भाग्यमाथि आस्था राख्नु

भाग्यमाथि आस्थाको अर्थ-

राम्रो र नराम्रो हरेक कुरा भाग्य विधाताको चाहना र फैसलाले नै हुन्छ, उहाँ जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ, उहाँको आदेश बिना रुखको एउटा पात पनि हल्लिन सक्दैन, उहाँले जसको भाग्यमा जे कोर्नु भएको छ, त्यो भन्दा बाहिर केही हुन सक्दैन भन्ने दृढतापूर्वक आस्था राख्नु। तर उहाँले आफ्नो भक्तलाई उसको शक्ति र मनसाय अनुसार स्वतन्त्रता दिनु भएको छ। स्वतन्त्र भन्नाले मानिस विवश र बाध्य छैन, बरु ऊ आफ्नो इच्छा अनुसार राम्रो र नराम्रो कर्म गर्न सक्छ। तर अल्लाह उसको र उसको इच्छाका सृष्टिकर्ता हुन्। जसलाई चाहनुहुन्छ आफ्नो कृपाले इस्लामलाई आत्मसात गर्ने मौका प्रदान गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ आफ्नो बुद्धिले पथभ्रष्ट पार्नु हुन्छ। उहाँलाई कोही सोधपूछ गर्ने छैन र हामीहरूसित सोधपूछ हुनेछ।

भाग्यमाथि आस्था राख्नु ईमानको एउटा आधार हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले जिब्रील (अलैहिस्सलाम) को प्रश्नको जवाफमा ईमानको परिभाषा दिदै भन्नु भएको छ… “तिमी एक अल्लाह, उहाँका फरिश्ताहरु, किताबहरु, रसूलहरु, महाप्रलयको दिन र राम्रो वा नराम्रो भाग्यमाथि आस्था राख।” (श्रोत- मुस्लिम : ८)

भाग्यमाथिको आस्थाले कुन विषय वस्तुलाई समेटेको छ?

भाग्यमाथिको आस्थाले चार कुराहरुलाई समेटेको छ-

  • अल्लाहको ज्ञानमाथि आस्था राख्नु- अल्लाहलाई सम्पूर्ण कुराहरुको विस्तृत र संक्षिप्त दुवै ज्ञान छ भन्ने कुरामाथि दृढतापूर्वक आस्था राख्नु। सिङ्गो संसारको सृष्टि गर्नु भन्दा पूर्वदेखि नै अल्लाहलाई हरेक कुराहरुको पूर्ण ज्ञान छ। तिनीहरुको आहार, उमेर, कुराकानी, कर्म, क्रियाकलाप, प्रत्यक्ष अप्रत्यक्ष कुराहरु, को स्वर्गमा जानेछ र को नरकमा सबै जानकारी रहेको छ।

अल्लाहले भन्नु भएको छ… “अल्लाह बाहेक अरु कोही सत्य उपास्य छैन। उहाँ दृश्य र अदृश्य सबै कुराहरुलाई राम्ररी जान्नु हुन्छ।” (श्रोत- सूरह अल्-हश्र : ५९/२२)

  • भाग्य लेख्नुमाथि आस्था राख्नु- उहाँले आफ्नो आग्रिम ज्ञान अनुसार हरेक कुराहरूलाई हुनु भन्दा पूर्व नै सुरक्षित पेटिका (लोह-महफुज) मा लेख्नु भएको छ। अल्लाहले भन्नु भएको छ… “पृथ्वी र स्वयम् तिमीहरुको जीवनमा जे संकट आउँछ, त्यो हुनु भन्दा अघि नै विशेष किताबमा अङ्कित गरिएको छ।” (श्रोत- सूरह अल्-हदीद : ५७/२२)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “अल्लाहले आकाश र पृथ्वीको सृष्टि गर्नु भन्दा पचास हजार वर्ष पूर्व नै सम्पूर्ण सृष्टिहरुको भाग्यलाई लेखिसक्नु भएको छ।” (श्रोत- मुस्लिम : २६५३)

  • अल्लाहको चाहनामाथि आस्था राख्नु- उहाँको चाहना र आदेशमा कोही पनि बाधा पुर्याउन सक्दैनन्। हरेक किसिमका घटनाहरु उहाँकै चाहनाले हुन्छ, उहाँले जे गर्न चाहनु भयो त्यो भयो, जे गर्न चाहनु भएन त्यो हुन सकेन। अल्लाहले भन्नु भएको छ… “तिम्रो चाहनाले केही हुने छैन तर अल्लाहले जे चाहनुहुन्छ त्यही नै हुन्छ।” (श्रोत- सूरह अत्-तक्वीर : ८१/२९)
  • उहाँ नै वास्तविक सृष्टिकर्ता हुन् भन्ने आस्था राख्नु- उहाँ नै सबै कुराहरुका आविष्कारक हुन्, उहाँ बाहेक जे जति छन् सबै उहाँकै सृष्टि हुन् र उहाँ हरेक कुरामाथि सामर्थ्य हुन्। अल्लाहले भन्नु भएको छ… “उहाँले प्रत्येक चीजलाई सृष्टि गर्नु भयो र हरेक चीजलाई राम्रोसँग उचित ठाउँमा राख्नु भयो।” (श्रोत- सूरह अल्-फुर्कान : २५/२)

मानिसको आफ्नो अख्तियार, शक्ति र मनसाय हुन्छ-

भाग्यमाथि आस्थाको यो अर्थ होइन कि मानिस विवश छ। बरु हरेक व्यक्तिको आफ्नो अख्तियार र मनसाय हुन्छ अनि त्यसलाई पूरा गर्ने शक्ति पनि। इस्लामि विधान र प्रकृति दुवैले यसलाई प्रमाणित गर्दछ।

कुरआनबाट मानिसको मनसायको प्रमाण- अल्लाहले भन्नु भएको छ… “त्यो सत्य दिन (महाप्रलय) अवश्य हुनेछ, जसले चाहन्छ आफ्नो बासस्थान ईश्वरकहाँ बनाओस्।” (श्रोत- सूरह अन्-नबा : ७८/३९)

कुरआनबाट मानिसको शक्तिको प्रमाण- अल्लाहले भन्नु भएको छ– “अल्लाह कुनै पनि व्यक्तिमाथि उसको शक्ति भन्दा अधिक जिम्मेवारी दिनु हुन्न। उसले गरेको पुण्य उसैको लागि हो र उसले गरेको पाप पनि उसैले भोग्नु पर्नेछ।” (श्रोत- सूरह अल्-बकरह : २/१८३)

प्रकृतिको प्रमाण- आज हामी आफ्नै आँखाले देखिरहेका छौं कि मानिस आफ्नो इच्छा अनुसार जे मन पर्छ गर्छ र जे मन पर्दैन गर्दैन, यसले मानिसको इच्छा र शक्तिलाई प्रमाणित गर्दछ। उसको मनसायले जुन काम हुन्छ जस्तै… हिंड्नु र जुन काम उसको मनसायले हुँदैन  जस्तै… रिसाउनु र अचानक चिप्लेर लड्नु, दुवैमा फरक छुट्याउन सकिन्छ। तर मानिसको मनसाय र शक्ति अल्लाहको मनसाय र शक्ति भन्दा माथि हुन सक्दैन। अल्लाहले भन्नु भएको छ… “तिमीहरुमध्ये जो कोही पनि सीधा मार्ग आत्मसात गर्न सक्छ, तिमीहरु जे चाहन्छौ त्यो हुँदैन, अल्लाहले जे चाहनुहुन्छ त्यही हुन्छ।” (श्रोत- सूरह अत्-तक्वीर : ८१/२८-२९)

भाग्यलाई दोष दिनु-

मानिसको अधिकार र अख्तियारले गर्दा नै उसलाई कार्यभार, गर्ने र नगर्ने जिम्मेवारी सुम्पिएको हो। त्यसैले सत्कर्मीले सोझो मार्ग अपनाए बापत पुण्य पाउनेछ भने कुकर्मीले कुमार्ग अपनाए बापत दण्ड पाउनेछ।

स्मरण रहोस् ! अल्लाहले हामीलाई शक्ति भन्दा अधिक कुराको आदेश दिनु भएको छैन, त्यसैले भाग्यलाई दोष दिएर उपासना नगर्नु बुद्धिमानी होइन।

पाप गर्नु भन्दा पूर्व मानिसलाई थाहा हुँदैन कि उसको भाग्यमा के लेखिएको छ ? अल्लाहले मानिसलाई क्षमता र अधिकारका साथ सही र गलत बाटो छुट्याउने बुद्धि दिनु भएको छ, त्यसैले मानिस आफ्नो इच्छाले राम्रो वा नराम्रो काम गर्न सक्छ। यदि कसैले अपराध गर्यो भने उसले त्यसको सजाय भोग्नु पर्नेछ, तर भाग्यलाई दोष दिनु हुँदैन।

भाग्यमाथि आस्थाका केही फाइदाहरु-

भाग्माथिको आस्थाले मुस्लिमको जीवनमा ठूलो असर पार्दछ, जस्तै…

  1. १) भाग्यमाथिको आस्थाले व्यक्तिलाई क्रियाशील भएर सत्कर्म गर्ने र अल्लाहलाई खुशी पार्ने प्रेरणा दिन्छ। आस्थावानहरुलाई अल्लाहमाथि विश्वस्त भई साधन प्रयोग गर्ने आदेश दिएको छ। अल्लाहको आदेश बिना साधनले पनि केही फाइदा हुने छैन, किनभने साधन र नतिजालाई पनि उहाँले नै सृष्टि गर्नु भएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “तिमीहरु लाभदायक काममाथि ध्यान देऊ, अल्लाहसित मद्दत माग र सुस्ती नगर। यदि असफल भयौ भने 'यदि मैले यसो गरेको भए यस्तो हुने थिएन' जस्ता शब्दहरु नभन, बरु यो भन… “अल्लाहले जे चाहनु भयो, त्यही भयो, किनभने 'यदि' शब्दले शैतानी कार्यको ढोका खोल्छ।” (श्रोत- मुस्लिम : २६६४)

  2. २) भाग्यमाथिको आस्थाले मानिसलाई आफ्नो औकात चिन्ने अवसर पाउँछ र न त घमण्ड गर्छ न त मात्तिन्छ, किनभने ऊ आफ्नो भाग्यमा लेखिएको वर्तमान र भविष्यको कुरालाई जान्न असमर्थ छ। मानिस आफ्नो कमजोरीले गर्दा नै अल्लाहको सहारामा बाँचेको हुन्छ। सुखमा रमाउने र दु:खमा आँसु झार्ने मानिसको बानी नै हो। भाग्यमाथिको साँचो आस्थाले नै यसबाट हामीलाई जोगाउन सक्छ, किनभने आस्थावान सुखमा घमण्ड नगरिकन अल्लाहको कृतज्ञता व्यक्त गर्छ भने दु:खमा धैर्य गर्छ र त्यसलाई अल्लाहप्रति सुम्पि दिन्छ। सायद, मेरो भाग्य विधातालाई यही मन्जुर थियो होला भनेर आफ्नो चित्त बुझाउँछ।

  3. ३) भाग्यमाथिको आस्थाले इर्ष्या जस्तो खतरनाक रोगबाट मुक्ति दिन्छ। यदि कोही म भन्दा राम्रो र सम्पन्न छ भने यो अल्लाहको कृपा हो। उहाँले नै उसको लागि राम्रो अवसरको ढोका खोल्नु भएको छ, किनभने उसको खुशीमा इर्ष्या गर्नु अल्लाहको निर्णय र फैसलामाथि औंला उठाउनु हो।

  4. ४) भाग्यमाथिको आस्थाले आइपरेका कठिनाईसँग लड्ने आँट पलाउँछ। मुटु बलियो हुन्छ, किनभने मानिसको आयु र रोजी सबै पहिलेदेखि नै भाग्यमा लेखिएको हुन्छ र भाग्य विपरित केही पनि हुन सक्दैन।

  5. ५) भाग्यमाथिको आस्थाले आस्थावानको आस्थामा झन उर्जा प्रदान गर्दछ। अल्लाहसित निकटता प्राप्त गर्ने अवसर प्राप्त हुन्छ। दुनियाँमा उपलब्ध साधन जुटाएर अल्लाहमाथि पूर्ण विश्वास गर्छ। जीवनको हरेक पाईला-पाईलामा उहाँसित नै सफलता र त्यसमाथि कायम रहन बिन्ती गर्छ।

  6. ६) भाग्यमाथिको आस्थाले मनमा शान्ति पलाउँछ, किनभने आस्थावानहरुलाई यो कुरामा विश्वास छ कि अल्लाहले हाम्रो भाग्यमा जे लेख्नु भएको छ, त्यो अवश्य नै हुन्छ, तर जे लेखिएकै छैन, त्यो कदापि हुन सक्दैन।