रसूल (सन्देष्टा) हरुमाथि आस्था राख्नु

मानिसहरुलाई धार्मिक सन्देशको आवश्यकता-

के हावा र पानी बिना सास फेर्न सकिन्छ ? सास बिनाको धड्कन चल्न सक्छ ? त्यसरी नै रसूल बिनाको जीवनको कल्पना पनि गर्न सकिदैन, किनकि उनीहरु नै संसारको लागि प्रकाश र जीवन हुन्। यदि आत्मा, जीवन र प्रकाश छैन भने दुनियाँको के अर्थ ?

त्यसैले अल्लाहद्वारा प्रदत्त सन्देशलाई ज्यान भनिएको छ। ज्यान हुँदैन भने जीवनको अन्त हुनेछ। अल्लाहले भन्नु भएको छ… “यसरी नै हामीले तिमीतर्फ आफ्नो आदेशबाट 'आत्मा' (कुरआन) अवतरण गर्यौं। ईमान र किताब के हो तिमीलाई केही पनि थाहा थिएन। तर हामीले त्यसलाई ज्योति बनायौं, हाम्रा भक्तहरुमध्ये जसलाई चाहन्छौं त्यसद्वारा मार्गदर्शन गर्छौं।” (श्रोत- सूरह अश्-शूरा : ४२/५२)

बुद्धिले केही राम्रा र न राम्रा कुराहरुलाई छुट्याउन सकिन्छ, तर त्यसको विस्तृत जानकारी, ईबादतका पूर्ण तरिका तथा कैफियतहरु बिना वह्य र सन्देश जान्नु असम्भव छ।

लोक र परलोकका सफलता बिना रसूल प्राप्त गर्न सकिन्न। राम्रा र नराम्रा कुराहरुको राम्ररी पहिचान उनीहरुको मार्गदर्शन बिना सम्भव छैन। याद राख्नुहोस् ! जसले दूत र दूतत्वबाट विमुख हुन्छ, उसले विमुखता अनुसार व्याकुल्ता, चिन्ता र कठोरता भोग्नु पर्छ।

आस्थाको एउटा आधार-

रसूलहरुमाथि आस्था राख्नु ईमानका ६ वटा आधारहरुमध्ये एउटा आधार हो। अल्लाहले भन्नु भएको छ… रसूल र आस्थावानहरुले आफ्ना पालनकर्ताको तर्फबाट अवतरित कुराहरुमाथि ईमान ल्याएका छन्। सबै अल्लाह, उहाँका फरिश्ताहरु, ग्रन्थहरु र उहाँका रसूलहरुमाथि आस्थावान भए।” (श्रोत- सूरह अल्-बकरह : २/२८५)

तसर्थ एउटा मुस्लिमले सम्पूर्ण रसूलहरुमाथि बिना कुनै विभाजन आस्था राख्नु पर्छ भन्ने कुरा छर्लङ्ग हुन्छ। हामीले यहूदी र ईसाइ झैं एकलाई मान्नु र अर्कोलाई नमान्नु कदापि गर्नु हुँदैन।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ईमानको बारेमा भन्नु भएको छ… “तिमी अल्लाह, उहाँका फरिश्ताहरु, किताबहरु, रसूलहरु, कयामत (महाप्रलय) को दिन र राम्रो वा नराम्रो भाग्यमाथि आस्था राख।” (श्रोत- मुस्लिम : ८)

रसूलहरुमाथि आस्थाको अर्थ-

अल्लाहले प्रत्येक समुदायमा तिनीहरुमध्येबाट एउटा सन्देष्टा (रसूल) पठाउनु भयो, उनीहरुले बिना साझेदारी एक मात्र अल्लाहको उपासना गर्ने आह्वान गरे भनेर दृढतापूर्वक आस्था राख्नु। उनीहरु सबै सत्य र सत्यलाई पुष्टि गर्ने, सत्यवान र इमान्दार थिए। उनीहरुले अल्लाहको सन्देशलाई नलुकाई, त्यसमा आफ्नो तर्फबाट केही फेरबदल नगरी पूर्ण रुपमा पुर्याए; न त केही कमी गरे न बढी नै। अल्लाहले भन्नु भएको छ… “रसूलको काम स्पष्टरुपमा सन्देश पुर्याउनु बाहेक अरु केही छैन।” (श्रोत- सूरह अन्-नहल : १६/३५)

रसूलहरुमाथिको आस्थाले कुन विषय वस्तुलाई समेटेको छ?

  1. १) उनीहरु अल्लाहका सच्चा सन्देष्टा हुन्, उनीहरु सबैले मात्र अल्लाहको उपासना गर्ने र उहाँको उपासनामा अरु कसैलाई साझेदारी न गर्ने आह्वान गरेका थिए भन्ने कुरामाथि आस्था राख्नु। अल्लाहले भन्नु भएको छ… “हामीले प्रत्येक समुदायमा रसूल पठायौं। केवल अल्लाहको उपासना गर र उहाँ बाहेक सम्पूर्ण मिथ्या उपास्यको पूजादेखि टाढा रहने गर।” (श्रोत- सूरह अन्-नहल : १६/३६) 

उनीहरुका वैधानिक उप-नियमहरु जुन त्यस समुदायको लागि उचित थियो, त्यसमा मात्र भिन्नता पाइन्छ। अल्लाहले भन्नु भएको छ… “हामीले तिमीहरुका लागि एउटा धर्म-विधान र कार्यप्रणाली बनाएका छौं।” (श्रोत- सूरह अल्-माइदा : ५/४८)

  1. २) सम्पूर्ण सन्देष्टा (नबी-रसूल) हरुमाथि आस्था राख्नु। उनीहरुमध्ये जसको नाम थाहा छ जस्तै… मुहम्मद, इब्राहीम, मूसा, ईसा र नूह (अलैहिमुस्सलाम) लाई नामका साथ र जसको नाम थाहा छैन उनीहरुमाथि सन्क्षिप्तमा आस्था राख्नु पर्दछ। जसले उनीहरुमध्ये एकलाई अस्वीकार गर्यो भने उसले सबैलाई अस्वीकार गर्यो।
  1. ३) कुरआन र हदीसद्वारा प्रमाणित रसूलका चमत्कार (मुअ्जिजा) र खबरहरूलाई सत्य मान्नु, जस्तै… मूसा (अलैहिस्सलाम) को लागि समुद्रमा बाटो बन्नु।
  1. ४) अन्तिम र सर्वश्रेष्ठ रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को विधि-विधान र तरिका बमोजिम धर्म-कर्म गर्नु।

रसूलहरुका केही विशेषताहरु-

  1. १- उनीहरु मानिस थिए, तर अल्लाहले  उनीहरुलाई आफ्नो (वह्य) प्रकाशना र सन्देश पुर्याउन रसूल चयन गर्नु भयो, यो नै उनीहरु र अन्य व्यक्तिमा फरक छ। अल्लाहले भन्नु भएको छ… “तिमी भन्दा पहिले पुरुषलाई नै रसूल बनाएर पठायौं र उनीहरुमाथि वह्य अवतरण गर्यौं।” (श्रोत- सूरह अल्-अंबिया : २१/७)

उनीहरू शारीरिक बनावट, रुप र आचरणमा उच्च स्थानमा पुग्नु भयो, बंशमा सबभन्दा भद्र हुनहुन्थ्यो, बुद्धि र प्रष्ट भाषा भएकोले दूतत्वको भार उठाउन सक्नुका साथै जिम्मेवारी वहन गर्न योग्य हुनहुन्थ्यो, तर अल्लाहमा पाइने विशेषताहरु जस्तै सृष्टि गर्नु वा उपास्य हुनुमध्ये कुनै विशेषता उनीहरुलाई प्राप्त थिएन।

एउटा सर्वसाधारण व्यक्तिले पनि सरलताको साथ रसूललाई अनुसरण गर्न सकोस् भनेर अल्लाहले मानिसलाई नै रसूल बनाउनु भएको छ र उहाँको जीवनलाई सबैको लागि आदर्श घोषित गर्नु भएको छ।

  1. २- अल्लाहले उनीहरूलाई अरु मानिसको दाँजोमा रसूल बनाएर ठूलो गुण लगाउनु भएको छ। अल्लाहले भन्नु भएको छ… “भनिदेऊ, म तिमीहरु जस्तै एउटा मानिस हुँ। ममाथि वह्य (प्रकाशना) गरिएको छ कि अल्लाह बाहेक अरु कोही तिम्रो पूज्य छैन।” (श्रोत- सूरह अल्-कहफ : १८/११०)

दूतत्व कुनै आध्यात्मिक तपस्या, विवेक र बौद्धिक तर्कद्वारा प्राप्त गर्ने पद होइन। यो ईश्वरीय छनौट हो। अल्लाहले समस्त मानिसहरुमध्ये जसलाई चाहनुहुन्छ आफ्नो रसूल बनाउनु हुन्छ। अल्लाहले भन्नु भएको छ… “आफ्नो दूतत्वको कार्यभार कसलाई सुम्पिने भन्ने कुराको अल्लाहलाई नै बढी ज्ञान छ।” (श्रोत- सूरह अल्-अन्आम : ६/१२४)

  1. ३- उनीहरू अल्लाहको सन्देशलाई पुर्याउनमा पवित्र छन्, त्यसैले अल्लाहका आदेशहरू पुर्याउन र सुम्पिएको जिम्मेवारीलाई निर्वाह गर्नमा कुनै गल्ती गर्दैनन्।
  2. ४- सम्पूर्ण रसूलहरु आफ्नो भनाइ र गराईमा सत्य छन्। अल्लाहले भन्नु भएको छ… “यो त त्यही हो, जसको वाचा करुणामय अल्लाहले गर्नु भएको थियो र रसूलहरुले पनि सत्य नै भनेका थिए।” (श्रोत- सूरह यासीन : ३६/५२)
  3. ५- उनीहरुले इस्लामको आह्वान र अल्लाहको वाणीलाई सर्वत्र फैलाउनमा धेरै दु:ख र पीडा सहनु पर्यो, अनेकौं बाधाहरु खेप्नु पर्यो तै पनि तिनीहरुले हार नमानी इस्लामको झण्डालाई सगरमाथाको चुचुरोमा पुर्याएर नै छाडे। अल्लाहले भन्नु भएको छ… “हे सन्देष्टा ! धैर्य गर, जसरी अघिका सर्वश्रेष्ठ रसूलहरुले धैर्य गरे।” (श्रोत- सूरह अल्-अह्काफ : ४६/३६)

रसूलहरुका निशानी तथा चमत्कारहरु-

अल्लाहले आफ्ना रसूलहरूलाई उनीहरुको सत्यता र दूतत्वलाई प्रमाणित गर्नको लागि विभिन्न किसिमका निशानी, अदभुत घटना, तर्क-वितर्क तथा चमत्कारहरु प्रदान गर्नु भएको छ। ती चमत्कारहरुले प्रमाणित गर्दछन् कि उनीहरु अल्लाहका सच्चा रसूल हुन्, किनकि त्यस्तो चमत्कार साधारण व्यक्तिले प्रस्तुत गर्न सक्दैनन्।

चमत्कार (मुअ्जिजा) को अर्थ : आम मानिसले आँट गर्न नसक्ने आश्चर्यजनक र अदभुत घटनालाई चमत्कार भनिन्छ, जुन अल्लाहको कृपाले रसूलहरुलाई मात्र प्राप्त हुन्छ।

तीमध्ये केही यस प्रकार छन्…

  • मूसा (अलैहिस्सलाम) को लठ्ठी (लौरो) जिउँदो सर्पमा परिणत हुनु।
  • ईसा (अलैहिस्सलाम) ले आफ्नो समुदायलाई तिनीहरुले के खाइरहेका छन् र के थन्काएर राखेका छन् भन्ने कुराहरुको सूचना दिनु।
  • हाम्रो रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को इशाराले चन्द्रमा दुई टुक्रामा फट्नु।

ईसा (अलैहिस्सलाम) प्रति मुस्लिमहरुको आस्था-

  1. १)  महान रसूलहरुमध्ये एउटा रसूल हुन्। सर्वश्रेष्ठ रसूलहरु यस प्रकार छन्… मुहम्मद, इब्राहीम, नूह, मूसा र ईसा (अलैहिमुस्सलाम)। अल्लाहले भन्नु भएको छ… “याद गर त्यो प्रतिज्ञालाई जो हामीले सबै नबीहरुसित, तिमीसित, नूह, इब्राहीम, मूसा र मर्यम-पुत्र ईसासित लिएका थियौं।” (श्रोत- सूरह अल्-अह्जाब : ३३/ ७)
  2. २)  ईसा (अलैहिस्सलाम) आदमका सन्तानमध्ये एक जना मानिस हुन्। अल्लाहले उहाँलाई इस्राइल समुदायको निम्ति रसूल बनाएर पठाउनु भयो। उहाँको हातबाट धेरै चमत्कारहरु सम्पन्न भयो,  तर अल्लाहमा पाइने गुण जस्तै सृष्टि गर्नु वा उपास्य हुनुमध्ये कुनै विशेषता उहाँलाई प्राप्त थिएन। अल्लाहले भन्नु भएको छ… “त्यो एउटा भक्त मात्र थियो जसमाथि हामीले उपकार गर्यौं र इस्राइल समुदायको निम्ति एउटा उदाहरण बनायौं।” (श्रोत- सूरह अज्-जुख्रुफ : ४३/५९) 'अल्लाह बाहेक मलाई र मेरी आमालाई पूजा गर' भनेर उहाँले आफ्नो समुदायलाई कहिल्यै पनि भन्नु भएन। बरु उहाँले त्यही भन्नु भयो जसको हुकुम अल्लाहले दिनु भएको थियो… “केवल एक अल्लाहको उपासना गर जो मेरो र तिमीहरु सबैका ईश्वर हुन्।” (श्रोत- सूरह अल्-माइदा : ५/११७)
  3. ३) उहाँ मर्यम-पुत्र ईसा हुन्। उहाँकी आमा मर्यम एउटी भद्र, सत्य, सन्तुष्ट, ईश्वरको भक्त, सति सावित्री र पवित्र थिइन्। अल्लाहको शक्तिले उहाँ बिना पति गर्भवती हुनु भयो र ईसाको सृष्टि सधैंभरीको लागि एउटा चमत्कार भयो। जसरी अल्लाहले आदम (अलैहिस्सलाम) लाई बिना आमा-बुवाको माटोबाट सृष्टि गर्नु भएको थियो। अल्लाहले भन्नु भएको छ… “ईसाको उदाहरण अल्लाहकहाँ आदम झैं छ। अल्लाहले उहाँलाई माटोबाट बनाएर भन्नु भयो… 'भई हाल' अनि भई हाल्यो।” (श्रोत- सूरह आलि-इमरान : ३/५९)
  4. ४) उहाँको र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को बीचमा कुनै अर्को रसूल छैन। उहाँले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को आगमनको शुभ समाचार दिनु भएको थियो। अल्लाहले भन्नु भएको छ… “याद गर जब मर्यम-पुत्र ईसा (अलैहिस्सलाम) ले भने… हे इस्राइलका सन्तानहरु हो ! अल्लाहले मलाई तिमीहरुका लागि रसूल बनाएर पठाउनु भएको छ। म भन्दा अघि पठाइएको तौरत ग्रन्थको पुष्टि गर्दछु र मेरोपछि अहमद नामको रसूल आउनु हुनेछ भन्ने कुराको शुभ सूचना दिदैछु।” (श्रोत- सूरह अस्-सफ : ६१/६)
  5. ५) अल्लाहले जुन चमत्कारहरु उहाँको हातबाट देखाउनु भयो ती सबैमाथि आस्था राख्नु पर्दछ, जस्तै… दुबे र अन्धोको उपचार, मृतलाई जीवित पार्नु, मानिसले खाएको र घरमा जम्मा गरेको कुराहरुको बारेमा अवगत गराउनु। यी सबै कार्यहरु अल्लाहको हुकुमद्वारा नै हुन्थ्यो। उहाँ अल्लाहको साँचो रसूल हुन् भन्ने प्रमाणित गर्नको लागि यी चमत्कारहरु प्रदान गरिएका थिए।
  6. ६) निम्न लिखित कुराहरूलाई नमानुन्जेल कोही पनि मुस्लिम बन्न सक्दैन, ईसा (अलैहिस्सलाम) अल्लाहको असल भक्त र रसूल हुन्। यहुदीहरुद्वारा उहाँमाथि लगाइएको आरोप गलत हो र उहाँ हिमाल झैं पवित्र हुन्। त्यसैगरी ईसाइहरूका गलत आस्था, जस्तै…  ईसा र उहाँकी आमा ईश्वर हुन् वा उहाँ ईश्वरका पुत्र हुन् वा उहाँ तीन ईश्वरमध्ये तेस्रा हुन्, यी सबैलाई गलत र मिथ्या ठान्नु पर्छ। अल्लाह यी सम्पूर्ण गलत आरोपहरुबाट पवित्र हुनुहुन्छ।
  7. ७) उहाँको न त हत्या भएको थियो, न शूलीमाथि झुण्डियाइएको थियो। जब यहुदीहरुले उहाँलाई हत्या गर्न दुष्प्रयास गरे तब अल्लाहले उहाँलाई जीवित नै आकाशमा उठाउनु भयो र अल्लाहले उहाँको अनुहार अर्को व्यक्तिसित मिल्दो-जुल्दो बनाई दिनु भयो र उनीहरुले झुक्किएर त्यस व्यक्तिको हत्या गरेर शूलीमाथि झुण्डियाई दिए। अल्लाहले भन्नु भएको छ… “उनीहरुको यो भनाई, हामीले अल्लाहका रसूल मर्यम-पुत्र ईसाको हत्या गरि दियौं। उनीहरुले न त हत्या गरेका हुन् न त शूलीमाथि झुण्डि्याएका हुन्। बरु तिनीहरुलाई भ्रममा पारियो। यस विषयमा मतभेद गर्नेहरु अवश्य नै सन्देहमा छन्। यसबारेमा अनुमान बाहेक तिनीहरूसँग कुनै विल्क्प छैन। तिनीहरुले ईसा मसीहको हत्या कदापि गरेका छैनन्, तर अल्लाहले उनलाई आफूतर्फ उठाउनु भयो, किनभने अल्लाह प्रभुत्वशाली र तत्त्वदर्शी हुन्। अनि अहले-किताब (यहूदी र ईसाइ) हरुमध्ये कोही यस्तो हुने छैन जसले उनको मृत्यु पूर्व उनीमाथि विश्वास नगरोस् र कयामतको दिन उनी तिनीहरुको साक्षी बस्ने छन्।” (श्रोत- सूरह अन्-निसा : ४/१५७-१५९)

अल्लाहले उहाँको रक्षा गर्नु भयो र आफू नजिक आकाशमा उठाउनु भयो। अन्तिम युगमा भूइँमा ओर्लिनु हुनेछ र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को विधि-विधान अनुसार निर्णय गर्नु हुनेछ। त्यसपछि उहाँको वास्तविक मृत्यु हुनेछ र कयामतको दिनमा उहाँ पनि आफ्नो चिहानबाट आदमका सन्तानहरु झैं निस्कनु हुनेछ। अल्लाहले भन्नु भएको छ… “हामीले तिमीहरूलाई माटोबाट सृष्टि गर्यौं, फेरी यसैमा फर्काउने छौं अनि फेरी यसैबाट पुनः जीवित पारि निकाल्ने छौं।” (श्रोत- सूरह ताहा : २०/५५)

मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) अल्लाहका नबी र रसूल हुन् भन्ने कुरामाथि आस्था राख्नु-

  • मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) अल्लाहका सच्चा भक्त र रसूल हुन्, अघिल्ला र पछिल्ला सबैका सरदार हुन्, उहाँ नै अन्तिम रसूल हुन्। उहाँपछि कुनै अर्को रसूल आउनु हुने छैन, उहाँले अल्लाहको सन्देशलाई हामीसम्म पूर्ण रुपमा पुर्याउनु भयो र उहाँको काँधमा सुम्पिएको जिम्मेवारीलाई राम्ररी निर्वाह गर्नु भयो भनेर हामी आस्था राख्छौं।
  • उहाँले दिनु भएको सूचनाको पुष्टि गर्छौं, उहाँको आदेशको पालना गर्छौं, उहाँले हराम (निषेध) गर्नु भएको कुराबाट टाढा बस्छौं, उहाँको तरिका अनुसार अल्लाहको उपासना गर्छौं र जीवनको पाईला-पाईलामा उहाँको जीवनलाई आफ्नो लागि आदर्श मान्छौं। अल्लाहले भन्नु भएको छ… “निश्चय नै रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को जीवन तिमीहरुका लागि उच्च आदर्श हो। जो कोही अल्लाहसितको साक्षात्कार, अन्तिम दिनको आशा राख्दछ र अल्लाहलाई धेरै स्मरण गर्दछ।” (श्रोत- सूरह अल्-अह्जाब : ३३/ २१)
  • हामीले आफ्ना आमा-बुवा, छोरा-छोरी तथा सम्पूर्ण मानिसहरु भन्दा बढी माया उहाँलाई गर्नु पर्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जबसम्म तिमीहरु आफ्ना आमा-बुवा, छोरा-छोरी तथा समस्त मानिसहरु भन्दा बढी माया मलाई गर्दैनौ तबसम्म तिमीहरु आस्थावान बन्न सक्दैनौ।” (श्रोत- बुखारी : १५, मुस्लिम : ४४) उहाँसँगको साँचो माया भनेको उहाँको अनुसरण गर्नु हो। साँच्चिकै, उहाँको पूर्ण अनुसरण नगरुन्जेल न त उहाँको साँचो माया पाउन सकिन्छ न त मार्गदर्शन नै। अल्लाहले भन्नु भएको छ… “यदि तिमीहरुले उहाँको आज्ञापालन गर्यौ भने अवश्य नै सत्य मार्ग पाउने छौ। सुन, रसूलको कर्तब्य सन्देश पुर्याउनु मात्र हो।” (श्रोत- सूरह अन्नूर : २४/५४)
  • हामीले उहाँका सम्पूर्ण सुन्नत (तरिका) हरुलाई आदरपूर्वक स्वीकार गर्नु पर्छ। अल्लाहले भन्नु भएको छ… “होइन, तिम्रा पालनकर्ताको कसम ! जबसम्म यिनीहरुले आपसी झैं-झगडामा तिमीलाई न्यायाधीश मान्दैनन्, तिमीले गरेको फैसलालाई बिना कुनै दुविधा सदर गर्दैनन् र त्यसमाथि पूर्ण समर्पण गर्दैनन् भने तबसम्म आस्थावान बन्न सक्दैनन्।” (श्रोत- सूरह अन्-निसा : ४/६५)
  • हामीले उहाँको अवज्ञादेखि सधैं सतर्क हुनु अनिवार्य छ। किनभने उहाँको अवज्ञाले दु:खदायी पीडा र नराम्रो परिणाम भोग्नु पर्छ। अल्लाहले भन्नु भएको छ… “उहाँको आदेश उल्लंघन गर्नेहरु सावधान रहुन्, कतै उनीहरुलाई कुनै संकटले नघेरोस् वा कुनै दु:खदायी प्रकोपले नसमातोस्।” (श्रोत- सूरह अन्-नूर : २४/६३)

मुहम्मदको दूतत्वका विशेषताहरु-

मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को दूतत्व र विधानले अघिल्ला दूतत्वहरु भन्दा धेरै महत्वपूर्ण विशेषताहरु बोकेको छ, जस्तै…

  • उहाँको दूतत्व अघिल्ला दूतत्वहरुलाई समाप्त पार्ने अन्तिम सन्देश हो। अल्लाहले भन्नु भएको छ… “मुहम्मद तिमीहरुमध्ये कुनै व्यक्तिका पिता होइनन्, तर उनी अल्लाहका रसूल र सम्पूर्ण रसूलहरूका समापक (अन्तिम रसूल) हुन्।” (श्रोत- सूरह अल्-अह्जाब : ३३/४०)
  • मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को दूतत्व र विधानले अघिका सम्पूर्ण दूतत्व र विधानहरुलाई रद्द गरेको छ। इस्लाम हुँदाहुँदै अघिल्लो धर्म र नीति, नियमको अब कुनै अर्थ रहेन, किनभने मुहम्मदको अनुसरण नगरुन्जेल कुनै पनि धर्म अल्लाहको दरबारमा स्वीकृत हुन सक्दैन। अल्लाहले आफूसम्म आउने सम्पूर्ण बाटोहरूलाई बन्द गरेर मात्र इस्लामको बाटोलाई खुला गर्नु भएको छ। वास्तवमा उहाँ सर्वश्रेष्ठ रसूल हुन्, उहाँका अनुयायीहरु सर्वश्रेष्ठ हुन् र उहाँको विधि-विधान पनि पूर्ण छ। अल्लाहले भन्नु भएको छ… “जसले इस्लाम बाहेक अन्य कुनै धर्म ग्रहण गर्न खोज्छ उसको धर्म कदापि स्वीकार हुने छैन र ऊ परलोकमा क्षतिग्रस्त हुनेछ।” (श्रोत- सूरह आलि-इमरान : ३/८५) रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “अल्लाहको कसम; जसको हातमा मेरो ज्यान अडेको छ यहूदी, ईसाइ या जो सुकै मेरो बारेमा थाहा पाइसकेपछि ममाथि विश्वास गर्दैन भने ऊ नरकमा जानेछ।” (श्रोत- मुस्लिम : १५३, अहमद : ८६०९)

 

  • मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को दूतत्व मानिस र जिन्न लगायत सिङ्गै संसारको लागि हो। अल्लाहले जिन्नको कथनलाई यसरी वर्णन गर्नु भएको छ… “हे हाम्रा बन्धुहरु हो, अल्लाहतर्फ आह्वान गर्ने व्यक्तिको कुरा मान।” (श्रोत- सूरह अल्-अह्काफ : ४६/३१)

अल्लाहले भन्नु भएको छ… “(हे मुहम्मद) हामीले तिमीलाई सम्पूर्ण मानवजातिका लागि शुभ-सन्देशवाहक र सचेतक बनाएर पठाएका छौं।” (श्रोत- सूरह सबा : ३४/२८) रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “अल्लाहले मलाई ६ विशेष कुराहरूले सम्मानित गर्नु भएको छ जुन कुराहरु अरु रसूलहरुलाई प्राप्त भएन… जवामिउल-कलिम (कम शब्दमा बढी कुरा गर्ने शक्ति), रुवाफद्वारा मद्दत, युद्धको मैदानबाट प्राप्त धन-सम्पत्ति वैध गरिएको छ, मेरो लागि सम्पूर्ण धरतीलाई पवित्र तथा मस्जिद बनाइएको छ, मलाई सिङ्गो संसारकै लागि अन्तिम रसूल बनाएर पठाइएको छ र ममाथि दूतत्व समाप्त गरिएको छ।” (श्रोत- बुखारी : २८१५, मुस्लिम : ५२

 

रसूलहरुमाथि आस्थाका केही फाइदाहरु-

रसूलहरुमाथि आस्थाका निकै फाइदाहरु छन्, तीमध्ये केही यस प्रकार छन्-

  1. १) भक्तहरुमाथि रहेका अल्लाहको दया र कृपाको ज्ञात हुन्छ। उनीहरुको मार्गदर्शनको लागि रसूलको व्यवस्था गर्नु भयो, किनभने मानिसको बुद्धि जति सुकै ठूलो भए पनि ईबादतका सही तरिकाहरु रसूलद्वारा नै प्राप्त गर्नु पर्दछ। अल्लाहले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को बारेमा भन्नु भएको छ… “हामीले तिमीलाई सम्पूर्ण संसारबासीहरुका लागि दयावान बनाएर पठाएका छौं।” (श्रोत- सूरह अल्-अंबिया : २१/१०७)

  2. २) अल्लाहले प्रदान गर्नु भएको ठूलो वरदानप्रति कृतज्ञता व्यक्त गर्नु।

  3. ३) सम्पूर्ण रसूलहरुसँग हृदयदेखि माया गर्नु, उनीहरुलाई सम्मान गर्नु र उनीहरुको स्थान अनुसार सुहाउने प्रशंसा गर्नु, किनभने उनीहरुले अल्लाहको उपासना गरे, उहाँका सन्देशहरुलाई पुर्याए र अल्लाहका भक्तहरुलाई उपदेश दिए।

  4. ४) सम्पूर्ण रसूलहरुले दिनु भएका एकेश्वरवादको सन्देशलाई तन, मन र वचनले मान्नु र त्यस बमोजिम कर्म गर्नु, किनभने यसैमा लोक-परलोकका सफलता, असल सुख र शान्ति निहित छ। अल्लाहले भन्नु भएको छ… “जो मेरो मार्गदर्शन अनुसार जीवन यापन गर्छ ऊ न पथभ्रष्ट हुनेछ, न अभागी नै र जो मेरो प्रशंसाबाट विमुख रहन्छ उसको जीवन संकीर्ण र कष्टपूर्ण हुनेछ।” (श्रोत- सूरह ताहा : २०/१२३-१२४)