महाप्रलयको दिनमाथि आस्था राख्नु

महाप्रलयको दिनमाथि आस्थाको अर्थ-

अल्लाहले मृत्यु पश्चात सम्पूर्ण व्यक्तिहरुलाई चिहानबाट जीवित पारेर उठाउनु हुनेछ, त्यसपछि हिसाब-किताब लिएर कर्म अनुसार प्रतिफल दिनु हुनेछ र स्वर्गवासी स्वर्गका महलहरुमा र नरकवासी नरकका खाल्डोमा बसोबास गर्नेछन् भन्ने कुरामाथि दृढतापूर्वक आस्था राख्नु।

महाप्रलयको दिनमाथि आस्था राख्नु ईमानको एउटा आधार हो। यो नभईकन ईमान नै पूर्ण हुँदैन। अल्लाहले भन्नु भएको छ… “तर भलाई उसको लागि छ, जो अल्लाह र महाप्रलयको दिनमाथि आस्थावान हुन्छ।” (श्रोत- सूरह अल्-बकरह : २/१७७)

किन कुरआनले

महाप्रलयको दिनमाथि आस्था राख्ने जोड दिएको छ?

कुरआनले महाप्रलयको दिनमाथि आस्था राख्ने जोड दिएको छ र बारम्बार यसको सम्झना गराएको छ। एक दिन अवश्य नै महाप्रलयको घटना घटिने छ भन्ने कुरालाई विभिन्न अरबि शैलीद्वारा प्रमाणित गरेको छ र आधिकांश ठाउँमा यसलाई अल्लाहमाथिको आस्थासँग जोडेको छ।

किनभने महाप्रलयको दिनमाथि आस्थाको अनिवार्य परिणाम अल्लाह र उहाँको न्यायमाथि आस्था राख्नु हो। यसको वर्णन यस प्रकार रहेको छ…

अल्लाह अपराध र अत्याचारलाई कदापि मन पराउनु हुन्न। अपराधीले सजाय भोग्नु पर्छ, पिडितले न्याय पाउनु पर्छ, परोपकारी र सत्कर्मीले राम्रो प्रतिफल पाउनु पर्छ र सामन्तीले नराम्रो परिणाम भोग्नु पर्छ भन्ने इस्लामको धारणा रहेको छ। तर आज हामी आफ्नै आँखाले देखिरहेका छौं कि कतिपय अपराधीहरु सजाय नभोगीकन र कतिपय पिडितहरु निसाफ नपाईकन मर्दछन्। त्यसो भए न्याय खोई त ? के अल्लाहले अन्यायलाई मन पराउनु हुन्छ र ? त्यसैले मृत्युपछि अर्को लोक र जीवन हुनुपर्छ, जसमा परोपकारीले उपकार पाओस्, पापीले सजाय पाओस्, पीडितले न्याय  पाओस्  र प्रत्येक व्यक्तिले आ-आफ्नो कर्मको फल पाओस्, नत्र ईश्वरमाथिको आस्था नै धरापमा पर्छ।

नरकबाट जोगिनको लागि इस्लामले हामीलाई दीन दु:खीहरुसित परोपकार गर्ने उपदेश दिन्छ, यद्यपि आधा खजुर दान गरेर किन नहोस्।

महाप्रलयमाथिको आस्थाले कुन विषय वस्तुलाई समेटेको छ?

महाप्रलयमाथिको आस्थाले निम्न कुराहरुलाई समेटेको छ…

  1. १) पुनर्जीवन र महाप्रलयको दिन भेला हुनुमाथि आस्था राख्नु- मृतकलाई चिहानबाट जीवित परेर उठाउनु, सबैको आत्मालाई पुनः शरीरमा फर्काउनु, मानिसहरु आफ्नो ईश्वर अगाडि उभिनु र फेरी आमाको कोखबाट जन्मेको दिन झैं निर्वस्त्र एउटा ठाउँमा भेला हुनु।

पुनर्जीवन र भेला हुनुमाथि आस्था भनेको कुरआन, हदीस, बुद्धि र प्रकृतिद्वारा प्रमाणित छ। अल्लाहले सम्पूर्ण मृतकहरुलाई चिहानबाट जीवित परेर उठाउनु हुनेछ, उनीहरुको आत्मालाई उनीहरुको शरीरमा फर्काउनु हुनेछ र सबै मानिसहरु अल्लाहको अगाडि उभिने छन् भन्ने कुरामाथि हामी हृदयदेखि विश्वास गर्दछौं ।

अल्लाहले भन्नु भएको छ… “त्यसपछि तिमीहरू मर्ने छौ र पुनः कयामत (महाप्रलय) को दिन उठाइने छौ।” (श्रोत- सूरह अल्-मुमिनून : २३/१५-१६)

सम्पूर्ण आकाशीय ग्रन्थहरुले पुनर्जीवन र भेला हुने आस्थाको पुष्टि गर्दछन् र यो नै अल्लाहको तत्वदर्शीको अभिलाषा पनि हो। किनभने अल्लाहले रसूलहरुद्वारा सुम्पिएको जिम्मेवारीप्रति सोधपूछ र प्रतिफल दिनको लागि एक दिन बनाउनु पर्ने हो। अल्लाहले भन्नु भएको छ… “के हामीले तिमीहरुलाई व्यर्थ सृष्टि गरेका छौं र तिमीहरु हामीतर्फ फर्केर आउने छैनौ भन्ने ठानेका छौ ?” (श्रोत- सूरह अल्-मुमिनून : २३/११५)

पुनर्जीवन बारे कुरआनबाट केही प्रमाणहरु-

  • अल्लाहले नै मानव सृष्टिको आरम्भ गर्नु भएको छ र जो सृष्टिको आरम्भ गर्न सक्छ, उसको लागि पुनः सृष्टि गर्नु कुनै कठिन कार्य होइन। अल्लाहले भन्नु भएको छ… “उहाँले नै सृष्टिको आरम्भ गर्नु भएको छ र उहाँले नै त्यसलाई फेरी दोहोर्याउनु हुनेछ।” (श्रोत- सूरह अर-रूम : ३०/२७)

सडेको हाड र माटोमा मिसी सकेपछि मानिसलाई पुनः जीवित गर्न सकिदैन कुराको खण्डन गर्दै अल्लाहले भन्नु भएको छ… “भनिदेऊ, “उहाँले नै त्यसलाई जीवित पार्नु हुनेछ, जसले पहिलो पटक सृष्टि गर्नु भएको थियो। उहाँ त प्रत्येक सृष्टिका ज्ञाता हुन्।” (श्रोत- सूरह यासीन : ३६/७९)

  • धरती मरेर सुकेको हुन्छ, जसमा कुनै हरियो रुख बिरुवा केही पनि हुँदैन, बर्षा हुन्छ र बर्षाको पानीले जमीन जीवित हुन्छ, लहलह हुन थाल्छ र चारैतिर हरियाली नै हरियाली हुन्छ। जसले मृत खेतीलाई जीवित पार्न सक्छ उसले मृत व्यक्तिलाई पनि जीवित पार्न सक्नु हुन्छ। अल्लाहले भन्नु भएको छ… “हामीले आकाशबाट पवित्र पानी बर्सायौं अनि त्यसद्वारा बगैंचाहरु र काटिने अन्न र बालीहरु उमार्यौं, भक्तको जीविकाको लागि खजूरका अग्ला-अग्ला वृक्षहरु जसमा एकमाथि अर्को झुण्डिएका फलका झुप्पाहरु छन् अनि पानीले मुर्दा नगरलाई जीवित पार्यों। हो यसरी नै चिहानबाट जीवित उठाइने छ।” (श्रोत- सूरह काफ : ३६/९-११)
  • बुद्धिजिविहरुलाई थाहा नै छ, जसले ठूल-ठूला कार्यहरु गर्न सक्छ, उसले सानोतिनो काम सजिलैसँग गर्न सक्छ। अल्लाहले विशाल आकाश र अदभूत पृथ्वीको आविष्कार बिना कुनै संकोच गर्नु भएको छ भने उहाँ सडेको हाडलाई पुनः जीवित पार्न सक्नुहुन्न र ? अल्लाहले भन्नु भएको छ… “जसले आकाशहरु तथा धरती सृष्टि गर्यो, के ऊ त्यसलाई पुन: सृष्टि गर्न सक्षम छैनन् ? किन छैनन् ? उहाँ त महान सृष्टिकर्ता र सर्वज्ञाता हुन्।” (श्रोत- सूरह यासीन : ३६/८१)
  1. २) हिसाब किताब र तराजुमाथि आस्था राख्नु- अल्लाहले आफ्ना सृष्टिहरुको हिसाब किताब उनीहरुको कर्मको आधारमा गर्नु हुनेछ। साँचो भक्त र असल मुस्लिमको हिसाब-किताब सरल हुनेछ र मुश्रिक (बहुदेववादी), काफिर र कपटीको हिसाब धेरै गाह्रो हुनेछ।

ठूलो काँटाद्वारा कर्मको लेखाजोखा हुनेछ। एकातिर पुण्य र अर्कोतिर पाप राखिनेछ। जसको पुण्यको पल्ला भारी हुनेछ, त्यो स्वर्गवासीमध्ये हुनेछ र जसको पापको पल्ला भारी हुनेछ, त्यो नरकवासीमध्ये हुनेछ। स्मरण रहोस् ! अल्लाहले कसैमाथि अन्याय गर्ने छैनन्।

अल्लाहले भन्नु भएको छ… “महाप्रलयको दिन हामीले शतप्रतिशत जोख्ने तराजु राख्नेछौं, कसैमाथि अलिकति पनि अन्याय हुने छैन, एउटा रायोको दाना बराबर कर्म छ भने हामीले त्यसलाई पनि ल्याउनेछौं र हिसाब किताबको लागि हामी सक्षम छौं।” (श्रोत- सूरह अल्-अंबिया : २१/४७)

  1. ३) स्वर्ग र नरक- स्वर्ग सदा सुख र आनन्दको बास हो, जुन आस्थावान, अल्लाहदेखि भय राख्ने, अल्लाह र रसूलको आज्ञापालन गर्ने सच्चा भक्तहरुका लागि तयार पारिएको छ। त्यसमा सबै किसिमका मन पराउने कुराहरु सदा सर्वदाका लागि हुने छन्, जसलाई देखेर आँखा शितल हुनेछ।

अल्लाहले आफ्ना भक्तहरुलाई आज्ञापालनमा प्रतिस्पर्धा गर्न प्रेरित गर्दै भन्नु भएको छ… “अग्रसर हौऊ, आफ्ना पालनकर्ताको क्षमादान एवम् त्यस स्वर्गको निम्ति जसको चौडाइ आकाश र धरती झैं छ जुन अल्लाहका असल भक्तहरुका लागि तयार पारिएको छ।” (श्रोत- सूरह आलि-इमरान : ३/१३३)

नरक- सदा कष्ट र पीडाको बास हो,  जुन काफिर, मुश्रिक र कपटीहरुका लागि तयार पारिएको छ। त्यहाँ मानिसले कल्पना गर्न नसक्ने नानाथरीका कष्ट, पीडा र यातना हुनेछ।

अल्लाहले नरकबाट सचेत गर्दै भन्नु भएको छ… “नरकबाट डराऊ, जसको इन्धन मनुष्य र ढुङ्गा हुने छन्। यो काफिरहरुका लागि तयार पारिएको छ।” (श्रोत- सूरह अल्-बकरह : २/२४)

हे अल्लाह ! हामी स्वर्ग र स्वर्गमा प्रवेश गराउने कार्यको प्रार्थना गर्दछौं। नरक र नरकमा  पुर्याउने कार्यबाट तिम्रो शरण चाहन्छौं।

  1. ४) चिहानको यातना र सुख- मृत्यु अकट्य छ, न त रोकेर रोकिन्छ न त छेकेर छेकिन्छ। अल्लाहले भन्नु भएको छ… “भनिदेऊ, तिमीहरुको प्राण लिनको लागि मलकुल्-मौत नियुक्त गरिएको छ, जसले तिमीहरुलाई मृत्यु दिनेछ र त्यसपछि तिमीहरु आफ्ना पालनकर्तातर्फ फर्काइनेछौ।” (श्रोत- सूरह अस्-सज्दा : ३२/११)

जो कोही मर्छ वा जसको हत्या हुन्छ अथवा मृत्युको कारण जे सुकै होस् उसको आयुमा केही कमी हुँदैन भन्ने कुरा सर्वविदित हो र यसमा कुनै शंका छैन। अल्लाहले भन्नु भएको छ… “जुन बेला उसको समय पूरा हुन्छ न त क्षण भर ढिलो हुन्छ, न त्यस भन्दा अगावै।” (श्रोत- सूरह अल्-आ'राफ : ७/३४)

  • जसको मृत्यु भयो, उसको महाप्रलय शुरु भयो र परलोकतर्फ प्रस्थान गर्यो।
  • चिहानमा आस्थावान र सत्यवानका लागि सुख, चैन र आनन्दका कुराहरु हुन्छन् भने गैर-मुस्लिम र  अवज्ञाकारीका लागि दु:ख र यातना हुने छन् भन्ने कुरा धेरै जसो हदीसबाट प्रमाणित छन्। ती कुराहरुमाथि आस्था राख्छौं तर त्यसको स्थितिबारे चासो लिदैनौं किनभने हाम्रो विवेकले त्यसलाई पत्ता लगाउन सकिन्न। त्यस्तै स्वर्ग र नर्क अदृश्यका कुराहरु हुन् जसको वास्तविकता अल्लाह बाहेक अरु कोही पनि जान्दैनन्।
  • त्यसैगरी चिहानमा हुने क्रियाकलापहरु पनि अदृश्यका कुराहरु हुन्, जसलाई विवेकले पत्ता लगाउन सकिन्न। यदि विवेकद्वारा चिहानको यातना र सुखको वास्तविकता थाहा पाउन सकिन्छ भने फेरी आस्था र कर्मको के अर्थ ? फेरी डरले कोही पनि आफ्नो मुर्दालाई चिहानमा गाडदैनन्। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “चिहानको चित्कार सुनेपछि तिमीहरु आफ्ना मुर्दा चिहानमा हाल्दैनौ भन्ने डर नभई दिएको भए, म अल्लाहसँग प्रार्थना गर्ने थिएँ, मैले सुनिरहेको कुरा तिमीहरुलाई पनि सुनाई देउन्।” (श्रोत- मुस्लिम : २८६८, निसाई : २०५८) जनावरहरुमा कुनै जिम्मेवारी नभएकोले तिनीहरुलाइ चिहानको चित्कार सुन्ने क्षमता दिइएको छ।

महाप्रलयको दिनमाथि आस्थाका केही फाइदाहरु-

  1. १) महाप्रलयको आस्थाले मानिसको मनमा ईश्-भय पलाउँछ, सत्कर्म गर्ने प्रेरणा मिल्छ, अहम् र देखावटिलाई त्याग्ने आवसर प्राप्त हुन्छ। त्यसैले धेरै जसो श्लोकहरूमा महाप्रलयको आस्थालाई अल्लाहमाथिको आस्थासँग जोडिएको छ। अल्लाहले भन्नु भएको छ… “जो अल्लाह र महाप्रलयको दिनमाथि आस्था राख्छ, उसले नै मस्जिदलाई आबाद गर्छ।” (श्रोत- सूरह तौबा : ९/१८) अल्लाहले अर्को ठाउँमा भन्नु भएको छ… “जो महाप्रलयको दिनमाथि आस्था राख्दछन् उनीहरु यस ग्रन्थमाथि आस्था राख्दछन् र आफ्नो सलाहको रक्षा गर्छन्।” (श्रोत- सूरह अल्-अन्आम : ६/९२)

  2. २) धर्म र कर्मलाई वास्ता नगरी भौतिक सुख र दुनियाँको पछाडि मात्र भौंतारिरहेका व्यक्तिहरुका लागि सुध्रिने र अल्लाहको आज्ञापालनमा प्रतिस्पर्धा गर्ने सुवर्ण अवसर हो, किनभने यो त क्षणिक जीवन मात्र हो असल जीवन त स्वर्ग नै हो। महाप्रलयको सम्झना गर्ने भक्तहरुको अल्लाहले प्रशंसा गर्नु भएको छ। अल्लाहले भन्नु भएको छ… “हामीले उनीहरुलाई परलोकको स्मरण गराउनको लागि चयन गरेका थियौं।” (श्रोत- सूरह साद : ३८/४६) अत: परलोकको स्मरणले नै उनीहरु उत्कृष्ट भएका हुन्। उक्त विशिष्ट कर्मले गर्दा नै अल्लाहले उनीहरूलाई चयन गर्नु भएको थियो। जब केही मुस्लिमले अल्लाह र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को अनुसरणमा सुस्ती गर्न थाले, तब अल्लाहले उनीहरुलाई यसरी सचेत गर्दै भन्नु भयो… “परलोकको साटो तिमीहरु दुनियाँदेखि प्रसन्न छौ ? यो भौतिक सुख स्वर्गको तुलनामा अति नै मूल्यहीन छ।” (श्रोत- सूरह अत्-तौबा : ९/३८) महाप्रलयको आस्थाले यो दुनियाँ मूल्यहीन देखिन्छ। स्वर्गका सुख र आनन्दहरुलाई यो सांसारिक आनन्दसँग कहिल्यै पनि तुलना गर्न सकिदैन। नरकको एक डुब्कीले दुनियाँका सबै सुखलाई र स्वर्गको एक दर्शनले दुनियाँमा भोगेका सम्पूर्ण दु:ख र पीडालाई बिर्साइ दिन्छ।

  3. ३) उक्त आस्थाले मानिसलाई सन्तुष्टि प्राप्त हुन्छ। आफूले चाहेको, रोजेको, खोजेको र मन पराएको कुरा प्राप्त हुँदैन भने आत्महत्या गर्दैनन् वा निराश हुँदैनन् बरु बढी मेहनत गर्छ, किनभने अल्लाहले परोपकारीको सत्कर्मलाई कदापि खेर पार्नु हुन्न। यदि कसैलाई धोका दिएर वा जबर्जस्ती गरेर कणबराबर पनि कुनै सामान लुटिएको छ भने पिडितले महाप्रलयको दिन अवश्य नै त्यसलाई त्यहाँ पाउनेछ, जुन बेला उसलाई त्यसको बढी खाँचो हुनेछ। के सिङ्गो संसारको विधाता र मालिक; अल्लाहसित पनि कोही निराश हुन सक्छ र ?  त्यसैले साँचो भक्त कहिल्यै पनि हिम्मत हार्दैन र सकेसम्म सत्कर्म गर्ने प्रयास गर्दछ।