'ईमान' का ६ वटा आधारहरु
अल्लाहमाथि आस्थाको अर्थ-
अल्लाहको अस्तित्वमाथि दृढतापूर्वक आस्था राख्नु, उहाँ नै हाम्रा प्रभु र पूज्य हुन् भन्ने कुरामाथि विश्वास गर्नु तथा उहाँका नाम र विशेषताहरुलाई स्वीकार्नु।
यी चारै कुराहरुको बारेमा विस्तृतरुपमा तल वर्णन गर्नेछौं…
- १- अल्लाहको अस्तित्वमाथि आस्था राख्नु-
अल्लाहको प्रकृति-
अल्लाहको अस्तित्वमाथि विश्वास गर्नु स्वभाविक कुरा हो। जसको लागि कुनै तर्क ल्याउनु पर्दैन, किनभने जन्मजात नै मानिसको अन्तरात्मामा उहाँमाथिको विश्वास पलाएको हुन्छ। त्यसैले विभिन्न धर्मावलम्बीका अधिकांश मानिसहरु अल्लाहको अस्तित्वलाई स्वीकार गर्दछन्।
हामी मुटुको गहिराईदेखि उहाँको अस्तित्वलाई महसुस गर्दछौं। आपत-बिपतमा उहाँलाई नै गुहार्ने गर्दछौं, किनकि यो नै प्राकृतिक र धार्मिक प्रेरणा हो जुन हरेक व्यक्तिको प्राणमा अडेको हुन्छ। उहाँको अस्तित्वलाई मेटाउने र खत्तम गर्ने प्रयास नगरिएको पनि होइन, तै पनि तिनीहरु सदैव असफल नै रहे।
शोषित र ब्याकुलको पुकार सुनिएको, माग्नेको माग पूरा भएको तथा पिडितको पीडा हरण भएका कुराहरु हामी देख्छौं र सुन्छौं। के यो उहाँको अस्तित्वको ठूलो प्रमाण होइन र ?
अल्लाहको अस्तित्वका प्रमाणहरु प्रष्ट र अगन्य छन्। तीमध्ये केही यस प्रकार छन्…
- हावा नचलिकन पात हल्लिदैन भन्ने कुरा सबैलाई थाहा नै छ। अनगिन्ति प्राणी र जीवजन्तुहरुले खचाखच रहेको यो संसारलाई पक्कै पनि कुनै ईश्वरले नै सृष्टि गरेको हुनुपर्छ। उहाँ नै अल्लाह हुन्, किनकि आजसम्म निर्माण नगरिकन निर्माण भएको, सृष्टि नगरिकन सृष्टि भएको वा प्राणीले आफैं आफूलाई सृष्टि गरेको कुरा न सुनिएको छ, न देखिएको नै। अल्लाहले भन्नु भएको छ… “के यिनीहरुको सृष्टि बिना आधार नै भएको हो ? वा यिनीहरु स्वयम् सृष्टिकर्ता हुन् ?” (श्रोत- सूरह अत्तूर : ५२/३५) अर्थात बिना सृष्टिकर्ता न यिनीहरुको सृष्टि भएको छ, न यिनीहरु आफैंले आफूलाई सृष्टि गरेका छन्। अत: अल्लाह नै सृष्टिकर्ता हुन् भन्ने कुरा छर्लङ्ग हुन्छ।
- यो निलो आकाश, विशाल धरती, वायुमण्डल, नक्षत्र, जुनतारा, विभिन्न प्रकारका बोटबिरुवा र संसारको सुव्यवस्थित कानून चिच्याएर भनिरहेका छन्… यो संसारको ईश्वर एउटै हो, जसलाई हामी अल्लाह भनेर चिन्दछौं। अल्लाहले भन्नु भएको छ… “यो अल्लाहको सृष्टि हो, जसले प्रत्येक चीजलाई सुदृढ तुल्याउनु भएको छ।” (श्रोत- सूरह अन्-नमल : २७/८८) यी नक्षत्र र ताराहरु सुव्यवस्थित नियमबद्धरुपमा आ-आफ्नो परिधिभित्र अन्तरिक्षमा गतिशील छन्। न कोही कसैलाई पछ्याउँछ न एक अर्का भन्दा अगाडि जान्छ। अल्लाहले भन्नु भएको छ… “न सूर्यले चन्द्रमालाई समात्न सक्छ न रातले दिनलाई उछिन्न सक्छ। तिनीहरु सबै अन्तरिक्षमा निरन्तर गतिशील छन्।” (श्रोत- सूरह यासीन : ३६/४०)
- २- अल्लाहको रुबूबियत (प्रभुत्व) माथि आस्था राख्नु-
अल्लाहको रुबूबियत (प्रभुत्व) माथि आस्थाको अर्थ-
सिङ्गो संसारकै मालिक, सृष्टिकर्ता र अन्नदाता अल्लाह नै हुन्। जीवन-मरण र नाफा-नोक्सान उहाँकै हातमा छ। सर्वाधिकार उहाँकै हो र हरेक कार्यमाथि उहाँ नै सामर्थ्य हुनुहुन्छ। यी सम्पूर्ण विशेषताहरुमा कोही उहाँको साझेदार छैनन् भन्ने कुरालाई दृढतापूर्वक स्वीकार गर्नु पर्छ।
अल्लाहलाई आफ्नो कार्यमा एक्लो ठानेर निम्न लिखित कुराहरुमाथि आस्था राख्नु पर्छ…
अल्लाह नै यो सिङ्गो संसार र यसमा भएभरका सम्पूर्ण चीजबीजहरुका सृष्टिकर्ता हुन् र उहाँ बाहेक अरु कोही सृष्टिकर्ता छैन। अल्लाहले भन्नु भएको छ… “अल्लाह नै सम्पूर्ण चीजहरुका सृष्टिकर्ता हुन्।” (श्रोत- सूरह अज्-जुमर : ३९/६२)
मानिसको कारिगरी भनेको कुनै कुरालाई रुपान्तर गर्नु वा यताउताबाट बटुलेर एकत्रित गर्नु र मिलाउनु मात्र हो। नजन्मेकालाई जन्म दिनु र मरेकालाई पुनः जीवित पार्नु वा सृष्टि गर्नु पक्कै पनि होइन।
उहाँ नै सम्पूर्ण प्राणीहरुका अन्नदाता हुन्। उहाँ बाहेक अरु कोही अन्नदाता छैन। अल्लाहले भन्नु भएको छ… “धरतीमा घस्रेर हिंड्ने, रिङने र फुर्र-फुर्र उड्ने सबै प्राणीको आहार अल्लाहकै जिम्मामा छ।” (श्रोत- सूरह हूद : ११/६)
उहाँ नै सम्पूर्ण चीजहरुका असल मालिक हुन्। उहाँ बाहेक असल मालिक कोही छैन। अल्लाहले भन्नु भएको छ… “आकाशहरु, पृथ्वी र त्यसमा रहेका सम्पूर्ण चीजहरुका मालिक अल्लाह नै हुन्।” (श्रोत- सूरह अल्-माइदा : ५/१२०)
उहाँ नै सम्पूर्ण कुराहरुका प्रबन्धक हुन्। उहाँ बाहेक अरु कोही प्रबन्धक छैन। अल्लाहले भन्नु भएको छ… “आकाशदेखि धरतीसम्मका प्रबन्ध उहाँ नै मिलाउनु हुन्छ।” (श्रोत- सूरह अस्-सज्दा : ३२/५)
मानिसले मिलाउने प्रबन्ध र जीविकाको चाँजोपाँजो एकदमै सीमित छ। ऊ आफ्नो शक्ति भन्दा बढी केही पनि गर्न सक्दैनन्। उसको प्रबन्ध कहिले सफल हुन्छ त कहिले असफल। तर अल्लाहको प्रबन्धमा सम्पूर्ण संसार समावेश भएको छ। त्यो कहिल्यै पनि असफल हुनै सक्दैन। कार्यान्वयन योग्य छ, न कुनै कुराले त्यसलाई छेक्छ न बाधा अड्चन आउँछ। अल्लाहले भन्नु भएको छ… “सावधान ! सृष्टि गर्ने हैसियत र आदेश जारी गर्ने सर्वाधिकार उहाँकै लागि हो। अल्लाह मंगलमय, सर्वश्रेष्ठ र सम्पूर्ण जगतका मालिक हुन्।” (श्रोत- सूरह अल्-आ'राफ : ७/५४)
रसूलको युगमा अरबका मुश्रिकहरु अल्लाहको प्रभुत्वमाथि विश्वास गर्दथे-
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को जमानामा अरबका मुश्रिकहरु अल्लाह नै सृष्टिकर्ता, मालिक तथा प्रबन्धक हुन् भन्ने कुरालाई स्वीकार गर्दथे तर यसले उनीहरुलाई इस्लाममा प्रवेश गराउन सकेनन्। अल्लाहले भन्नु भएको छ… “आकाशहरु र धरतीका सृष्टिकर्ता को हुन् ? सोध्नु हुन्छ भने तिनीहरुले अवश्य जवाफ दिनेछन्, अल्लाह नै हुनुहुन्छ।” (श्रोत- सूरह लुक्मान : ३१/२५)
जब सारा संसारको सृष्टि गर्ने, पालनपोषण गर्ने, संहार गर्ने सबै अधिकार एउटै ईश्वर अल्लाहको हातमा छ भने उपासना पनि बिना कुनै साझेदार उहाँको नै हुनुपर्छ होइन र ?
यो कसरी सम्भव छ कि मानिसले अल्लाहलाई सृष्टिकर्ता, मालिक, प्रबन्धक, मार्ने र जीवित पार्ने स्वीकार्छ, तै पनि उपासनाका केही अंशहरु अल्लाह बाहेक अरुको लागि गर्दछ ? यो त सरासर अन्याय र महापाप हो। त्यसैले लुक्मानले आफ्नो छोरालाई सम्झाउदै भन्नु भएको थियो… “हे छोरा ! अल्लाहसँग कसैलाई साझेदार नबनाऊ है, किनभने साझेदारी (शिर्क) गर्नु महापाप हो।” (श्रोत- सूरह लुक्मान : ३१/१३)
जुन बेला रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित सोधियो… अल्लाहको दृष्टिमा महापाप के हो ? उहाँले जवाफ दिनु भयो… “अल्लाहले तिमीलाई सृष्टि गर्नु भएको छ, तै पनि तिमी उहाँको लागि प्रतिद्वन्दी ठहर गर्छौ।” (श्रोत- बुखारी : ४२०७, मुस्लिम : ८६)
अल्लाहमाथिको चोखो आस्थाले तनमनलाई शान्ति प्राप्त हुन्छ-
भाग्य विधाताले हाम्रो भाग्यमा जे कोर्नु भएको छ, त्यसलाई कसैले पनि मेटाउन सक्दैन, किनभने भाग्यको साँचो उहाँकै हातमा छ, उहाँ जे चाहनुहुन्छ फेरबदल गर्नुहुन्छ, उहाँ नै सृष्टिकर्ता हुन् र उहाँ बाहेक सबै असहाय र सृष्टि हुन्। सबै सर्वाधिकार उहाँकै हातमा छ। उहाँ बाहेक अरु कोही सृष्टिकर्ता, पालनकर्ता र प्रबन्धक छैनन्। उहाँको आज्ञा बिना कुनै पनि कण आफ्नो ठाउँबाट यताउता सर्दैन न नै स्थिर रहन्छ, भन्ने पूर्ण आस्थाले मानिसको मुटुमा अल्लाहमाथिको निश्चल आस्था पलाउँछ। जीवनको पाईला-पाईलामा उहाँमाथि भरोसा र हरेक प्रकारको परिवर्तनसँग संघर्ष गर्ने आँट हुन्छ। आफूले गर्न सक्ने सम्पूर्ण प्रयास, संघर्ष, दुआ गरेर पनि आफूले मन पराएको, चाहेको वा खोजेको कुरा प्राप्त हुन सकेन भने पनि ऊ दु:खी हुँदैन। अरुले पाएको खण्डमा इर्ष्या र डाह पनि गर्दैन, किनकि हरेक कुराको सर्वाधिकार अल्लाहकै हातमा छ। उहाँ जे चाहनुहुन्छ गर्नुहुन्छ।
- ३) अल्लाहको उलूहियत (उपासना) माथि आस्था राख्नु
अल्लाहको उलूहियत (उपासना) माथि आस्थाको अर्थ-
अल्लाह नै हरेक प्रकारका दृश्य र अदृश्य ईबादतका हकदार हुन् भन्ने कुरामाथि दृढताका साथ आस्था राख्नु, त्यसैले हामीले सबै प्रकारका उपासना जस्तै… दुआ (प्रार्थना), भय, आश्रा, सहयोग, सलाह, दान, ब्रत इत्यादि उहाँकै लागि खास गर्नु पर्छ। किनभने अल्लाह बाहेक अरु कोही सत्य ईश्वर छैन। अल्लाहले भन्नु भएको छ… “तिमीहरुको ईश्वर एक मात्र (अल्लाह) हुन्, उहाँ बाहेक अरु कोही उपास्य छैन, उहाँ अत्यन्त करुणामय र परम दयालु हुन्।” (श्रोत- सूरह अल्-बकरह : २/१६३)
अल्लाहले घोषणा गर्नु भएको छ कि सत्य ईश्वर एक अल्लाह नै हुन्, त्यसैले उहाँ बाहेक अरु कसैलाई पूज्य ठान्नु र उपासना गर्नु वैध छैन।
अल्लाहको उलूहियत (उपासना) माथि आस्थाको महत्व-
अल्लाह नै पूज्य हुन् भन्ने कुरामाथिको आस्थाको महत्व विभिन्न क्षेत्रहरुमा देखा पर्छ-
- १) मानिस र जिन्नको सृष्टिको उद्देश्य नै यही हो, अल्लाहले हामीहरुलाई मात्र आफ्नो उपासनाको लागि सृष्टि गर्नु भएको छ। अल्लाहले भन्नु भएको छ… “मैले जिन्न (आगोबाट सृष्टि गरिएको एक प्रकारको अदृश्य प्राणी) र मानवलाई केवल आफ्नो ईबादत (उपासना) गर्नको लागि सृष्टि गरेको हुँ।” (श्रोत- सूरह अज्जारियात : ५१/५६)
- २) सन्देष्टा र आकाशीय ग्रन्थहरुको अवतरणको उद्देश्य पनि यही हो। त्यसैले सत्य ईश्वर अल्लाह नै हुन् र उहाँ बाहेक जे जति पुजिन्छन् ती सबै मिथ्या हुन् भन्ने कुरामा विश्वस्त हुनु। अल्लाहले भन्नु भएको छ… “हामीले प्रत्येक समुदायमा रसूल पठायौं। केवल अल्लाहको उपासना गर र उहाँ बाहेक सम्पूर्ण मिथ्या उपास्यको पूजादेखि टाढा रहने गर।” (श्रोत- सूरह अन्-नहल : १६/३६)
- ३) मानिसको पहिलो कर्तव्य यही नै हो। जबल पुत्र मुआजलाई यमनतिर पठाउने बेला रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले यही उपदेश दिदै भन्नु भएको थियो… “तिमी अहले-किताब (यहूदी र ईसाइ) को समुदायमा जाँदैछौ, त्यसैले उनीहरुलाई सर्वप्रथम तौहीद (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) को आह्वान गर्नु।” (श्रोत- बुखारी : १३८९, मुस्लिम : १९) अर्थात… मात्र अल्लाहकै उपासना गर्नु पर्छ भन्ने कुराको आह्वान गर्नु।
- ४) अल्लाहमाथि आस्था नै 'ला इलाहा इल्लल्लाह' को वास्तविक अर्थ हो। अरबीमा उपास्यलाई 'इलाह' भनिन्छ। त्यसैले सम्पूर्ण प्रकारका उपासना अल्लाहकै लागि खास गर्नु पर्छ।
- ५) अल्लाह नै सिङ्गो संसारको सृष्टिकर्ता, जीवनदाता र स्वामी हुन् भने पूजा पनि उहाँको नै गर्नु पर्छ।
ईबादत (उपासना) भनेको के हो?
ईबादत- मानिसका सम्पूर्ण भनाई, गराई र क्रियाकलाप, जसलाई अल्लाहले मन पराउनु हुन्छ र गर्न आदेश दिनु भएको छ ती सम्पूर्ण सत्कर्महरुलाई ईबादत भनिन्छ। चाहे त्यो वाह्य सत्कर्म होस् जस्तै… सलाह पढ्नु, दान दिनु, हज्ज गर्नु वा आन्तरिक जस्तै… अल्लाह र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई माया गर्नु, अल्लाहसँग डराउनु, उहाँमाथि नै भरोसा गर्नु र उहाँसित मद्दत माग्नु इत्यादि।
ईबादतले जीवनका सम्पूर्ण पक्षहरूलाई समेटेको छ-
उपासना भनेको सलाह पढ्नु र ब्रत बस्नु मात्र होइन, यसले जीवनका सम्पूर्ण पक्षहरुलाई समेटेको छ। स्वच्छ मनले गरिएका आस्थावानहरुका सम्पूर्ण उपयोगी कार्य, सही निधो र क्रियाकलापहरु उपासना मानिन्छ र त्यस वापत पुण्य प्राप्त हुन्छ। शक्ति प्राप्त गर्नको नीयतले खानपिन गर्नु उपासना हो।अनैतिक सम्बन्धबाट बच्नको लागि विवाह गर्नु उपासना हो। त्यस्तै वैध तरिकाले आय आर्जन गर्नको लागि व्यवसाय गर्नु वा जागिर खानु उपासना हो। त्यसैगरी ज्ञान सिक्नु, लेख लेख्नु, ज्ञान विज्ञानको दुनियाँमा नयाँ-नयाँ कुराहरुको आविष्कार गर्नु, यी सबै उपासना हो। महिलाको लागि पुरुष, बालबच्चा र घरबारको हेरचाह गर्नु उपासना हो। त्यसैले जीवनका सम्पूर्ण क्रियाकलाप तथा लाभदायक कार्यहरु शुद्ध र स्वच्छ नीयत सामेल छ भने मुस्लिमको दैनिकी र जीवन नै उपासना हो।
ईबादत नै सृष्टिको उद्देश्य हो-
अल्लाहले भन्नु भएको छ… “मैले जिन्न र मानवलाई केवल आफ्नो ईबादत (उपासना) गर्नको लागि सृष्टि गरेको हुँ। म तिनीहरुबाट न त जीविका चाहन्छु न भोजन नै। अवश्य नै अल्लाह अन्नदाता र अति शक्तिशाली हुन्।” (श्रोत- सूरह अज्जारियात : ५१/५६-५८)
अल्लाहले जिन्न र मानिसको सृष्टिको रहस्य उनीहरुले अल्लाहको उपासना गरुन् भनेर अवगत गराउनु भएको छ। स्मरण रहोस् ! अल्लाहलाई उनीहरुको उपासनाको कुनै आवश्यकता छैन तर उनीहरु उहाँको कृपा बिना एक पल पनि बाँच्न सक्दैनन्।
जब मानिस आफ्नो उद्देश्यलाई बेवास्ता गर्छ र सांसारिक मौज-मस्तीमा डुब्छ, त्यस बखत मानिसमा र जनावरमा केही फरक हुँदैन। किनभने जनावरहरु पनि खान्छन् र मौज-मस्ती गर्छन्। अल्लाहले भन्नु भएको छ… “जुन व्यक्तिहरुले अवज्ञा गरे तिनीहरु क्षणिक मस्तीमा रमाईरहेका छन् र जनावर जस्तै खाइरहेका छन्। उनीहरुको बासस्थान नरक हो।” (श्रोत- सूरह मुहम्मद : ४७/१२) त्यसैले उनीहरु आफ्नो क्रियाकलाप र लक्ष्य प्राप्तिमा जनावर सरह हुन्। तर मानिससँग बुद्धि हुन्छ, जनावरसँग हुँदैन, त्यसैले उनीहरुले मृत्यु पश्चात त्यसको प्रतिफल अवश्य नै पाउनेछन् ।
ईबादतका स्तम्भहरु-
ईबादतका दुईवटा महत्वपूर्ण स्तम्भहरु छन्…
पहिलो- हीनता र भय।
दोस्रो- अल्लाहको लागि अपार प्रेम।
अल्लाहले आफ्ना भक्तहरुमाथि जुन उपासनालाई अनिवार्य गर्नु भएको छ त्यसमा उहाँको लागि आदर, अपार प्रेम, हीनता र भयको साथमा आशा मिसिएको हुनुपर्छ।
त्यसैले जुन मायाको साथमा हीनता र भय हुँदैन, जस्तै… खाना र धन-सम्पत्तिको माया, त्यो उपासना होइन।यस्तै बिना मायाको भय, जस्तै… कुनै जङ्गली जनावर र सामन्ती हाकिमको भय, त्यो उपासना होइन। जुन कार्यमा भय र माया दुवैको मिश्रित हुन्छ त्यो उपासना हुन्छ र उपासना मात्र अल्लाहको लागि नै हुनुपर्छ।
ईबादतका शर्तहरु-
कुनै पनि ईबादत (उपासना) स्वीकृत हुनको लागि निम्नलिखित दुई शर्तहरु हुन जरुरी छ-
इत्तिबा- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को सुन्नत अनुकूल उपासना गर्नु।
इख्लास- कसैलाई साझेदार नगरिकन अल्लाहको लागि मात्र उपासना गर्नु।
अल्लाहले भन्नु भएको छ… “हो, जसले आफूलाई अल्लाहको लागि समर्पित गर्यो र ऊ परोपकारी छ भने उसको लागि प्रभु कहाँ प्रतिफल हुनेछ। उसको लागि न कुनै भय हुनेछ न कुनै चिन्ता नै।” (श्रोत- सूरह अल्-बकरह : २/११२)
'अल्लाहको लागि समर्पित' को अर्थ : एकेश्वरवादलाई पूर्णता दिनु र मात्र अल्लाहको लागि ईबादत गर्नु।
'परोपकारी' को अर्थ : रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को पूर्ण अनुसरण र उहाँको सुन्नत अनुकूल उपासना गर्नु हो।
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को सुन्नत अनुकूल हुनु भनेको उपासनाहरुमा मात्र हुन्, जस्तै… सलाह पढ्नु, ब्रत बस्नु, अल्लाहको जिक्र (प्रशंसा) गर्नु। तर जुन कुराहरु उपासना अन्तर्गत पर्दैनन् जस्तै… अल्लाहको उपासना गर्नमा बल पुग्नको लागि व्यायाम गर्नु, घरपरिवारको खर्च जुटाउन व्यवसाय गर्नु इत्यादिमा उहाँको अनुसरण चाहिंदैन। इस्लामि विधि-विधानको विपरित नहुनु र अवैध तरिकाले नगर्नु नै पर्याप्त छ।
शिर्क (बहुदेववाद)
- तौहीद (एकेश्वरवाद) को विपरित शिर्क (बहुदेववाद) हो। जसरी अल्लाहमाथिको आस्था र मात्र उहाँको उपासना सर्वोत्कृष्ट पुण्य हो त्यसरी नै शिर्क सबैभन्दा घृणित र महापाप हो। तौबा (प्रायश्चित) नगरुन्जेल यो क्षमा योग्य छैन। अल्लाहले भन्नु भएको छ… “अल्लाहले शिर्कलाई कदापि क्षमा गर्नु हुन्न तर यसबाहेकका अन्य पापलाई क्षमादान दिन सक्नु हुन्छ।” (श्रोत- सूरह अन्-निसा : ४/४८) जुन बेला रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित सोधियो… अल्लाहको दृष्टिमा महापाप के हो ? उहाँले जवाफ दिनु भयो… “अल्लाहले तिमीलाई सृष्टि गर्नु भएको छ, तै पनि तिमी उहाँको लागि प्रतिद्वन्दी ठहर गर्छौ।” (श्रोत- बुखारी : ४२०७, मुस्लिम : ८६)
- शिर्कले सम्पूर्ण उपासनाहरुलाई व्यर्थ र निराधार बनाई दिन्छ। अल्लाहले भन्नु भएको छ… “यदि सन्देष्टाहरुले शिर्क गरेका भए यिनीहरुका सबै सत्कर्महरु खेर जाने थिए।” (श्रोत- सूरह अल्-अन्आम : ६/८८) बहुदेववादहरुका बास सदाको लागि नरक नै हुनेछ। अल्लाहले भन्नु भएको छ… “जो कोही अल्लाहको साथमा कसैलाई साझेदार बनाउँछ, अल्लाहले उसको लागि स्वर्ग निषेध गर्नु भएको छ र उसको बासस्थान नरक हुनेछ।” (श्रोत- सूरह अल्-माइदा : ५/७२)
शिर्क दुई प्रकारका छन्-
- १) ठूलो शिर्क- अल्लाह बाहेक अरु कसैको पूजा उपासना गर्नुलाई ठूलो शिर्क भनिन्छ। तन, मन र वचनले अल्लाहको उपासना गरियो भने यही तौहीद र ईमान हो र अन्य कसैको लागि गरियो भने यही शिर्क (बहुदेववाद) र कुफ्र (अवज्ञा) हो।
ठूलो शिर्कको उदाहरण- अल्लाह बाहेक अरु कसैसँग रोग निको हुन वा रोजीमा सम्वृद्धि हुनको लागि दुआ गर्नु, अरुमाथि आश्रित हुनु वा ढोग गर्नु इत्यादि।
अल्लाहले भन्नु भएको छ… “तिम्रा पालनकर्ताले भन्नु भएको छ… मलाई नै पुकार, म तिमीहरुको पुकार सुन्दछु।” (श्रोत- सूरह अल्-मुमिन : ४०/६०)
अल्लाहले भन्नु भएको छ… “यदि तिमीहरु आस्थावान हौ भने अल्लाहमाथि नै भरोसा गर।” (श्रोत- सूरह अल्-माइदा : ५/२३)
अल्लाहले भन्नु भएको छ… “अल्लाहकै लागि सज्दा र उहाँकै भक्ति गर।” (श्रोत- सूरह अन्-नज्म : ५३/६२)
जसले अल्लाह बाहेक अरु कसैको उपासना गर्यो, उसले शिर्क र कुफ्र गर्यो।
- २) सानो शिर्क- ठूलो शिर्कसम्म पुर्याउने प्रत्येक वचन वा क्रियाकलापलाई सानो शिर्क भनिन्छ।
सानो शिर्कको उदाहरण- देखावटिको लागि सलाह पढ्नु, आफूतिर आकर्षण गर्न मिठो स्वरमा कुरआनको पाठ गर्नु, प्रशंसा बटुल्नको निम्ति ठूलो स्वरमा अल्लाहको नाम लिनु इत्यादि। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “तिमीहरुका लागि जुन कुरादेखि म भयभित छु त्यो सानो शिर्क हो। उहाँका साथीहरुले सोधे, ए हजुर ! सानो शिर्क भनेको के हो ? उहाँले जवाफमा भन्नु भयो… रिया अर्थात देखावटिको लागि पुण्य गर्नु।” (श्रोत- अहमद : २३६३०)
मानिसले के भन्लान भन्ने डरले सलाह पढ्नु र त्यहाँ कोही छैन भने नपढ्नु भनेको मुनाफिक (कपटी) को पहिचान हो। यो ठूलो शिर्क हो र यसले मानिसलाई इस्लामदेखि नै बाहिर गरि दिन्छ।
के मानिससित माग्नु वा केही कुरा चाहनु शिर्क हो?
इस्लामले मानिसको बुद्धिलाई अनावश्यक कार्य, धोका र अल्लाह बाहेक अन्य मानिसको लागि ढोग गर्नु र लिप्त हुनबाट स्वतन्त्र गरेको छ।
त्यसैले मृत वा निर्मित वस्तुसँग माग्नु, वा उसको अगाडि ढोग गर्नु निराधार र महापाप हो।
तर जीवित उपस्थित व्यक्तिलाई उसले गर्न सक्ने सहयोग माग्नु जायज छ, जस्तै… डुब्नेलाई बचाउने सहयोग वा मेरो लागि अल्लाहसित प्रार्थना गर्नुहोस् भन्न सकिन्छ।