरत (प्रवास) गर्न थाले।

उहाँको हिजरत (प्रवास)-

मक्कावासीको दु:ख-पीडा सहेर भए पनि १३ वर्षसम्म उहाँले तिनीहरुलाई इस्लामको आह्वान गर्नु भयो। तिनीहरुले सामुहिक रूपमा उहाँको हत्या गर्न दुष्प्रयास गरे। इस्लामको दियो ननिभोस् भनेर उहाँले सन् ६२२ ई॰ मा मदीनातिर हिजरत (प्रवास) गर्नु भयो। त्यतिबेला मदीनाको नाम 'यस्रिब' थियो र उहाँ ५३ वर्षको हुनुहुन्थ्यो। आफ्नो जीवनको अन्तिम दश वर्ष मदीनामा नै बिताउनु भयो। सलाह, जकातलगायत इस्लामका सम्पूर्ण विधि-विधानहरुलाई पूर्ण रुपमा व्यख्या गर्नु भयो र हामीलाई जीवनको गोरेटोमा खाँचो पर्ने हरेक कुराहरुको जानकारी दिनु भयो।

इस्लामको विस्तार-

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मदीनाको प्रवासपछि सन् ६२२-६३२ ई॰ सम्मको अवधिमा इस्लामि संस्कार र सभ्यताको बीउ छर्नु भयो। एउटा असल मुस्लिम समाजमा हुनुपर्ने गुणहरुलाई औंल्याउनु भयो। गोत्रको पक्षपात गर्ने प्रवृत्तिलाई निर्मुल पार्नु भयो। जताततै ज्ञानको ज्योति छर्नु भयो। न्याय, निसाफ, स्थिरता, भाइचारा, आपसी सहयोग र राज्य व्यवस्थालाई कायम गर्नु भयो। केही गोत्रहरुले इस्लामलाई निर्मुल पार्न खोज्दा विभिन्न युद्ध तथा घटनाहरु घटियो, जसमा अल्लाहले आफ्नो धर्म र रसूललाई विजय गर्नु भयो। त्यसपछि इस्लाम ग्रहण गर्नेहरुको ओइरो नै लाग्यो। मक्कालगायत अरब खाडिमा रहेका अधिकांश शहर तथा गोत्रहरु राजी खुशी इस्लामको छत्रछायाँमा आउन थाले।.

उहाँको निधन-

उहाँले दूतत्व र सुम्पिएको जिम्मेवारीलाई हामी माझ पुर्याउनु भयो। इस्लामलाई पूर्ण गरेर अल्लाहले आफ्नो वरदानलाई पूरा गर्नु भयो। इस्लामि पात्रो अनुसार हिज्री सम्वत ११ को 'सफर' को महिनामा उहाँलाई ज्वरो आयो र अवस्था नाजुक हुँदै गयो यहाँसम्म कि 'रबिउल-औवल' महिनामा सोमवारको दिन तदानुसार ८/६/६३२ ई॰ ६३ वर्षको उमेरमा उहाँको निधन भयो। मस्जिद नब्वीको छेउमा रहेको श्रीमती आईशा (रजियल्लाहु अन्हा) को घरमा उहाँलाई 'दफन' गरियो।

हाम्रो नबीको नाम-
मुहम्मद बिन अब्दुल्लाह बिन अब्दुल-मुत्तलिब बिन हाशिम अल्-कुरशी।
अरबको सबैभन्दा गौरबमय बंश उहाँको नै थियो।
विश्वव्यापी रसूल-
अल्लाहले हाम्रो नबी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई समस्त संसारबासी गोरो-कालो, अरबी, गैर-अरबी तथा सम्पूर्ण जात वर्गको लागि विश्वव्यापी रसूल बनाएर पठाउनु भएको थियो। उहाँको अनुसरण सबैमाथि अनिवार्य छ। अल्लाहले भन्नु भएको छ… “भनिदेऊ, हे मानव हो ! म तिमीहरु सबैका लागि अल्लाहको सन्देष्टा (रसूल) बनाएर पठाइएको हुँ।” (श्रोत- सूरह अल्-आ'राफ : ७/१५८)
उहाँमाथि कुरआन अवतरण भयो-
अल्लाहले हाम्रो नबी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि महान र पवित्र ग्रन्थ कुरआन अवतरण गर्नु भयो। जसमा अगाडि-पछाडि, दाँया-बाँया कतैबाट मिथ्या कुरा कदापि मिसाउन सकिदैन।
सम्पूर्ण नबी र रसूलहरुका समापक-
अल्लाहले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई दूतत्वलाई समाप्त गर्ने अन्तिम रसूल छनौट गरेर पठाउनु भएको थियो। उहाँपछि कुनै अर्को रसूल आउनु हुने छैन। अल्लाहले भन्नु भएको छ… “उनी अल्लाहका अन्तिम रसूल र सम्पूर्ण सन्देष्टाहरुका समापक हुन्।” (श्रोत- सूरह अल्-अह्जाब : ३३/४०)

मुहम्मद अल्लाहका रसूल हुन् भन्ने कुराको गवाही दिनुको अर्थ-

उहाँले दिनु भएका समाचारहरुको पुष्टि गर्नु, उहाँका आदेशहरुको पालना गर्नु, उहाँले मनाही गर्नु भएका कुराहरुबाट जोगिनु र उहाँको तरिका (सुन्नत) अनुसार नै अल्लाहको ईबादत गर्नु।

उहाँमाथिको आस्थाले कुन विषय वस्तुलाई समेटेको छ?

  1. १- उहाँले जानकारी गराउनु भएका सम्पूर्ण कुराहरुको पुष्टि गर्नु, जस्तै…
  • अदृश्य र कयामतका कुराहरु, स्वर्ग र त्यसका वरदानहरु, नरक र त्यसका यातनाहरु इत्यादि।
  • कयामतका निशानीहरु, कहाली लाग्दा घटनाहरु र अन्तिम युगमा घटिने घटनाहरु इत्यादि।
  • आदिकालमा भएका कुराहरु, सन्देष्टा र तिनीहरुको समुदाय बीच भएका संवादहरु इत्यादि।
  1. २- उहाँको आदेशको पालना गर्नु र अवज्ञा नगर्नु, यसले निम्न कुराहरुलाई समेटेको छ,-
  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को पूर्ण अनुसरण गर्नु पर्छ, किनकि हामीलाई यो कुरामा विश्वास छ कि उहाँले आफ्नो इच्छाले केही पनि बोल्नु भएन, जे बोल्नु भयो अल्लाहको आदेश अनुसार नै बोल्नु भयो। अल्लाहले भन्नु भएको छ… “जसले रसूलको अनुसरण गर्यो, वास्तवमा उसले अल्लाहको अनुसरण गर्यो।” (श्रोत- सूरह अन्निसा : ४/८०)
  • उहाँले मनाही गर्नु भएका अवैध कुराहरु जस्तै… नराम्रो आचरण, दुर्व्यवहार इत्यादिबाट जोगिनु। हामीलाई यो कुरामा विश्वास छ कि मनाही गरिएका कुराहरुमा अल्लाहको कुनै न कुनै रहस्य छ र हाम्रो हितको लागि उपयुक्त छैन, यद्यपि त्यसको कारण हामीलाई थाहा नहोस्।
  • उहाँका सम्पूर्ण आदेशहरुको पालना गरियो भने हामीलाई लोक र परलोकमा सुख, शान्ति तथा आनन्द प्राप्त हुनेछ। अल्लाहले भन्नु भएको छ… “अल्लाह र रसूलको आज्ञापालन गर, ताकि तिमीहरुमाथि दया गरियोस्।” (श्रोत- सूरह आलि-इमरान : ३/१३२)
  • विश्वास राख्नु कि उहाँको अवज्ञाले नराम्रो परिणाम र कष्टकर सजाय हुनेछ। अल्लाहले भन्नु भएको छ… “उहाँको आदेश उल्लंघन गर्नेहरु सावधान रहुन्, कतै उनीहरुलाई कुनै संकटले नघेरोस् वा कुनै दु:खदायी प्रकोपले नसमातोस्।” (श्रोत- सूरह अन्-नूर : २४/६३)
  1. ३- उहाँको तरिका र निर्देशन अनुसार नै अल्लाहको ईबादत गर्नु, यसले निम्न कुराहरुलाई समेटेको छ,-
  • उहाँको पूर्ण अनुसरण- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को जीवन हाम्रो निम्ति आदर्श र ज्योति हो। एउटा साँचो मुस्लिमले जीवनको हरेक पाईला-पाईलामा उहाँको भनाई, गराई र आदेशको पूर्ण अनुसरण गर्नु पर्छ। हामी जति उहाँको अनुसरण गर्छौं त्यत्तिकै अल्लाहसँग नजिक हुनेछौं। उहाँको मायालु बन्न सक्छौं अनि स्वर्गमा उच्च स्थान प्राप्त गर्न सक्छौं। अल्लाहले भन्नु भएको छ… “भनिदेऊ, यदि तिमीहरु अल्लाहसँग प्रेम गर्छौ भने मेरो अनुसरण गर। अल्लाहले तिमीहरुसँग प्रेम गर्नु हुनेछ र तिम्रा पापहरुलाई पखालि दिनु हुनेछ। अल्लाह अत्यन्त क्षमाशील तथा परम दयालु हुनुहुन्छ।” (श्रोत- सूरह आलि-इमरान :३/३१)
  • इस्लामि विधि-विधान पूर्ण छ- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले इस्लाम र यसका सम्पूर्ण विधि-विधानहरुलाई बिना कुनै कमिबेशी पूर्ण रुपमा हामी समक्ष पुर्याउनु भएको छ। त्यसैले कसैलाई यसमा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) बाट अप्रमाणित कुनै नयाँ कुराहरुको आविष्कार गर्ने वा थप्ने कुनै अधिकार छैन।
  • अल्लाहको विधान प्रत्येक समय र स्थानको लागि अनुकूल छ- कुरआन र हदीसबाट प्रमाणित विधि-विधान र ऐन कानूनहरु प्रत्येक समय र ठाउँका लागि एकदम उचित र अनुकूल छ। मानिसको हकहितको बारेमा अल्लाह भन्दा बढी ज्ञान अरु कसलाई हुन सक्छ ? जसले उसको सृष्टि र अनुपस्तिथिबाट अवस्थित गर्नु भएको छ।
  • सुन्नतको अनुसरण- कुनै पनि ईबादत कबूल हुनको लागि 'इख्लास र इत्तिबा' अर्थात मात्र अल्लाहकै लागि र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को तरिका अनुसार नै हुनुपर्छ। अल्लाहले भन्नु भएको छ… “जो कोही आफ्नो प्रभुसित भेट्न इच्छुक छ, उसले सत्कर्म गर्नु पर्दछ र आफ्नो ईश्वरको उपासनामा कसैलाई साझेदार बनाउनु हुँदैन।” (श्रोत- सूरह अल्-कहफ : १८/११०)
  • धर्ममा नयाँ कुराको आविष्कार अवैध छ- यदि कसैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) बाट अप्रमाणित उपासना वा त्यसका अनौठा तरिकाहरु आविष्कार गर्छ भने त्यो कदापि स्वीकार हुँदैन। यो सुन्नतसँग खुल्लमखुल्ला खेलवाड र घृणित कार्य हो, जसको सजाय उसले अवश्य पाउने छ। अल्लाहले भन्नु भएको छ… “उहाँको आदेश उल्लंघन गर्नेहरु सावधान रहुन्, कतै उनीहरुलाई कुनै संकटले नघेरोस् वा कुनै दु:खदायी प्रकोपले नसमातोस्।” (श्रोत- सूरह अन्-नूर : २४/६३) रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जो कोही हाम्रो यस धर्ममा कुनै नयाँ कुराहरुलाई समावेश गर्छ, जो यसमा छैन भने त्यो रद्द छ र यो नै 'बिद्अत' हो।” (श्रोत- बुखारी : २५५०, मुस्लिम : १७१८)